कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भुक्तानी लिने दौडधुपमा मृत्यु

दिनभर नगरपालिका कार्यालय घेराउ, इन्जिनियर बर्खास्त, उपभोक्ता समिति अध्यक्षको परिवारलाई राहत 
अर्जुन राजवंशी

(दमक) — झापाको गौरादह नगरपालिकाका कर्मचारीको ढिलासुस्तीका कारण स्थानीय एक उपभोक्ता समितिका अध्यक्षले ज्यान गुमाएका छन् । गत आर्थिक वर्षमै सम्पन्न योजनाको भुक्तानी हालसम्म नपाउँदा गौरादह ८ स्थित बैराती टहरा निर्माण उपभोक्ता समितिका अध्यक्ष ५८ वर्षीय धनवीर राजवंशीको मृत्यु भएको हो ।

भुक्तानी लिने दौडधुपमा मृत्यु

नगरस्तरीय योजनाअन्तर्गत बैराती बजारमा स्थानीयको श्रमदानसहित ३ लाख रुपैयाँको लागतमा टिनको टहरा निर्माण गरिएको छ । ठेकेदार युवराज बास्तोलाले सम्झौताअनुसार टहरा निर्माणको काम गत वर्षको असार मसान्तमै सम्पन्न गरेका थिए । भुक्तानीका लागि उपभोक्ता समिति अध्यक्ष राजवंशी तीन महिनादेखि नगरपालिकाको कार्यालय धाइरहेका थिए । बिल भौचरसहितको फाइल नगरपालिकामा बुझाउँदासमेत कर्मचारीले रकम भुक्तानीमा ढिला गरेका हुन् ।


राजवंशीले रकम भुक्तानीका लागि ठेकेदार बास्तोलाको लगातार दबाब खेपेका थिए । राजवंशी आइतबार पनि भुक्तानी लिन नगरपालिका गएका थिए । बिहान ११ बजे नगरपालिका गएका राजवंशीलाई नगरपालिकाका कर्मचारीहरूले बेवास्ता गरेका थिए । राजवंशीले पेस गरेको फाइल इन्जिनियर सचिनकुमार क्षेत्रीले रोकेर राखेका थिए । क्षेत्रीले कागजात नपुगेकोलगायत विभिन्न बहानामा राजवंशीलाई भुक्तानी दिन आलटाल गर्दै आएका थिए । राजवंशी दिउँसो ३ बजे नगरपालिका कार्यालयमै बेहोस भएर ढले । अचेत अवस्थामा उपमेयर गीता भेटवालको गाडीमा राखेर उनलाई अस्पताल लगिए पनि राजवंशीको ज्यान बच्न सकेन ।


‘कर्मचारीको ढिलासुस्तीकै कारण दुःखद् घटना हुन पुग्यो,’ मेयर रोहितकुमार साहले भने, ‘उपमेयर नेतृत्वको अनुगमन समितिले अनुगमन गरिसकेको योजनाको भुक्तानी यति दिनसम्म रोक्नुपर्ने कारण थिएन ।’ उनले ज्यान जाने गरी ढिलासुस्ती गर्ने इन्जिनियर क्षेत्रीलाई सेवाबाट बर्खास्त गरिसकेको जानकारी दिए । उपमेयर गीता भेटवालले पनि कर्मचारीले राजवंशीको भुक्तानी दिन ढिलाइ गरेको बताइन् । ८ नम्बरका वडाध्यक्ष भूमिराज पोखरेलले इन्जिनियर क्षेत्रीले फाइल अघि नबढाइदिँदा राजवंशीले भुक्तानी नपाएको बताए । ‘टहरा निर्माणमा कुनै कमजोरी छैन । असार मसान्तमा काम सक्नुपर्ने थियो । निर्धारित समयमै काम सकिएको छ,’ वडाध्यक्ष पोखरेलले भने, ‘सबै काम ठीकै भएकाले हामीले भुक्तानीका लागि असारमै सिफारिस दिएका छौं । तर, नगरपालिकामा इन्जिनियरले फाइल अघि बढाइदिएनन् ।’ भुक्तानीका लागि आफूले पनि इन्जिनियरलगायत नगरपालिकाका कर्मचारीलाई पटकपटक फोन गरेर आग्रह गरेको पोखरेलले बताए ।


‘अभिभावक गुमायौं’

राजवंशी करिब ४ सय घरपरिवार रहेको बैराती गाउँका अगुवा थिए । पञ्चायत कालका जनप्रतिनिधि समेत रहेका राजवंशीको नेतृत्वमा बैराती गाउँमा विकास निर्माणका विभिन्न काम भएका छन् । बैराती बजारमा १५ वर्षअघि राजवंशीकै अगुवाइमा बजार लाग्ने टहरा निर्माण गरिएको थियो । उनकै नेतृत्वमा गाउँको सडक निर्माण, शिवालय मन्दिर निर्माण, महाराजथान निर्माणको काम गरेको स्थानीय देवानन्द राजवंशीले बताए । ‘उहाँ गाउँको विकास निर्माणमा पञ्चायतकालदेखि खट्दै आउनुभएको थियो । टाठोबाठो भएकाले गाउँमा कसैलाई कुनै समस्या आए प्रहरी थानादेखि अदालतसम्म गएर सहयोग गर्नुहुन्थ्यो’ देवानन्दले भने ।


५ छोराछोरीका अभिभावक राजवंशी पछिल्ला तीन महिना पारिवारिक समस्यामा थिए । श्रीमती प्यारालाइसिसको बिरामी भएकाले राजवंशीले बढी समय घरलाई नै दिँदै आएका थिए । तर, स्थानीयको आग्रहमा उनी टहरा निर्माण समितिको अध्यक्ष बनेका थिए । ‘घरमा समस्या हुँदाहुँदै पनि गाउँकै बजार भएकाले बुबा टहरा निर्माण समितिको अध्यक्ष बन्नुभयो,’ माइला छोरा सूर्यले दबेको स्वरमा भने, ‘गाउँका लागि राम्रो काम गर्दागर्दै पनि हामीले बुबालाई गुमायौं ।’ उनले बुबाको ज्यान जाने गरी भुक्तानी दिन ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गर्न माग गरे ।


परिवारलाई राहत

उपभोक्ता समितिका अध्यक्ष राजवंशीलाई भुक्तानी दिन ढिलाइ गरेका करार कर्मचारी सचिनकुमार क्षत्रीलाई नगरपालिकाले मंगलबारदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरेको छ । मेयर, उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी, पीडित परिवारका प्रतिनिधिलगायत मंगलबार बसेको सर्वपक्षीय बैठकले क्षेत्रीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।


शव नगरपालिकाको गेटमा राखेर प्रदर्शनमा उत्रिएका मृतकका आफन्त तथा स्थानीयले इन्जिनियर क्षेत्री र लेखा शाखाका कर्मचारी रामजी दाहाललाई बर्खास्त गर्नुपर्ने तथा मृतकको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए ।


सोमबार दिनभर नगरपालिका घेराउ भए पनि जनप्रतिनिधिहरूले कर्मचारीलाई बर्खास्त गर्नुपर्ने माग अस्वीकार गरेका थिए । आफ्नो माग पूरा नगरेको भन्दै प्रदर्शनकारीले मंगलबार बिहान ११ बजेतिर नगरपालिकाको कार्यालय भवनमा तोडफोड गरेका थिए । तोडफोडका कारण मेयर, उपमेयरसहित नगरपालिका कार्यालयमा क्षति पुगेको छ ।


प्रकाशित : आश्विन १५, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?