दसैंका यात्रुको गुनासो-‘अहिले टिकट छैन, सबै बुक भइसक्यो मात्र भन्छन्’

विमल खतिवडा

काठमाडौँ — दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंकै मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् । पूर्व, पश्चिम, मध्य पश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए ।

यही भीडमा १६ गते घर जाने तयारीमा रहेका जाजरकोटका नवराज शाही ठकुरीले अहिलेसम्म टिकट नपाएको गुनासो गरे । उनी गोंगबुस्थित नयाँबसपार्कमा टिकट लिन पुगेका थिए । ‘१६ गते घर जानका लागि टिकट बुक गर्न खोजेको थिएँ,’ उनले भने, ‘जुन दिन जाने भनेको त्यही दिनकै टिकट पाइएन, काउन्टरमा बस्नेले त्यो दिनका लागि सबै बुक भइसकेको बताए ।’ उनी कसरी घर जानेर भनेर अन्योलमा छन् । चिनेको दाइलाई भन्न लगाइरहेको उनले सुनाए । ‘दसैंमा घर त जानैपर्छ,’ उनले भने, ‘त्यसैले सिट नपाए उभिएरै भए पनि जान तयार छु ।’ घर पुग्न दुई दिन लाग्छ । सदरमुकामसम्म गाडी पुग्छ ।

त्यसपछि कच्ची सडक हुँदै गाउँ पुग्ने उनले बताए । यो समस्या उनको मात्र होइन । टाढाटाढा जानेले टिकट नपाएको गुनासो गर्दै आएका छन् । काउन्टर जाँदा टिकट नभएको, अग्रिम रूपमा बुक भइसकेको जानकारी दने गरेको यात्रुले बताए । ‘१३ गते घर जाने भनेर बसे पनि त्यो दिनका लागि सबै टिकट बुक भइसकेको भन्ने मात्र सुन्छु,’ संखुवासभाकी सुमित्रा जिमीले भनिन्, ‘घरसम्मकै लागि पनि होइन, धरानसम्म मात्र जान खोजे पनि टिकट पाएको छैन ।’
उनले टिकट काउन्टरमा बुझी रहेको बताइन् । समस्या गाडीको मात्र होइन । जहाज पुग्ने जिल्लाका यात्रुले पनि टिकट पाएका छैनन् । टिकट नपाएपछि यात्रुलाई कसरी घरसम्म पुग्ने भन्ने चिन्ता छाएको छ । अहिले टिकट छैन भन्दै फर्काउने गरेको र दसैंको मुखमा टिकट कालोबजारी गरेर बेच्न लागिएको आरोप यात्रुको छ । ‘अहिले टिकट छैन, सबै बुक भइसक्यो मात्र भन्छन्,’ टिकट काट्न नयाँ बसपार्क पुगेका एक यात्रुले भने, ‘जब दसैं नजिकिन्छ, त्यसपछि अहिलेको भाडादरको दोब्बर पैसा लिएर टिकट बिक्री गर्छन् ।’

यता संखुवासभा खाँदबारीका विवश घिमिरेले जहाजमा घर जान टिकटको खोजी निकै गरे । १७ गतेका लागि टिकट बुक गर्न खोजे पनि कतै पाउन सकेनन् । गाडीमा जाँदा काठमाडौंबाट दुई दिन लाग्छ । ‘गाडीमा जाँदा उल्टी हुन्छ, चाडबाडमा घर पुग्दा तीन/चार दिननै बिरामी परेर सुत्नुपर्छ,’ उनले भने, ‘त्यही भएर जहाजमा जान निकै प्रयास गरें, टिकट नै पाउन सकिनँ ।’ गाडीमा जाने भएपछि १६ गतेका लागि टिकट बुक गरेको उनले बताए । तुम्लिङटार विमानस्थलमा बुद्ध र यती एयरले दैनिक एक/एक उडान भर्दै आएका छन् ।

