कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

नागढुंगा सुरुङमार्ग ४२ महिनामा 

विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्नेखाला सुरुङमार्ग ४२ महिनाभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ । सडक विभागको वैदेशिक समन्वय महाशाखामा सोमबार जापानी कम्पनी हाज्मा/एन्डो जेभीसँग सम्झौता भएको हो । 

नागढुंगा सुरुङमार्ग ४२ महिनामा 

कम्पनीका प्रतिनिधि कियोसी हिरोसे र महाशाखाका प्रमुख अर्जुनजंग थापाले सम्झौतामा हस्ताक्षर गरेका छन् । निर्माणको काम भने तिहारपछि मात्र सुरु हुनेछ । ‘लामो प्रयासपछि ठेक्का सम्झौता गर्न सफल भएका छौं,’ महाशाखा प्रमुख थापाले भने, ‘काम तिहारपछि सुरु हुनेछ, शिलान्यास दसैंअघि गर्ने तयारीमा छौं ।’


२.६ किमि सुरुङमार्ग बनेपछि नागढुंगा–सिस्नेखोलाको दूरी सवा ३ किमिमा झर्नेछ । अहिले यो दूरी साढे ८ किमि छ । नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार अहिले काठमाडौंबाट जाँदा समस्या हुँदैन, बढी भार बोकेका गाडीका कारण आउँदा बढी जाम हुने गरेको छ ।


‘काठमाडौंमा यात्रुदेखि दैनिक उपभोग्य वस्तु भित्रिने नाका यही हो’, उनले भने, ‘लोड बढी भएका साधन आउँदा उकालोमा बिग्रनासाथ जाम हुन्छ ।’ सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिँदा १५/२० मिनेट र भित्रिँदा एक घण्टाभन्दा बढी समय बचत हुने उनले जानकारी दिए । ‘बढी जाम हुने ठाउँ भएकाले साढे दुई वर्षदेखि सुरुङ निर्माणका लागि प्रक्रिया तीव्र पारिएको थियो,’ उनले भने, ‘सबै साधन सुरुङमार्ग हुँदै आउने छन्, पेट्रोलियम पदार्थ बोकेका साधन मात्र अहिलेकै सडकबाट राजधानी आउने छन् ।’


गुर्जुधाराबाट पश्चिमतर्फ ६ सय मिटरको आकाशे पुल (फ्लाइओभर) बनाइने र त्यसलाई उत्तरतर्फ मोडेर इन्टरसेक्सन निर्माण गरिने खरेलले बताए । यसो गर्दा सबैतिरबाट आएका गाडी सिधै वारपार गर्न पाउनेछन् । उनका अनुसार त्यहाँबाट सुरुङमार्गको मुखसम्म पुग्ने गरी साढे २ किमि सडक बनाइनेछ । सिस्नेमा सुरुङबाट निस्किँदा ५ सय मिटर नयाँ सडक बनाइनेछ, त्यो त्रिभुवन राजपथसँग जोडिनेछ । महाशाखा प्रमुख थापाका अनुसार सुरुङमार्ग निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग रहनेछ । ‘ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ, जसको ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत छ,’ प्रमुख थापाले भने, ‘ऋण भुक्तानीमा १० वर्षको ग्रेस पिरियड दिइएको छ ।’ कम्पनीले विदेशबाटै मेसिन ल्याएर काम सुरु गर्नेछ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब नेपाल सरकारको लगानी छ ।


मुआब्जा वितरण र परामर्श सेवा यसैमा जोडिनेछ । ६ वटा कम्पनीले टेन्डरमा सहभागिता जनाएका थिए । जसमा ५ वटा चिनियाँ कम्पनी थिए । ‘हाज्माले लिएका ठेक्का प्रायः समयमै सकिएको र राम्रो बनेको पाइएको छ,’ उनले भने, ‘बीपी राजमार्ग, उदयपुर सिमेन्ट कारखाना, कुलेखानी २, काठमाडौं–भक्तपुर सडक पनि यही कम्पनीले बनाएको हो, राम्रै कम्पनी भएर सुरुङमार्गको ठेक्कामा पनि छनोट भएको छ ।’ ठेक्का सम्झौता भए पनि धादिङतर्फ मुआब्जा वितरण भएको छैन । धादिङतर्फ सुरुङमार्ग निर्माणका लागि १ सय ९ रोपनी जग्गा प्रयोग हुनेछ । त्यसमध्ये ४४ रोपनी स्थानीयको छ । ४४ मध्ये करिब २६ रोपनी जग्गा श्री ५ को वायु गुठीको छ ।


‘काठमाडौंतिर मुआब्जा वितरणमा समस्या छैन, लिन आएकाजति सबैलाई वितरण गरिसकिएको छ,’ आयोजना प्रमुख खरेलले भने, ‘धादिङतर्फ वितरणका लागि निर्णय भए पनि अहिलेसम्म वितरण हुन सकेको छैन ।’ केहीले मुआब्जाका लागि निवेदनसमेत दिइसकेका छन् । ‘तिहारपछि काम सुरु हुन्छ, त्यसअघि सबै समस्या समाधान गर्नुपर्छ,’ उनले भने, ‘बाँड्न समय लाग्दैन, गुठी र लालपुर्जाविहीनको मात्र समस्या भएको हो । यो कुरा मन्त्रिपरिषद्बाट टुंग्याउन जरुरी छ ।’ धादिङतिर मुआब्जा वितरणका लागि ८० करोड भए पुग्ने उनले बताए । सामान्यतया गुठीको जग्गामा मोहीले एक तिहाइ पाउँछ । ‘हामीले शतप्रतिशत मुआब्जा दिनका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउन भनेका छौं,’ उनले भने । गुठी विधेयक पारित भएको भए मोहीले ५० प्रतिशत मात्र मुआब्जा पाउने थिए । गुठीको नाममा भएको जग्गा सरकारको नाममा ल्याएर मुआब्जा दिनुपर्ने हुन्छ ।


उनका अनुसार सरकारले आफ्नै हिसाबले गुठी संस्थानलाई आवश्यकताअनुसार क्षतिपूर्ति दिनुपर्ने हुन्छ । धादिङतर्फ एक वर्षअघि नै मुआब्जा वितरण गर्नेबारे सूचना प्रकाशित भएको थियो । गत वर्ष निर्धारण गरिएअनुसार मुआब्जा वितरण गरिनेछ । प्रमुख खरेलका अनुसार प्रतिआना ७ देखि ९ लाख निर्धारण गरिएको छ ।


काठमाडौंमा मात्र ४ अर्ब २० करोड मुआब्जा वितरण भइसकेको छ । जहाँ २ सय ८६ देखि ३ सय रोपनीसम्म जग्गा सुरुङमार्गमा पर्छ । धादिङतर्फ त्रिभुवन राजपथको जग्गा बढी पर्छ । असारमै सम्झौता गर्ने भनिए पनि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को टोकियोमा सहमतिका लागि पठाएको पत्रको जवाफ आउन ढिलाइ भएकाले तोकिएकै समयमा ठेक्का सम्झौता हुन नसकेको हो । सबैभन्दा बढी जाम हुने नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण भएपछि यात्रुले छुटकारा पाउनेछन् ।


प्रकाशित : आश्विन ७, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?