कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान्सरको औषधि अभाव

फातिमा बानु

काठमाडौँ — क्यान्सर रोगमा चलाइने अत्यावश्यक औषधि ‘फाइबएफयू’ देशभर अभाव देखिएको छ । बिरामीका आफन्त अहिले सीमावर्ती भारतीय बजारसम्म पुगेर औषधि किन्न बाध्य छन् । भारतलगायत तेस्रो मुलुकबाट ल्याइँदै गरेको औषधि पछिल्ला दिन आएको छैन । 

क्यान्सरको औषधि अभाव

बिरामीले थप दु:ख नपाउन् भनेर अहिले वैकल्पिक औषधि चलाइरहेको वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले बताए । ‘सीस्प्लाटिनजस्ता वैकल्पिक औषधि छन् तर यी महँगा र कम प्रभावकारी छन्,’ उनले भने । दैनिक २ देखि ३ पटक चाहिने भएकाले गरिब बिरामीले वैकल्पिक औषधिको खर्च धान्न नसक्ने उनले बताए ।


क्यान्सर रोग उपचारमा अत्यावश्यक औषधि ‘इटोपोसाइड’ र ‘भिन्क्रिस्टिइन’ पनि बजारमा छैनन् । डा. आचार्यका अनुसार यी औषधि बजारमा उपलब्ध अन्य औषधिको तुलनामा सस्तो र बढी प्रभावकारी हुन्छन् । क्यान्सरका औषधि यसअघि पनि अभाव हुने गरेको थियो । वीर अस्पतालले स्टकमा राखिएको औषधि बिरामीलाई नि:शुल्क दिँदै आएको थियो । मृगेन्द्र–सम्झना चिकित्सा गुठी, डा.ताराबहादुर खत्री ट्रस्टले उपलब्ध गराउने वार्षिक एक लाखसम्मको औषधिले पनि अभाव टार्न सहयोग गर्थ्यो । बजारमा औषधि नपाउँदा बाहिर जँचाइरहेका बिरामीसमेत वीरमा जान्थे । अहिले वीरकै बिरामीलाई औषधि पुगेको छैन ।


स्टकमा राखिएका सबै औषधि खपत भइसकेको डा.आचार्यले बताए । ‘अस्पतालले आन्तरिक रूपमा औषधि जुटाउन सक्ने प्रयास गरिसक्यो । इन्जेक्सनबाट दिनुपर्ने औषधि नपाएपछि खाने औषधि दिइरहेका छौं, जुन महँगो छ र लामो समय खानुपर्छ,’ उनले भने ।


पछिल्ला दिन प्रेस्क्रिप्सन लेखेर बिरामीका आफन्तलाई आफैं औषधि व्यवस्थापन गर्न भनिएको नेपाल क्यान्सर हस्पिटलका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठले बताए । ‘औषधि किन्न भारत पुगेका बिरामी एजेन्टको लहलहैमा लागेर उपचारसमेत उतै गर्छन् । नेपालको औषधि र उपचार गुणस्तरीय छैन भन्दै बिरामी उतै होल्ड गर्छन्, ठग्छन्,’ उनले भने, ‘भारत पुगेपछि १० गुणा बढी खर्चमा उपचार गरेर नेपाल फर्केका धेरै केस छन् ।’

अत्यावश्यक औषधि अभाव हुन नदिन सरकारले स्टक राखेर भए पनि व्यवस्थापन गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।


विश्वमा क्यान्सर रोग उपचारका लागि नयाँ र धेरै प्रभावकारी औषधि आविष्कार भइसके पनि झन्झटिलो दर्ता प्रक्रियाका कारण ती सहजै नेपाल भित्रिँदैनन् । त्यस्ता औषधि ल्याउन औषधि व्यवस्था विभागले विशेष सिफारिस (पटके) को बाटो अपनाउने गरेको छ । सम्बद्ध चिकित्सकको सिफारिसमा एक पटकका लागि मात्रै भनेर विभागले नेपाल भित्र्याउँछ । महँगो र कम खपत हुने भन्दै आयातकर्ता यस्ता औषधिको कारोबारै गर्न मान्दैनन् । बजार अभाव भइरहने धेरै अत्यावश्यक औषधिमध्ये क्यान्सरका बढी छन् ।


गत वर्ष विभागले क्यान्सरका मात्रै १० थरी औषधि पटकेमा ल्याएको थियो । क्यान्सर र हेपाटाइटिसका औषधि बढी पटके सिफारिसमा आउने गरेका छन् ।


झन्डै तीन महिनाअघि विभागले सरकारी र निजी अस्पताल, चिकित्सक, मेडिकल कलेज र नर्सिङ होमलाई लक्षित गरी अभाव भएका जीवनरक्षक औषधिको सूची मागेको थियो । तर अहिलेसम्म पनि अभाव देखिएका औषधिको व्यवस्थापन गरेको छैन । आन्तरिक समस्या र झमेलाका कारण औषधि अभाव सुल्झाउन नसकिएको विभागका प्रवक्ता सन्तोष केसीले बताए । ‘बजारमा अभाव भनिएका क्यान्सरका औषधिको मूल्य बढ्ने भएकाले अहिले आयात गर्न नसकिएको हो । औषधि आयातकर्ता र चिकित्सकसँग छलफल गरेर सक्दो चाँडो समस्या सुल्झाउँछौं,’ उनले भने ।

प्रकाशित : आश्विन १६, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?