चाडबाडको समयमा उडान संख्या थपिने आशमा उनले टिकट लिन खोजेको बताए । ‘जहाजको टिकट लिन जाँदा दसैंका लागि वैशाख/जेठबाटै टिकट बुक भएको जानकारी दिए,’ उनले भने, ‘अब कष्ट सहेरै भए पनि गाडीमा जानुको विकल्प भएन ।’ उनले रात्रि बसको टिकट काटेको सुनाए । यो समस्या उनको मात्र होइन । यात्रुले जहाज, गाडी, माइक्रो, जिपको टिकट सहज रूपमा नपाएको गुनासो गर्दै आएका छन् । रिजर्भ गरेर जान खोज्दा गाडीवालाले अघिपछि भन्दा दोब्बर पैसा भन्ने गरेको यात्रुले गुनासो गरे ।

दसैंमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बसको टिकटमा समस्या नभएको दाबी गरे । ‘जुन दिन जाने भनिएको छ त्यो दिन नभए अघिपछि गरेर पनि जान सकिन्छ तर बसको टिकट पाइएन, कालोबजारी भयो भन्ने कुरा गलत हुन्,’ उनले भने, ‘माइक्रो र जिपको टिकट नपाएको भन्ने गुनासा धेरै आएका छन्, यसबारे शुक्रबार सम्बन्धित निकायलाई बोलाएर छलफल गर्दैछौं, समस्या समाधान हुन्छ ।’ गाडी पुग्ने/नपुग्ने भन्नेबारे पनि यातायात व्यवसायीसँग निरन्तर बुझिरहेको उनले बताए । सबैभन्दा बढी यात्रुको भीड नयाँ बसपार्कमा लाग्ने गरेको छ । ‘अघिपछि टिकटमा कालोबजारी गर्नेहरूको लिस्ट हामीसँग छ, कसले के गर्छ भन्ने सबै थाहा छ,’ उनले भने, ‘सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ, कसैले यात्रुलाई ठग्न खोजे ठाउँको ठाउँ कारबाही हुनेछ ।’ टिकट अभाव हुन नदिने र यात्रुलाई गन्तव्यमा पुर्‍याएरै छाड्ने उनले दाबी गरे । पानी पर्न नरोकिएकाले ग्रामीण क्षेत्रमा जाने यात्रुले टिकट नपाउनु स्वाभाविक भएको यातायात व्यवसायी बताउँछन् ।

‘ग्रामीण क्षेत्रका सडक खुल्छन्/ खुल्दैनन अझै थाहा छैन,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘ती ठाउँमा जाने यात्रुका लागि टिकट बुक गर्ने/नगर्ने भनेर व्यवसायी दोधारमा छन् ।’ अहिले सबैभन्दा बढी समस्या नागढुंगा–नौबिसे सडक खण्डमा देखिएको छ । दसैंको मुखमा सडक टाल्ने काम सुरु गर्दा दैनिक सवारी जाम हुने गरेको छ । त्यस्तै नुवाकोट जाने सडकको समस्या अझै समाधान भएको छैन ।

काठमाडौंबाट नजिक रहेका जिल्लाहरूका लागि भने शुक्रबारबाट टिकट बुकिङ खुल्दै छ । पोखरा जाने यात्रुले सुन्धरा र नयाँ बसपार्कबाट टिकट लिन पाउनेछन् । त्यस्तै गोरखाका लागि पनि शुक्रबारबाटै टिकट खुला भएको छ । पोखराबाट देशका विभिन्न जिल्ला जाने १० हजारले टिकट बुक गरिसकेका छन् । ‘हामीलाई मुख्य समस्या सडक नखुल्दा हो,’ महासचिव सिटौलाले भने, ‘सडक सुचारु भए यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन समस्या छैन ।’

प्रकाशित : आश्विन १०, २०७६ ०७:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मुख्य दोष हाम्रै हो : दाहाल

