कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुख महरालाई लगाइएको दुर्व्यवहार आरोपको निजी सचिवालयद्वारा खण्डन

अनलाइन सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचार भ्रामक : सचिवालय
कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् भने सभामुखको निजी सचिवालयले त्यसको खण्डन गरेको छ । सचिवालयमा कार्यरत ती महिला कर्मचारीले आइतबार राति आफ्नै निवासमा आएर सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

सभामुख महरालाई लगाइएको दुर्व्यवहार आरोपको निजी सचिवालयद्वारा खण्डन

आफूलाई दुर्व्यवहार गरेको घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनको भनाइ छ । त्यसकै आधारमा सोमबार साँझ अनलाइनहरूमा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले राति विज्ञप्ति जारी गरी खण्डन गरेका हुन् ।


अनलाइन सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचार भ्रामक रहेको उनको दाबी छ । ‘सभामुखज्यूले कसैलाई पनि दुर्व्यवहार गरेको कुरा कल्पनासमेत गर्न सकिँदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुष्प्रयास भइरहेको छ, त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरूमा जानकारी गराउँछु,’ मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


सभामुख महरा आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको, २ बजेतिर बालुवाटार निवासमा फर्किएको र त्यसपछि अन्यत्र कहीँ नगएको विज्ञप्तिमा दाबी गरिएको छ ।


यौन दुर्व्यवहार भोगेको बताउने महिलाले आफूलाई महराले कुटपिटसमेत गरेको आरोप लगाउँदै आफ्नो तीनकुनेस्थित भाडाको फ्ल्याटमा महराको चस्माको टुक्रा, जुत्ताको भाग आदि छुटेको दाबी गरेकी छन् । यसबाहेक सभामुखसँग त्यहाँ आउनुअघि र पछि पनि फोन र भाइबरमार्फत कुराकानी भएको उनको भनाइ छ । प्राविधिक छानबिनबाट यसको सत्यता बुझ्न गाह्रो हुन्न । तर प्रहरीले उजुरी नआएको बताउँदै यसबारे औपचारिक अनुसन्धान गरेको छैन ।


सभामुख महराको सचिवालयले चस्मा, जुत्ताका कुरा निराधार भएको, महराको चस्मा उनीसँगै रहेको र तस्बिरमा आएजस्तो जुत्ता पनि उनले प्रयोग नगरेको विज्ञप्तिमा उल्लेख छ । सचिवालयले घटनालाई कर्मचारी समायोजनको असन्तुष्टिसँग जोडेको छ । ‘संघीय संसद् सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरू र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद् सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरू र ती महिला पनि असन्तुष्ट थिए ।’ त्यही असन्तुष्टिलाई लिएर सभामुखबारे पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएको प्रेस सल्लाहकार मल्लको दाबी छ ।


प्रकाशित : आश्विन १४, २०७६ ००:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?