कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रम रोजगार बैंक : युवालाई गाउँमै भ्याइनभ्याइ

तीन महिनामा १ लाख १० हजार रूपैयाँसम्म कमाइ, चैतदेखि असारसम्म ३ करोड भुक्तानी, चालु आर्थिक वर्षमा ९ करोड विनियोजन
तुलाराम पाण्डे

(कालीकोट) — कपुर महतारा रोजगारीका लागि मलेसिया गए । तीनवर्षे सम्झौता सकिएपछि दोहोर्‍याएर जाने मन गरेनन् । किन त ? ‘विदेशमा दुःख धेरै, पैसा थोरै,’ उनले भने । अर्को कारण पनि छ, गाउँमै रोजगारी । रास्कोट नगरपालिकाद्वारा सञ्चालित श्रम रोजगार बैंकमा आबद्ध उनी महिनामा ३० देखि ४० हजार रुपैयाँसम्म कमाउँछन् ।

श्रम रोजगार बैंक : युवालाई गाउँमै भ्याइनभ्याइ

‘बिहान–बेलुकी घरपरिवारसँग बसेर काम गर्न पाइएको छ, कमाइ पनि राम्रै छ,’ रास्कोट–७, फुकोटका महताराले भने ।


रास्कोट नगरपालिकाले गत फागुनमा घोषणा गरेको श्रम रोजगार बैंकमा महतारा जस्ता २ सय ६० जना युवा छन् । जसमा महिला ८० जना छन् । दलित समुदायका युवायुवतीको संख्या १ सय छ । २०–२० जनाको समूह बनाएर उनीहरूलाई चैतदेखि नगरपालिकाले सञ्चालन गरेका विभिन्न योजनामा परिचालन गरिएको छ । बेरोजगार युवालाई विकास निर्माण र उत्पादनसँग जोड्न बैंकमा ३ हजार सदस्य पुर्‍याएर रोजगार दिने नगरपालिकाको लक्ष्य छ ।


व्यवस्थापकका रूपमा २० जना युवा परिचालन गरिरहेका महतारा एक युवाले तीन महिनामा १ लाख १० हजार रुपैयाँ कमाउने गरेको बताउँछन् । ‘हाम्रो टोलीमा वैदेशिक रोजगारमा गएर फर्किएका नै ६ जना छौं,’ उनले भने । रास्कोट–४ की २५ वर्षीया मनीषा सुनारले ५९ दिन काम गरेर ४० हजार रुपैयाँ कमाएको सुनाइन् । ‘त्यही पैसाले काठमाडौं पुगेर मेरो र छोरीको उपचार गराएँ,’ उनले सुनाइन्, ‘ढुंगा बोकेरै भए पनि राम्रो कमाइ हुँदोरहेछ । कमाएपछि घरका मान्छेले पनि हेला नगर्ने रहेछन् ।’


१२ कक्षा पास गरेकी रास्कोट–२, सिम्खानाकी सुमित्रा सिंखडाले सडक निर्माणमा काम गरेर ५६ हजार कमाइन् । त्यही पैसाबाट सुर्खेतमा कम्प्युटर सिकिरहेकी छन् । ‘मेरो इच्छा जागिर खाने हो । त्यही भएर श्रम बैंकमार्फत कमाएको पैसाले कम्प्युटर सिकिरहेकी छु ।’ गत वैशाखमा पहिरोले रास्कोट–८ का दले विकको घर भत्किएपछि श्रम रोजगार बैंकका सदस्यले १५ दिनभित्रै नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेका थिए । ‘बल्ल गाउँमा गरिबको सरकार आएको महसुस भयो,’ विकले भने, ‘घर बनेपछि अर्काको गोठबाट आफ्नै घरमा सरेका छौं ।’


रोजगार बैंकमा नगरका ९ वटै वडाका निरक्षरदेखि १२ कक्षा पास गरेका युवायुवतीलाई समेटिएको छ । कोही रोजगार नभएको तथा अति गरिब, द्वन्द्वपीडित, युवा घरमूली भएको, दलित परिवारलाई प्राथमिकता दिएर बैंकको सदस्य छान्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए । उनका अनुसार सदस्यहरूलाई सडक, भवनलगायतका भौतिक पूर्वाधार निर्माण, विपद् व्यवस्थापन तथा उद्धार, सामाजिक सुरक्षा र सामाजिक अभियानका क्षेत्रमा परिचालन गरिन्छ । उनीहरूले दिनमा प्रायः ७ घण्टा काम गर्नुपर्छ । नगरले सदस्यहरूका लागि १० लाख रुपैयाँको बिमा पनि गरिदिएको छ ।