घनश्याम खड्का

काठमाडौँ — विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष लागिसक्दा पनि संक्रमणकालीन न्याय टुंगो नलाग्नुमा आफू राजनीतिज्ञहरूकै दोष भएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वपीडितसँग पहिलोपटक सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले शीर्ष नेता र द्वन्द्वपीडितबीच बुधबार गरेको अन्तरसंवादमा दाहालले द्वन्द्वपीडितलाई न्याय दिलाउन ढिलाइ भएकामा क्षमा मागेका हुन् । ‘अहिले पटक–पटक बालुवाटारमा बसेर समीक्षा गर्दा यसका लागि दोष हाम्रै हो भन्ने महसुस भएको छ,’ पीडितको आक्रोश र वेदना सुनेपछि केही भावुक भएका उनले भने, ‘यसका निम्ति हामी नेतृत्वमा रहेका नाताले आत्मालोचित हुनुको अर्को उपाय मैले देखेको छैन ।’

पीडितहरूको आक्रोशलाई सम्बोधन गर्ने क्रममा दाहालले द्वन्द्वकालमा भएका सबै जसअपजसको जिम्मेवारी आफूले लिने बताए । ‘हिजो भएको जनयुद्धका सबै राम्रा–नराम्रा कुराको नैतिक, व्यावहारिक र राजनीतिक जिम्मेवारी लिन्छु, मोर्चा छाडेर भाग्दिनँ,’ उनले भने, ‘कतिपय साथी कताकता जानुभयो, म भागेको छैन । अन्तिम समयसम्म म तपाईंहरूका पक्षमा लडिरहनेछु ।’ दाहालले बोल्नुअघि द्वन्द्वपीडितले उनीमाथि सत्ताका लागि न्यायको सौदाबाजी गरेको आरोप लगाएका थिए । ‘प्रचण्ड बा ! तपाईंले भनेर हामी मर्न/मार्न तयार भयौं, देश बदलिन्छ भन्ने विश्वास बोकेर जे पनि गर्न अघि बढ्यौं,’ द्वन्द्वकालमा सैन्य हिरासतमा यातना र दुर्व्यवहार भोगेकी भावना विद्रोहीले भनिन्, ‘हामीलाई न्याय दिलाउनुको सट्टा तपाईं देउवासँग मिलेर सत्तामा जानुभयो । मलाई जवाफ दिनुस्, के हाम्रो बलिदानी यही दिन देख्नका लागि थियो ?’ शान्ति सम्झौतापछि सम्भवतः पहिलोपटक पीडितसँग सार्वजनिक रूपमै अन्तरक्रिया गरेका दाहालले न्यायको कसीमा जस्तोसुकै परिणाम भोग्न आफू तयार रहेको समेत बताए । ‘इतिहासले, राजनीतिक घटनाक्रमले, अन्तर्राष्ट्रिय न्यायको सिद्धान्तले, शान्ति–सम्झौता र यसको प्रक्रियाले मलाई दोषी भन्छ भने म त्यो (सजाय) भोग्न तयार छु,’ उनले भने ।

पीडितहरूको साझा संगठन द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी र वर्तमान अध्यक्ष भागीराम चौधरीले नेताहरू आफ्नै स्वार्थसिद्ध गर्न लागेकाले आफूहरूले न्याय नपाएको आरोप लगाए । ‘हाम्रो संवेदना र पीडामा भकुन्डो खेल्ने काम धेरै भयो,’ अधिकारीले भने, ‘कृपया, अब त्यसलाई बन्द गर्नुस् ।’ त्यसको जवाफमा दाहालले आफू जहिल्यै पीडितको समस्या समाधानका लागि सक्रिय भएको र गर्दाभन्दा ढिलो हुन गएकाले संयमित भइदिन आग्रह गरे । ‘तपाईंहरूले आक्रोश व्यक्त गरेका बेला आफैं पीडित र भावुक हुन्छु, कहिलेकाहीँ मप्रति अन्याय व्यक्त गरिएका शब्द पनि सुन्छु,’ उनले भने, ‘तैपनि तपाईंहरूप्रति मेरो सहानुभूति नै हुन्छ किनभने तपाईंहरूको प्रतिवाद गर्ने नैतिक र राजनीतिक अधिकार मसँग छ भन्ने लाग्दैन ।’

