कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन हटाइयो आधारभूत तहबाट पूर्वव्यावसायिक शिक्षा ?

आत्मनिर्भर बन्न सिकाउने, जवाफदेही बनाउने, इमानदार हुने र अरूलाई सघाउने बनाउने उद्देश्यले पूर्वव्यावसायिक विषय पाठ्यक्रममा समावेश गरिएको थियो
गणेश राई

काठमाडौँ — सरकारले प्राविधिक शिक्षालाई अधिकतम प्राथमिकता दिने उद्देश्य राखेको छ । शिक्षा मन्त्रालयले भने आधारभूत तहको पाठ्यक्रमबाट व्यावसायिक शिक्षा विषय हटाएको छ । नेपालमा २००४ सालमा कृषि, काष्ठकार्य, कताइ, बुनाइ उद्यमका रूपमा उक्त विषय सुरु गरिएको थियो । आधारभूत तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा संलग्न व्यावसायिक शिक्षा विषय पाठ्यक्रम प्रारूप, २०७५ बाट हटाइएको हो ।

किन हटाइयो आधारभूत तहबाट पूर्वव्यावसायिक शिक्षा ?

विद्यालय संरचना कक्षा ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ लाई माध्यमिक तह कायम छ । मन्त्रालयले नयाँ संरचनाअनुसार माध्यमिक तहमा कक्षा ९–१२ मा साधारण धार र प्राविधिक धारका रूपमा विकास गर्ने नीति लिएको छ । बालबालिकाको उमेरअनुसार आधारभूत तहमा आवश्यक नरहेकाले पाठ्यक्रमबाट व्यावसायिक शिक्षा विषय हटाइएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले बताए । ‘आधारभूत तहमा पढ्नेको उमेर व्यावसायिक सीप सिक्ने होइन,’ उनले भने, ‘त्यसैले कक्षा ९ देखि मात्र राखिएको छ । व्यवहारकुशल सीप भनेर समेटिएको छ । सबै विषयको क्रियाकलापमा जोडिएको छ ।’


मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्याल भने व्यावसायिक शिक्षालाई सामाजिक विषयमा समेटिएको दाबी गर्छन् । ‘व्यावसायिक शिक्षालाई सामाजिक शिक्षा विषयमा जोडिएको छ,’ उनले कान्तिपुरसित भने । विज्ञले भने बालबालिकालाई प्रारम्भिक तहदेखि नै कृषि, व्यवसाय, हस्तकला, चित्रकलाजस्ता सीप सिकाउँदा उनीहरू आफ्नो वरिपरिका विषयवस्तुसित परिचित हुने बताउँदै आएका छन् । साथै उनीहरूको खुबी र रुचि पनि पहिचान हुने भएकाले व्यावसायिक शिक्षा हटाउन नहुने उनीहरूको भनाइ छ ।


‘आधारभूत तहमा पठनपाठन गर्दा माध्यमिक तहमा सम्बन्धित विषय रोज्न विद्यार्थीसित विकल्प रहन्थ्यो,’ मन्त्रालयका पूर्वसचिव तथा विषयविज्ञ जयराज गिरीले भने, ‘सानै कक्षादेखि व्यावसायिक शिक्षासम्बन्धी सीप सिक्दै र पाठ्यपुस्तकमा पनि पढ्न पाउँदा त्यसप्रति विद्यार्थीको जिज्ञासा बढ्छ । रुचि जगाउँछ । तर सात दशकदेखि प्राथमिकतामा परेको विषय एकाएक हटाइनुबाट यसको गाम्भीर्यलाई कम आकलन गरिएको पुष्टि हुन्छ ।’


पूर्वव्यावसायिक शिक्षालाई कक्षा ४ देखि अनिवार्य विषयका रूपमा समावेश गर्दा सकारात्मक प्रभाव रहने उनको भनाइ छ । तत्कालीन सरकारले आधार शिक्षा लागू गर्न २००३ सालमा ६ जना स्नातक युवालाई तालिम लिन भारत पठाएको थियो । त्यसको अर्को वर्ष देशमा १४ वटा आधार स्कुल स्थापना गरिएको थियो । भारतबाट तालिमप्राप्त जनशक्तिलाई खटाएर कृषि, काष्ठकार्य, कताइ, बुनाइजस्ता उद्यम विषय सैद्धान्तिक र प्रयोगात्मक शिक्षण सुरु गरिएको थियो ।


विभिन्न चरणमा विद्यालय शिक्षामा लागू गरिने विषयको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार गरिँदै आएको छ । यसअनुसार २०११ र २०१८ सालको शिक्षा प्रतिवेदनमा व्यावसायिक शिक्षा राखिएको थियो । २०२८ सालमा लागू नयाँ शिक्षामा पूर्वव्यावसायिक शिक्षा उल्लेख गरिएको थियो । ‘कक्षा ४ देखि ७ सम्म निम्न माध्यमिक शिक्षा, यस तहको शिक्षाको उद्देश्य देशभक्ति, राजभक्ति सिकाइ चरित्र निर्माण गर्नु हुनेछ र पूर्वव्यावसायिक शिक्षाको प्रारम्भ गर्नु हुनेछ,’ प्रतिवेदनमा छ, ‘कक्षा ८ देखि १० कक्षा तहको शिक्षाको उद्देश्य व्यावसायिक शिक्षामा जोड दिई उत्पादनशील र उपयोगी नागरिक तयार गर्नु हुनेछ ।’ पूर्वव्यावसायिक शिक्षा एक सय पूर्णांकको पठनपाठन हुने गर्थ्यो ।


पूर्वव्यावसायिक विषय विद्यार्थीलाई आत्मनिर्भर हुने, जवाफदेही बनाउने, इमानदार हुने र अरूलाई सहयोग गर्ने बानी बसाल्ने उद्देश्यले पाठ्यक्रममा समावेश गरिएको हो । श्रमप्रति इज्जत र प्रेम जगाउने वास्तविक काम सिक्न, काठका सामान बनाउने, कागजको फाइल, खाम आदि बनाउने, खेतीबाली उत्पादन गर्न सहयोग गर्ने र व्यवसायउन्मुख समाजका लागि उपयोगी बनाउने उद्देश्यले विकास गरिएको थियो ।

प्रकाशित : आश्विन ८, २०७६ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?