कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागढुंगा-नौबिसे जामको सास्ती : काठमाडौं हिँडेका एम्बुलेन्स चितवनतिर

१२ घण्टासम्म जाम, काखमै गुम्यो छोरा
हरिहरसिंह राठौर

महादेवबेंसी, धादिङ — नागढुंगा-नौबिसे जामका कारण शुक्रबार बिरामी बोकेर काठमाडौं हिँडेका एम्बुलेन्स चितवनतिर लागेका छन् । गोरखा बारपाक सुलिकोट-७ का ६० वर्षीय अम्बरबहादुर भट्ट गोरु चराउन जाँदा भीरबाट लडेर गम्भीर घाइते भए । एम्बुलेन्समै मुग्लिङ ल्याइएका अम्बरलाई काठमाडौं लैजान सवारी जाम छिचोल्न सक्ने अवस्था नदेखेपछि चितवन लगिएको छ । धादिङ, गोरखा, लमजुङ आदि स्थानबाट आएका एम्बुलेन्स पनि चितवनको भरतपुर लागेका छन् । 

नागढुंगा-नौबिसे जामको सास्ती : काठमाडौं हिँडेका एम्बुलेन्स चितवनतिर

छोरो काखमै गुम्यो

उनी कहिले छोरालाई काखमा सुताउँथिन् । कहिले पछ्यौरीले गुटुमुटु पार्थिन् । भोकप्यास लागे/नलागेको सोध्थिन् । मिर्गौलाको उपचारका लागि छोरालाई काठमाडौं लैजाँदै गरेकी रौतहटको गरुडा नगरपालिका-८ की सिर्जनदेवी साहले बिहीबार राति बसमा आँखा झिम्म गर्न पाइनन् । तर उनले बिरामी छोरालाई हस्पिटल पुर्‍याउन सकिनन् । काखमै छोरा गुमाउनुपर्‍यो ।


जनकपुरमा सम्भव नभएपछि ३५ वर्षीय छोरा रूपलाललाई थप उपचारका लागि काठमाडौं लैजान सिर्जनदेवी रौतहटबाट बिहीबार साँझ ना७ख ५३६४ नम्बरको बस चढेकी थिइन् । मध्यरातमा थाक्रे-८ चारकिलामा दुइटा मालवाहक कन्टेनर ठोक्किएर राजमार्गमा अवरोध भएपछि बिरामी बोकेको उक्त बस बिहान पौने ४ बजेदेखि महादेवबेंसी बजारनजिकै हुलाकडाँडामै जाममा फसेको थियो । शुक्रबार बिहान ६ बजेतिर बसमै रूपलालको मृत्यु भएको हो ।


जाममै रहेका बेला बिहान ३ बजेतिर बिस्कुट र पानी खाएका साहको स्थिति अकस्मात् गम्भीर भएपछि आफूहरूले एम्बुलेन्स खोज्न सघाएको चालक भगवान न्यौपानेले जानकारी दिए । एम्बुलेन्स खोजिनसक्दै रूपलालको मृत्यु भएको थियो । ‘जहाज चढ्ने रकम छैन,’ सिर्जनदेवीले भनिन्, ‘एम्बुलेन्स पनि जहाजभन्दा धेरै महँगो हुँदो रहेछ । त्यसैले सबैको सल्लाहले बस समातेका हौं ।’


एम्बुलेन्स नै ल्याएको भए पनि जामका कारण बाटो छिचोल्न सक्ने स्थिति नरहेको उनले सुनाइन् । ‘कैयौं एम्बुलेन्स साइरन बजाउँदै जाममै फसेको देखेँ’, उनले भनिन् । बसभित्रै मृत्यु भएपछि यात्रुले महादेवबेंसीस्थित प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि अर्को गाडीमा रौतहटबाटै काठमाडौं जाँदै गरेका मृतकका भाइ रामबाबु घटनास्थल आइपुगेपछि शवको मुचुल्का गरेर प्रहरीले रौतहट पठाइदिएको छ । दुवै मिर्गौला फेल भएर गम्भीर बिरामी भएका रूपलालको यसअघि पनि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराइएको थियो ।

प्रकाशित : आश्विन ११, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?