बितेका दिनमा दलहरूबीच एकअर्कालाई निषेध गर्ने र द्वन्द्वको दोषी देखाउने प्रवृत्तिका कारण संक्रमणकालीन न्यायले निकास नपाएको उनले बताए । यही प्रवृत्तिका कारण सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा एकअर्काविरुद्ध सक्दो उजुरी हाल्ने काम भएको उनले दाबी गरे । एमालेसँग एकतापछि अवस्था बदलिएको र सबै नेता संक्रमणकालीन न्यायलाई टुंग्याउनुपर्छ भन्ने विन्दुमा पुगेको उनले बताए । ‘आज म तपाईंहरू सबैका अघिल्तिर र राष्ट्रिय मानव अधिकार आयोगसामु भन्न चाहन्छु, अब म यो लम्ब्याउँदिनँ,’ उनले भने, ‘आज १२ वर्षपछि वातावरण सबैका लागि अनुकूल छ । सत्तापक्ष–प्रतिपक्ष दुवै यो प्रक्रियालाई टुंग्याउनु पीडित र राज्य दुवैको हितमा छ भन्ने बुझाइमा छन् । यो अवसर हो, यसलाई गुम्न दिनु हुन्न ।’

हजारौं सहिद र बेपत्ता परिवारको पीडाको बोझ आफ्नो टाउकामा भएको र इतिहासले संक्रमणकालीन न्याय टुंग्याउन निर्देशित गरेकाले जसरी र जहिले पनि यो प्रक्रिया टुंग्याउन आफू लागिपरेको उनले दाबी गरे । ‘इतिहासले मलाई डिक्टेट गरेको छ, यो टुंग्याउनका लागि, किनकि मै यसको सुप्रिम कमान्डर, मै शान्ति सम्झौताको हस्ताक्षरकर्ता,’ उनले भने, ‘म जीवित हुँदै यो प्रक्रिया टुंगियोस् भन्ने मेरो चाहना छ ।’ कार्यक्रमको सुरुमा कांग्रेस सभापति शेरबहादुर देउवाले बोल्दै गर्दा दुवै पक्षका पीडित भएकाले दुवैका कुरा सुन्नुपर्ने बताएका थिए । ‘आफू अन्य कार्यक्रममा पनि जानुपर्ने भएकाले थप समय बस्न पाइनँ’ भन्दै देउवा निस्किन लागेपछि पीडितले ‘हाम्रा कुरै नसुन्ने भए किन आएको’ भनी उनीविरुद्ध नाराबाजी गरे । नाराबाजीकै बीच देउवा हिँडेपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पीडितलाई संयमित रहन आग्रह गरे ।

‘न्यायनिरूपणमा अनावश्यक ढिलाइ भएकै हो,’ उनले भने, ‘सबै दल र नेताले यसबारे गम्भीर भएर तपाईंहरूको कुरा सुन्नैपर्छ र क्षमा माग्नैपर्छ ।’

कांग्रेस नेता मीनेन्द्र रिजालले दलहरू अब जसरी पनि मिलेर संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन प्रतिबद्ध भएकाले एकपटकलाई विश्वास गरिदिन पीडितलाई आग्रह गरे ।

नेकपा अध्यक्ष दाहालले संक्रमणकालीन न्यायका अतिरिक्त शान्ति प्रक्रियाको दुई महत्त्वपूर्ण पाटो संविधान निर्माण र सेना समायोजनमा समय ज्यादा लागेकाले पीडितलाई न्याय दिलाउने काममा धेरै खट्न नपाएको तथ्य बुझिदिन आग्रह गरे । ‘टाउकाको मूल्य तपाईंहरूको भन्दा पहिला मेरै तोकिएको थियो, मारेर ल्याए पनि जिउँदै ल्याए पनि पुरस्कार पाउने घोषणा त सरकारले गरेकै थियो । तपाईं–हामी सबै भुक्तभोगी होइनौं र त्यसका ?’ उनले थपे ।

