कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ किलोको साइकल बोकेर २४ दिनमा कालापत्थर

कुम्भराज राई

ओखलढुंगा — रन्जितले हिरो साइकल काँधमा बोकेर लुक्ला पुर्‍याउँदा उनलाई स्थानीयले चारैतिरबाट घेरे । बालबालिकाहरू झुम्मिए । कारण थियो, लुक्लाका स्थानीयले पहाडमा चल्ने महँगो माउन्टेन साइकल देखेका थिए । मधेसमा कुद्ने हिरो साइकल भने देखेका थिएनन् ।

१५ किलोको साइकल बोकेर २४ दिनमा कालापत्थर

रन्जितले नेपालको झन्डा र साइकल बोकेर ५ हजार ६ सय ४३ मिटर अग्लो कालापत्थर र ५ हजार ३ सय ६४ मिटर उचाइको सगरमाथा आधारशिविर पुग्नुअघि पनि बाटोमा एउटै प्रश्नको सामना धेरै पटक गर्नुपर्‍यो, ‘साइकल बोकेर कता ?’ उनले आफ्नो यात्रा र अभियानबारे बताएपछि सबैले प्रशंसा गरे । उनको मूल नारा हो, ‘तराई पहाड हिमाल, हाम्रो मातृभूमि नेपाल । राष्ट्रिय एकता’ सहित आफ्नो यात्रा र अभियानबारे बताएपछि सबैले उनको प्रशंसा गरे ।


उनी जनकपुर उपमहानगरपालिकाका पान व्यवसायी हुन् । जनकपुर बसपार्कको जिरो माइलभित्र उनको पान पसल छ । उनी वर्षमा ११ महिना पान बेच्छन् अनि एक महिना साइकलमा निस्कन्छन् । त्यही क्रममा यसपालि उनले रोजेको क्षेत्र हो– कालापत्थर र सगरमाथा आधारशिविर । १५ किलोभन्दा गह्रौं साइकल लिएर भदौ ५ मा जनकपुरदेखि हिँडेका उनी भदौ २७ मा आधारशिविर र २८ गते कालापत्थर पुगे । पातलो लुगाको भरमा ।


‘यसपालिको यात्रामा मौसमले अत्यन्तै साथ दियो । म प्लास्टिकको सामान्य जुत्ता आकारको चप्पलमै आधारशिविर र कालापत्थर पुगेँ,’ रन्जितले भने, ‘बाटोमा भेटिएका स्थानीय, होटलवाला, सरकारी निकायका कर्मचारी सबैले सहयोग गर्नुभयो । म सबैप्रति आभारी छु ।’ उनले पर्यटन वर्ष २०२० को सानो बोर्डसमेत बोकेर यात्रा गरेका थिए । उनले साइकल गोरक्सेपमै छाडेर पैदल फर्किएका छन् । आगामी वसन्त ऋतुमा साइकल बोकेरै सगरमाथा आरोहण गर्ने उनको लक्ष्य छ । फर्किंदा उनी आधारशिविरदेखि जनकपुरसम्मै पैदल यात्रामा छन् । १० गते जनकपुर पुग्ने उनको लक्ष्य छ ।


यसअघि हिरो साइकलमै उनले जनकपुर–पशुपतिनाथ, जनकपुर–हलेसी, जनकपुर–मुक्तिनाथ, जनकपुर–अयोध्या, जनकपुरदेखि ताप्लेजुङको पाथीभरासम्मको यात्रा गरिसकेका छन् । २०७२ देखि साइकलयात्रा थालेका उनले यस पटक जनकपुरदेखि मन्थली, चरिकोट, कालिञ्चोक, काठमाडौं, खुर्कोट, घुर्मी, ओखलढुंगा हुँदै सोलुखुम्बुको सगरमाथा आधारशिविरसम्म यात्रा गरे । सोलुखुम्बुको नुनथलासम्म ओरालो बाटोमा साइकल चढेरै यात्रा गरे । त्यहाँदेखि उनले एक साताभन्दा बढी काँधमा साइकल बोकेर आधारशिविर पुगे ।


‘म जति सक्छु आफ्नै पैसा खर्चिएर यात्रा गर्छु,’ रन्जित भन्छन्, ‘कहीँकतैबाट सहयोग लिई यात्रा गर्दिनँ । आफ्नै खर्चमा सगरमाथा चढ्ने तयारीमा छु । त्यसका लागि परिवारको उत्तिकै साथ छ ।’


बुवा केशरी साह र आमा सरस्वती साहका कान्छा छोरा हुन् रन्जित । दुई भाइ र तीन बहिनीमध्ये दाजुले बिहे गरेर अलग्गै बसेका छन् ।

सगरमाथा आरोहण अनुमति सरकारले देला वा नदेला भन्ने उनको चिन्ता छ । यसै वर्षदेखि सगरमाथा आरोहण गर्नुपूर्व आठ हजार मिटरका कम्तीमा एक हिमाल चढ्नुपर्ने भएकाले उनले तुरुन्तै त्यसको तयारीमा लाग्ने बताए ।

प्रकाशित : आश्विन ८, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?