कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्क विदेशमन्त्रीस्तरीय साइडलाइन बैठक : एउटै मञ्चमा एकैपटक बस्न चाहेनन् भारत-पाकिस्तान

देवेन्द्र भट्टराई

न्यूयोर्क — दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर बैठकसहतिका प्रक्रियाहरु अवरुद्ध भएको लामो समयपछि न्यूयोर्कमा बिहीबार अपरान्ह सम्पन्न सार्क विदेशमन्त्रीस्तरीय साइडलाइन बैठक पनि खासै 'उपलब्धिमूलक'  देखिएन ।

सार्क विदेशमन्त्रीस्तरीय साइडलाइन बैठक : एउटै मञ्चमा एकैपटक बस्न चाहेनन् भारत-पाकिस्तान

सार्क अध्यक्ष राष्ट्र नेपालको आग्रह तथा समन्वयमा न्यूयोर्कमा राष्ट्रसंघीय महासभा बैठक जारी रहेका बेला स्थानीय होटल वेस्टिनमा गरिएको साइडलाइन बैठकमा सार्क सदस्यहरु अफगानिस्तान, बंगलादेश र श्रीलंकका विदेशमन्त्री उपस्थित हुन सकेनन् ।

भारत र पाकिस्तानका विदेशमन्त्री बैठकमा सहभागी भएपनि बैठकको फरक-फरक समयमा उपस्थित भए । उनीहरुले एकैसमयमा एउटै मञ्च सेयर गर्न चाहेनन् ।


दिउँसो १ बजे सुरु भएको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सुरुमै आएर आफ्नो मन्तव्य राख्दै आधा घण्टाभित्रैमा होटलबाट बाहिरिएका थिए ।


जयशंकर बाहिरिएपछि मात्रै बैठकस्थलमा आएका पाकिस्तानी विदेशमन्त्री शाह महमद कुरेसीले 'कश्मीर मामला हल नभएसम्म भारतसँग कुनै प्रकारको साझेदारी हुन नसक्ने' भन्दै मिडियालाई प्रतिक्रिया दिएका थिए ।


विशेष गत अगष्ट ५ मा भारतले संविधानको ३७० धारा निलम्बन गर्दै जम्मु-कश्मिरलाई छुट्टै राज्यको मान्यता दिएपछि बढेको भारत-पाक विवादले क्षेत्रीय तहमा बेमेलको अवस्था निम्त्याएको हो ।


बैठकमा अफगानिस्तानका सहायक विदेशमन्त्री, बंगलादेशबाट विदेश मन्त्रालयका महानिर्देशक र श्रीलंकाका विदेश सचिव मात्रै उपस्थित थिए ।


तर यो साइडलाइन बैठकलाई आयोजकका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निकै उपलब्धिमूलक भनेर प्रतिक्रिया दिएका छन् ।


'हामीबीच बलियो क्षेत्रीय सहकार्य जरुरी रहेको बोध सबै सदस्य राष्ट्रले गरेका छन् । व्यापार, पर्यटन र लगानीका क्षत्रेमा बलियो सहकार्य आवश्यकता देखिएको छ,' बैठकपछि मन्त्री ज्ञवालीले भने, 'जलवायु परिवर्तन, गरिवी निवारण र आतंकवाद विरोधमा साझा दृष्टिकोण चाहिएको बोध भएको छ । अब सार्क आवश्यक रहेन, यो अनुपयुक्त भयो भनेर कसैले भनेको छैन । सबैले आ-आफ्नो देशमा रहेका सार्कका संयन्त्र र सांगठनिक कामबारेमा जानकारी दिएका छन् ।'


मन्त्री ज्ञवालीका अनुसार भारतीय विदेशमन्त्री जयशंकरले 'भारत समृद्ध दक्षिण एशिया देख्न चाहेको' बताउँदै सार्क संयन्त्रकै कारण पाएका उपलब्धीहरुको चर्चा पनि गरेका थिए । उनले सार्क स्याटेलाइट, सार्क युनिभर्सिटी, सार्क डिजास्टर सेन्टर जस्ता संयन्त्रबारेमा चर्चा गरेका थिए ।


प्रकाशित : आश्विन १०, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?