पीडितसँग संवाद गर्ने अवसर जुराइदिएर समस्या समाधानको पहल गरेको भन्दै दाहालले राष्ट्रिय मानव अधिकार आयोगको प्रशंसा गरे । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेप गरेर सिफारिस समितिको क्षेत्राधिकार मिचेको भन्ने आयोगको टिप्पणीप्रति आफू जानकार रहेको उनले बताए । त्यसो हुन नदिन पीडितलाई पनि साथै लिएर र हस्तक्षेप नगरी अगाडि बढ्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी ओली र आफूबीच सहमति बनेको उनले खुलासा गरे । ‘हेर्दै जानुस्, केही दिनभित्रै आयोगहरू बन्छन्, ऐन संशोधन हुन्छ । केही दिनभित्रै औपचारिक ढंगले कुराकानी गर्ने प्रक्रिया पनि सुरु हुन्छ,’ उनले भने ।

पीडितलाई विश्वासमा नलिई यो समस्या समाधान हुँदैन भन्नेमा राजनीतिक नेतृत्व गम्भीर भएकाले समस्या सधैंका लागि टुंगिने दिशामा अघि बढिसकेको उनको दाबी थियो । ‘राज्य पक्ष, सरकार र नेतृत्व आत्मसमीक्षासहित तपाईंहरूको कुरा सन्ने मुडमा छौं,’ उनले भने, ‘यो कुरा गहिरो गरी मनन गर्न‘होला । ढिलो भएकामा क्षमायाचना गर्दै, त्यसबाट शिक्षा लिँदै अघि बढ्न म सबैलाई अपिल गर्छ‘ । भागेर समस्या समाधान हुनेवाला छैन ।’ संयुक्त राष्ट्रसंघीय महासभाको जारी ७४औं बैठकमा मंगलबार मात्रै नेपालको संक्रमणकालीन न्यायबारे कुरा उठेको थियो । त्यसप्रति लक्षित गर्दै दाहालले अन्तर्राष्ट्रिय समुदायको चासोका सम्बन्धमा पनि आफूहरू जानकार रहेको बताए । ‘यस प्रक्रियामा अन्तर्राष्ट्रिय समुदाय पनि जोडिएको छ, उनीहरूका पनि उचित चासोहरू छन्,’ उनले भने, ‘त्यसो हुनाले अन्तर्राष्ट्रिय स्तरको समझदारी बनाएर अहिलेसम्म संक्रमणकालीन न्यायका क्षेत्रमा विकास भएका मूल्यमान्यताका आधारमा नेपालबाट समस्या समाधानको नयाँ विधि प्रस्तुत गर्ने हाम्रो कोसिस रहँदै आएको छ ।’

शान्ति प्रक्रियाको महत्त्वपूर्ण पाटो संक्रमणकालीन न्याय १३ वर्षदेखि अलपत्र छ । चार वर्षअघि गठन भएका आयोगमा ७० हजारजति उजुरी छन् भने त्यसमाथि एउटा पनि अनुसन्धान गर्न नसकेको अवस्थामा आयुक्तहरू पदमुक्त भएपछि छ महिनादेखि दुवै संस्था पदाधिकारीविहीन छन् ।

पदाधिकारी नियुक्तिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पाँच सदस्यीय सिफारिस समितिले राजनीतिक हस्तक्षेपकै कारण उम्मेदवार चयन गर्न सकेको छैन । यस्तो परिस्थितिको अन्त्य गर्न शीर्ष नेताहरूसँग पीडितको सिधासिधा संवाद खाँचो भएकाले कार्यक्रम आयोजना गर्न ‘परेको मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताए ।

प्रकाशित : आश्विन १०, २०७६ ०७:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×