कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शरीरभरि गोलीका छर्रा

सुम्निमा चाम्लिङ

(इटहरी) — सशस्त्र द्वन्द्वका क्रममा घरनजिकै बगाले हत्याकाण्ड भयो । चारजना गाउँले दाजुभाइ बिते । निर्दोष व्यक्तिले ज्यान गुमाएपछि उनमा आक्रोश जन्मियो । तेह्रथुमकी कल्पना सुनुवारलाई त्यति बेला लागेको थियो, बन्दुकले सबथोक पूरा गर्नेछ । 

‘महिला मुक्ति र समाज परिवर्तनका लागि युद्धमा होमिएँ,’ उनले भनिन्, ‘नयाँ नेपाल बनाउन योद्धा बन्न पुगें ।’ छोरी युद्धमा होमिन गइन् भनेर परिवारले कैयौंपल्ट घर फर्काउन कोसिस नगरेका होइनन् । तर उनलाई फर्कन फिटिक्क मन लागेन । लडाइँको सम्झना नमेटिने गरी अहिले उनीसँगै शरीरभरि गोलीका डोब छन् । छर्रा नलागेको ठाउँ छैन ।


‘आठवटा गोली अझै झिक्न बाँकी छ,’ उनले भनिन्, ‘कति गोली निकाल्न मिल्दैन ।’ भोक, तिर्खा भन्ने र सुत्ने समय हुँदैनथ्यो । हिँडेर टाढाटाढा पुग्नुपर्थ्यो । क्रान्तिका गीतहरूले लालसेनालाई थप उत्साह भर्थ्यो । ‘मार्छु कि मर्छु भन्ने सोच हुन्थ्यो । मृत्युको कहिले डर लागेन,’ उनले भनिन् । जनमुक्ति सेनासँग उनले विवाह गरिन् । छोरा जन्मिएको चार वर्ष भयो । अहिले उनीहरू काठमाडौंमा बस्छन् ।


युद्धका क्रममा श्रीमान् घाइते भए । त्यसपछि उनको स्वास्थ्य अवस्था राम्रो छैन । सामान्य हिँडडुल गर्न सके पनि काम गर्न सक्दैनन् । जसकारण काममा जान नसक्दा आफूहरूको दैनिकी निकै कष्टकर रहेको कल्पना बताउँछिन् । ‘हामीले यत्रो दु:ख गर्‍यौं । तर पार्टीले सान्त्वना मात्र बाँड्ने काम गर्‍यो,’ उनले भनिन् । राज्यले उचित राहत प्रदान गर्न सके योद्धाहरूका दुखेका मनमा मल्हम पुग्ने उनको भनाइ छ । पढाइमा अब्बल दोलखाका अमृतबहादुर बस्नेत लहलहैमा तत्कालीन माओवादी पार्टीमा प्रवेश गरे । कक्षा ५ मा पढ्दै गरेका कलिलो दिमागले मुक्तिका लागि बन्दुक समाउनुपर्छ भन्ने बुझे । गाउँका अग्रजहरूको संगतले उनमा थप उत्साह भरेको थियो । दोलखाको उत्तरी क्षेत्रमा उनको सेल्टर थियो ।


पार्टीमा लागेको परिवारले थाहा पाए । र, तीन दिनको पैदल हिँडेर आमाबुबा उनलाई छुटाउन पुगेका थिए । तर उनी फर्किएनन् । ‘पीर नगर्नु, छोरा मर्दैन भन्ने खबर पठाउँथे,’ उनले भने, ‘समाज परिवर्तन हुन्छ भने मार्न र मर्न तयार थिएँ ।’ कठोर सैन्य अभ्यास पाएका थिए उनले । युद्धका बेला उनको शरीरभरि पनि गोलीका छर्रा लागे । भोजपुरमा आक्रमण उनी घाइते भए । सोही क्रममा उनको आन्द्रामा समेत चोट पुगेको थियो । एक वर्ष भारतको पटनामा उपचारपछि उनी फर्किएलगत्तै पुन: मोर्चा सम्हाले ।


शान्ति सम्झौतापछि सेना समायोजनमा उनको निकै इच्छा थियो । तर घाइते भएका कारण उनी अयोग्य ठहरिए । ‘ज्यानको बाजी राखेर देशका लागि भनेर लड्यौं,’ उनले भने, ‘तर अहिले अयोग्य सावित भई बस्नुपर्‍यो ।’ हाल उनी धरानस्थित पानबारीमा किराना पसल गर्दै आएका छन् । दुई सन्तानलाई दु:खसुख स्कुल पढाउँदै आएका उनले युद्धका बेला बाँडिएको सपना पूरा गराउन नेताहरूले बेवास्ता गर्दै आएको गुनासो गरे । मुलुकमा व्यवस्था फेरिए पनि आफूहरूको अवस्थामा सुधार आउन नसकेको उनको भनाइ छ ।


कक्षा ७ मा पढ्दै गर्दा इटहरी खनारका अर्जुन नेपाल राष्ट्र परिवर्तन गर्छु भनी युद्धमा होमिए । त्यति बेला उनको घर नै सेल्टर जस्तो थियो । परिवारले पार्टीबाट अलग्याउन भरमग्दुर प्रयास गरे पनि उनले मानेनन् । लडाइँमा साथीहरू गुमाउनुपर्दा पीडा हुने गरेको बस्नेतको भनाइ छ । ‘त्यति बेला रुँदारुँदै हाँस्थ्यौ । शोकलाई शक्तिमा बदल्नुको विकल्प थिएन,’ उनले भने, ‘अहिले आफूहरूको योगदानको कदर नहुँदा रुन मन लाग्छ ।’


शान्ति सम्झौतापछि घरको आर्थिक अवस्था सुधार्न भनी उनी दुई वर्ष वैदेशिक रोजगारीका क्रममा साउदी पुगे । पछि फर्किएर परिवारको साथसहयोगमा उनले गाउँमै च्याउ फार्म सञ्चालन गरिरहेका छन् । १० वर्षे सशस्त्र युद्धले आफूहरूको आर्थिक अवस्था थप कमजोर बनाएको उनको बुझाइ छ ।

प्रकाशित : आश्विन १६, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?