कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँभरि महिलाका नाममा सम्पत्ति

रूपा गहतराज

नेपालगन्ज — सहरसित जोडिएको जानकी गाउँपालिका-३ बन्जारा गाउँ । तीन सय घरधुरी भएको बस्तीमा बन्जाराको संख्या धेरै भएपछि गाउँको नामकरण उनीहरूबाटै भयो । नेपालगन्जबाट तीन किलोमिटर पश्चिमको उक्त बस्ती पुग्न तीनवटा बाटा छन् । मधेसी र मुस्लिम समुदाय बहुल बसोबास रहेको बस्तीमा स्थानीयसँग धेरै जमिन छैन । बस्तीको विशेषता भनेको आर्थिक स्रोतको बागडोर महिलाले सम्हालेका छन् । 

अधिकांश परिवारमा जग्गाधनी पुर्जा र बैंक खाता महिलाका नाममा छन् । स्थानीय नच्छेद तमौली ५० वर्षका भए । खेतीपाती गर्छन् । उनको जग्गा पत्नीका नाममा दर्ता छ । उनीहरू तीन भाइ हुन् । तीन भाइले तीन बिघा जमिनको भागबन्डा गरे । सबैले पत्नीको नाममा जग्गा दर्ता गराए । यो समुदायमा पति-पत्नी एउटै हुन् भन्ने धारणा छ ।


‘मेरो उनको (पत्नी) भन्नु एउटै हो,’ तमौलीले भने, ‘त्यसैले श्रीमतीकै नाममा जग्गा राखें ।’ स्थानीय फातिमा वागवान जग्गाधनी बनेको डेढ वर्ष भयो । उनको नाममा एक कट्ठा जमिन छ । श्रीमान्, एक छोरा र तीन छोरी छन् । ससुराले जग्गा उनको नाममा पास गरिदिएका हुन् । ‘आफ्नो नाममा जगा हुँदा खुसी लाग्छ,’ उनले भनिन्, ‘गाह्रो पर्‍यो भने सन्तानले पनि हेर्छन् ।’


स्थानीय आयशा वेहनाको नाममा ५ धुर जग्गा छ । पाँच वर्षअघि उनका श्रीमान्ले नामसारी गरिदिएका हुन् । यहाँका पुरुष मजदुरी गर्छन् । काम खोज्दै सहर जान्छन् । साँझबिहान छाक टार्ने जोहो गर्छन् । महिलाको जिम्मामा घरधन्दाको काम छ । अन्न फलाएर पर्याप्त हुने जमिन छैन । दुखजिलो गरेर जोडेको सम्पत्ति महिलाको नाममा राख्ने परम्परा छ ।


सरकारलाई तिर्नुपर्ने करमा छुट पाइने, परिवारमा झगडा र कलह नहोस् भनेर पत्नीको नाममा जग्गाको पुर्जा बनाउने र बैंकमा खाता खोल्ने गरिएको स्थानीय अगुवा रमानन्द तमोलीले बताए । ‘घरमा जग्गाकै निम्ति किचलो हुन्छ,’ उनले भने, ‘महिलाको नाममा जग्गा भए उनीहरू सुरक्षित हुने भएकाले यस्तो चलन सुरु भएको हो ।’


सर्वसाधारणले मात्र होइन जनप्रतिनिधिले पनि आफ्ना जमिन श्रीमतीको नाममा दर्ता गराएका छन् । वडाध्यक्ष विन्देश्वर कुर्मीले सबै जमिन श्रीमती कृष्णाकुमारीको नाममा राखेको बताए । ‘श्रीमतीको नाममा जग्गा दर्ता गराएर मैले उनलाई अधिकार दिएको हुँ,’ उनले भने, ‘पतिपत्नी अलग होइनन्, एक हुन् । परिपूरक हुन् ।’


तीन वर्षअघि उक्त वडामा गरिएको सर्वेक्षणअनुसार १२ हजार जनसंख्या छ । त्यसमध्ये ४ सय ५० महिलाको नाममा घरजग्गा र सम्पत्ति रहेको पाइएको वडाध्यक्ष कुर्मीले बताए । धेरै पुरुष मजदुरीका लागि भारत जान्छन् । यहाँबाट भारतमा बिहेवारी चल्छ । ‘केहीले सीमापारि विवाह गरेका छन्,’ कुर्मीले भने, ‘उता बिहे गरे पनि घरजम यतै भएकाले सम्पत्ति महिलाको काम गराएका छन् । जसले महिला मालिक बनेका छन् ।’

प्रकाशित : आश्विन १३, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?