कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मित्रताको यो पनि संयोग : एउटी बोल्न नसक्ने, अर्की देख्न

रमेशचन्द्र अधिकारी

(धनकुटा) — एउटा नबोल्ने, अर्को नदेख्ने । बास दुवैको एउटै कोठामा । आपसी संवाद सहज छैन । तर एकअर्काका अभिन्न साथी छन् ।

मित्रताको यो पनि संयोग : एउटी बोल्न नसक्ने, अर्की देख्न

तमोर नदीनजिक मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा आश्रय लिएका ५५ वर्षीया देवी लामिछाने र उनीसँगै बस्ने ६५ वर्षीया कालीमाया राईको कथा हो यो । लामिछाने दृष्टिविहीन हुन् । राई बोल्न सक्दिनन् । देवीले बोलेको कालीमायाले सुन्न र बुझ्न सक्दिनन् । कालीमायाले गरेको इसारा देवीले देख्न सक्दिनन् । खाना खाने समयमा बज्ने घण्टीको आधारमा देवीले छामेर थाल देखाउँछिन्, कालीमायाले खाना खाने संकेत बुझ्छिन् र नजिकै रहेको सामूहिक भान्सा घरमा जान्छिन् । वृद्धाश्रमले बासस्थान र खानपिनको प्रबन्ध गरेको छ । खानाको समयमा घण्टी बज्छ । कालीमायाले देवीसँग आफ्नो भावना व्यक्त गर्दा छोएर नबुझिने आवाज निकाल्छिन् । जसलाई अनुमानका आधारमा सांकेतिक जवाफ फर्काउँछिन् ।


बाल्यावस्थामै दृष्टिविहीन बनेकी देवी २०७१ सालमा धरानबाट आफन्तको माध्यमले वृद्धाश्रममा पुगिन् । बहिनीको घरमा रहेकी उनी रोशन नाम गरेका व्यक्तिको सहयोगमा त्यहाँ पुगेको बताउँछिन् । तुलसा निरौला नामकी वृद्धासँग कोठामा बस्दै आएकी उनी त्यही कोठामा देवी थपिएकी थिइन् । कालीमायालाई भने अघिल्लो वर्ष पाख्रिबासबाट आफन्तले वृद्धाश्रम राखिदिएका थिए ।


उनी धेरैजसो सांकेतिक रूपमा कुरा गर्छिन् । संकेत गर्ने क्रममा मुखबाट नबुझिने आवाज निस्कन्छ । जसलाई अरूले बुझ्न सक्दैनन्, तर देवीले अनुमान गरेर बुझ्ने बताइन् । कहिलेकाहीं धित मरुन्जेल विगतका कुरा गर्न मन लाग्दा भने असाध्यै समस्या हुने उनी बताउँछिन् । ‘एकै ठाउँमा बसेपछि साथी त भइयो,’ उनले भनिन्, ‘तर के गर्ने दुवैलाई प्रकृतिले ठगेको छ ।’ सांकेतिक रूपमा कालीमायाले आफ्नो घर टाढा रहेको इसारा गरिन् । उनी आवाज निकाल्ने कोसिस त गर्छिन्, तर बोली बुझिँदैन ।


दुवैजना मिलेर बसेको व्यवस्थापक कमला दाहाल बताउँछिन् । ‘कालीमाया आउँदा देवी बस्ने कोठामा एउटा खाट खाली थियो, त्यसैले दुवैलाई एकै ठाउँ राखिएको हो,’ उनले भनिन् । वृद्धाश्रममा हाल ४२ जना वृद्धवृद्धा छन् । अधिकांशमा कुनै न कुनै स्वास्थ्य समस्या छ । दर्जन बढीमा मानसिक समस्या रहेको वृद्धाश्रमका महासचिव जनार्दन घिमिरेले बताए । कतिपयलाई पक्षाघात, श्वासप्रश्वास र नसासम्बन्धी स्वास्थ्य समस्या छ । वृद्धाश्रमको शरणमा रहेकाहरू एउटा कोठामा एकदेखि तीनजना बस्दै आएका छन् । महिला र पुरुषलाई भिन्दाभिन्दै कोठा छ । ‘कसलाई कहाँ राख्ने भन्ने ठाउँ खाली भएका आधारमा निर्णय लिन्छौं,’ घिमिरे भन्छन् । यसै आधारमा कालीमाया र देवीको पनि बसाइ संयोग मिलेको उनले बताए ।


दुवैको नागरिकता छैन । भएको भए देवीले यतिबेला सामाजिक सुरक्षा भत्ता पाउने थिइन् । ‘नागरिकताका लागि धेरैलाई गुहार मागें,’ देवीले भनिन्, ‘कसैले चासो दिएनन् ।’ त्यसो त वृद्धाश्रममा बस्दै आएका उनीहरूसहित ७ जना वृद्धवृद्धाको नागरिकता छैन । ‘आश्रय लिए पनि नागरिकता भए पकेट खर्च सामाजिक सुरक्षा भत्ताबाट हुन्थ्यो,’ व्यवस्थापक कमला दाहाल भन्छिन् । नागरिकता नहुनेमा भोजपुरका ७५ वर्षीय वीरबहादुर भुजेल पनि छन् । भोजपुरको टक्सारका अविवाहित भुजेलका भाइभतिजलगायत आफन्त छन् । कसैले पनि नागरिकता बनाइदिन सहयोग नगरेको उनको गुनासो छ । आफन्तको उपेक्षापछि वृद्धाश्रमको शरणमा आइपुगेकी धरानकी ५६ वर्षीया सन्तोष अग्रवालको पनि नागरिकता छैन । ७५ वर्षीया निर्मलाकान्छी खड्का र ७० वर्षीय तोक्चे भुजेल पनि नागरिकताविहीन छन् । तेह्रथुमको मुसाङखेल घर भएकी सुस्तश्रवण अवस्थाकी लाटी कान्छीलगायतको पनि नागरिकता बन्न नसक्दा राज्यबाट पाउने सुविधाबाट वञ्चित रहेको गुनासो छ ।

प्रकाशित : आश्विन १४, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?