कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंकै मुखमा किन हुन्छ जाम ?

१० चक्के सवारीलाई भोलिदेखि उपत्यका छिर्न निषेध
विमल खतिवडा

काठमाडौँ — राजधानी छिर्ने र बाहिरिने मुख्य सडक नागढुंगा-नौबिसे खण्डमा १२ घण्टासम्म जाम हुन थालेको छ । यसबाट दसैंका लागि घर जाने र राजधानी भित्रिनेहरूले सास्ती बेहोर्नुपरेको छ । जामकै कारण उपचार नपाएर बिरामीको ज्यानसमेत गएको छ । चाडपर्व सुरु हुनै लाग्दा थालिएको सडक मर्मतका कारण सवारी जाम बढेको हो । बिहीबारको तुलनामा शुक्रबार भने जाम कम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रवि पौडेलले बताए । 

दसैंकै मुखमा किन हुन्छ जाम ?

गत वर्ष पनि दसैंका बेला नागढुंगादेखि पिपला मोडसम्म सडक मर्मत गर्दा यात्रु लामो जाममा बस्न बाध्य भएका थिए । एक वर्षपछि त्यही समस्या दोहोरिएको छ । सडक विभागले सडक मर्मत गर्न थालेको दुई साता मात्र हुँदै छ । उसले काम सकेको छैन । विभागले भने सडक मर्मतका कारण जाम नभएको दाबी गरेको छ । राति १२ देखि ३ बजेसम्म मात्र सडक मर्मतको काम भइरहेको विभागको भनाइ छ ।


‘नागढुंगा-नौबिसे खण्डमा एकदमै जाम भएको छ, बढी सवारीसाधन गुड्ने यो सडकलाई बर्सेनि टालटुल गरी चलाउनुपर्ने बाध्यता छ,’ विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले भने, ‘पानी पर्न थालेपछि मर्मतको काम भएको छैन, मर्मत गरिएको सडकसमेत पानीले बिग्रिएको छ ।’ लरी (१८ चक्के सवारीसाधन) बिग्रिएका कारण यो खण्डमा जाम बढेको उनले दाबी गरे । यो सडकमा दैनिक ८ हजारभन्दा बढी सानाठूला सवारी गुड्छन् । चाडपर्वका बेला यो संख्या दोब्बर हुन्छ ।


‘क्षमताभन्दा बढी सामान बोकेर आउने सवारीसाधनका कारण यो खण्डमा बढी जाम हुने गरेको छ,’ सापकोटाले भने, ‘अहिले भएकै त्यही हो, जाम घटाउन हामी लागिपरेका छौं ।’ बुधबार राति पनि १८ चक्के लरी बाटोमै बिग्रँदा जाम भएको एसपी पौडेलले जानकारी दिए । ‘पानी परिरह्यो, त्यसलाई राति नै निकाल्न सक्ने अवस्था भएन,’ उनले भने, ‘बिहीबार बिहान पानी पर्न कम भएपछि निकाल्यौं । त्यसपछि पनि फेरि ६ वटा गाडी बिग्रिँदा समस्या भयो ।’ राजधानीबाट बाहिरिनेभन्दा भित्रिने सवारीलाई बढी समस्या छ ।


‘बाहिरबाट आउँदा सडक उकालो छ, बिस्तारै गुड्ने ठूला गाडी लाइनमा हुन्छन्,’ उनले भने । चाडपर्वलाई लक्ष्य गरी शुक्रबारबाट उक्त सडकखण्डमा प्रहरी निरीक्षकको कमान्डमा १० जना ट्राफिक प्रहरी खटाइएको छ । ‘बढी जाम हुने नागढुंगा खण्ड हेर्नकै लागि प्रहरी टोली खटाइएको हो,’ उनले भने, ‘चारवटा मोटरसाइकल पनि पठाएका छौं, त्यसमा २/२ जना बसेर सडक हेर्नेछन् ।’ तत्काल गाडी बिग्रिए २ वटा ४० टनसम्मका तौल भएका गाडीलाई उचालेर सडक छेउमा लगेर यातायात सञ्चालन गर्ने र्‍याकरसमेत परिचालन गरिएको छ । जाम हुन नदिन ओभरटेक गर्ने सवारी चालकलाई कारबाही गरिनेछ । ‘यति भएपछि केही सहज हुनेछ,’ पौडेलले भने ।


गत असारमै सक्नुपर्ने नौबिसे-नागढुंगा सडक मर्मतको काम अहिले सुरु गरिएको हो । मर्मतको जिम्मा पाएको ठेकेदार कम्पनी जीएमआरले दसैंको चहलपहल सुरु हुने बेला आएर मर्मत गरिरहेको छ । मर्मतका कारण उक्त सडकखण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ । नागढुंगा-पिपलामोड सडक मर्मतका नाममा राति राजमार्ग बन्द गर्न थालेपछि यात्रुहरू लामो जाममा बस्न बाध्य भएका छन् । नौबिसेबाट काठमाडौं पस्ने देब्रे लेनको उकालोमा बढी खाडल परेर सडक जीर्ण छ ।


खाल्डाखुल्डी बढी भएको उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम बढाउने गरेको छ । राति बनाएको सडक भोलिपल्ट बढी भार भएका गाडीका कारण भत्कने गरेको छ । यता निर्माण कम्पनीका सञ्चालक गणेश पाण्डेले भने अत्यधिक वर्षाका कारण असारमा काम गर्न नसकिएको बताए । वर्षा सकिएपछि काम गर्न थाल्दा सडक मर्मत नसकिएको उनको भनाइ छ । शुक्रबारसम्म आफूहरूले काम सक्ने उनले बताए ।


लेखा समितिको ध्यानाकर्षण

यसैबीच प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले नागढुंगा-नौबिसे खण्डमा यात्रुले भोग्नुपरेको समस्या समाधानका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । ‘हामीले गृह एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई शुक्रबार पत्र लेखेर पठाएका छौं,’ समितिका सचिव रोजनाथ पाण्डेले भने, ‘तीन दिनभित्रमा लिखित जवाफ मागेका छौं ।’


चाडपर्वको समयमा नागढुंगा-नौबिसे सडकखण्डमा यात्रुको आवतजावत बढी हुने भएकाले यो खण्डमा बढी सचेत हुनुपर्ने उनको भनाइ छ । ‘जामले गर्दा एम्बुलेन्स पनि चल्न नपाएर बिरामीको मृत्यु भएको कुरा आएको छ,’ उनले भने, ‘मन्त्रालयले के गरिराखेको छ ? किन यस्तो समस्या भइरहेको छ भनेर कारणसहित जवाफ मागेका हौं ।’


१० चक्केलाई काठमाडौं प्रवेश रोक

दसैंका बेला सडक जाम हुन नदिन यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारीलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ । नागढुंगा-नौबिसे खण्डमा यात्रुहरू लामो समयसम्म जाममा फसेपछि विभागले शुक्रबार विज्ञप्ति जारी गरी असोज १८ सम्म १० चक्के र त्योभन्दा ठूला सवारीसाधनलाई चितवनको नारायणगढमै रोक्न भनेको हो । अत्यावश्यक औषधि र खाद्यान्न बोकेका ठूला गाडीलाई भने काठमाडौं प्रवेश गर्न दिइने विभागले जानकारी दिएको छ ।


प्रकाशित : आश्विन ११, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?