नगर प्रमुख काशीचन्द्र बरालका अनुसार नगरपालिकाले गत आर्थिक वर्षमा श्रम रोजगार बैंक स्थापना तथा सञ्चालनका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । केही थप योजनामा पनि काम गराइएकाले ३ करोड रकम युवाले पाएका छन् । उनीहरूले चैतदेखि असार पहिलो सातासम्म नगरपालिका र कर्णाली प्रदेश सरकारले बजेट विनियोजन गरेका पाँचवटा सडक आयोजनामा काम गरेका थिए । चालु आर्थिक वर्षमा नगरपालिकाले पूर्वाधार विकासमा ९ करोड बजेट विनियोजन गरेको छ ।


‘यो बजेटको अधिकांश काम श्रम रोजगार बैंककै सदस्यले गर्नेछन्,’ नगरका प्रमुख प्रशासकीय अधिकृत बमले भने । चालु आर्थिक वर्षका लागि योजना छनोट भइरहेको र यही महिनाभित्र काम सुरु हुने पनि उनले जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमका अनुसार रोजगार बैंकमा उनीहरूले चैतदेखि असार पहिलो सातासम्म नगरपालिका र कर्णाली प्रदेश सरकारले बजेट विनियोजन गरेका पाँचवटा सडक आयोजनामा काम गरेका थिए ।


नगर प्रमुख बरालले रास्कोटको सिको गरेर अरू ४५ वटा स्थानीय तहले श्रम रोजगार बैंक स्थापनाको तयारी गरेको बताए । ‘श्रम तथा रोजगार मन्त्रालयको टोली पनि अध्ययनका लागि रास्कोट आउन लागेको छ,’ उनले भने । उनले बैंकमा रहेका युवालाई मागअनुसार बाहिर पठाउने नीति भए पनि नगरमै काम पर्याप्त भएको बताए । कर्णालीको १० जिल्लामा उच्च प्रविधियुक्त नर्सरी निर्माणका लागि काठमाडौंको नाम्सेट कम्पनीसँग ४० कामदार पठाउने सम्झौता भने भएको उनले सुनाए ।


पलाँतामा निर्माण कार्यदल

युवा पलायन रोक्न पलाँता गाउँपालिकाले दुई वर्षअघि गठन गरेको पलाँता निर्माण कार्यदल सक्रिय छ । सुरुमा मासिक २४ हजार तलब दिने गरी गठन गरिएको कार्यदलका सदस्यलाई पछि गाउँपालिकाले कार्यविधि बनाउँदै कामका आधारमा ज्याला निर्धारण गरेर परिचालन गरिरहेको छ । ‘कामको खोजीमा सके खाडी नसके कालापहाड पुग्ने युवालाई गाउँमै रोक्न कार्यदल निर्माण गरेर परिचालन गरेका छौं,’ गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले भने ।


कार्यदलमा सुरुमा प्रत्येक वडाबाट १०/१० जनाका दरले ९० जना र १० जना गाउँपालिका अध्यक्षले छनोट गरेका गरी १ सय युवा थिए । अहिले यो संख्या १ सय ५० पुर्‍याइएको छ । गाउँपालिकाले करिब ३ करोड बजेट कार्यदलमार्फत खर्च गरेको जनाएको छ । आफ्नै गाउँमा बसेर निर्माणको काम गर्दा गत वर्ष २ लाख १८ हजार रुपैयाँ कमाएको पलाँता–९ की सुलछिना बमले बताइन् । ‘ज्यालामजदुरीका लागि भारत जाँदा ठगिने, सिमानामा लुटिने समस्या हुन्थ्यो,’ उनले भनिन्, ‘घरको मीठोमसिनो खाएर काम गर्दा पनि राम्रै कमाइ भयो ।’


महिनामा २४ दिन निर्माणमा खटिने युवा ३ दिन सामाजिक काम (स्थानीयलाई सघाउने, विकृति विसंगतिविरुद्ध अभियानमा सहभागी हुने) र ३ दिन सरसफाइमा संलग्न हुने गर्छन् । उनीहरूले सामाजिक लगानी कोषमा मासिक २ हजार र व्यक्तिगत मुद्दती खातामा मासिक २ हजार रुपैयाँ जम्मा गर्छन् । गाउँपालिकाले १५ जनाको दरले समूह विभाजन गरेर खानेपानी, सडक, विद्यालय भवन निर्माणजस्ता काममा युवालाई खटाएको छ ।


तत्कालीन जिल्ला विकास समितिले २०७१ मा गरेको घरधुरी सर्वेक्षणअनुसार जिल्लाका २३ हजार घरधुरीमध्ये १२ हजार घरधुरी अति गरिबको सूचीमा छन् । त्यही सर्वेक्षणले १ लाख ३६ हजार जनसंख्या रहेको कालीकोटका ९ प्रतिशत व्यक्तिमात्र सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगार रहेको देखाएको छ । स्थानीय तहले थालेको रोजगारीमूलक कार्यक्रमबाट गाउँमा राम्रो प्रभाव परेको स्थानीय बताउँछन् ।


वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा पनि कमी आएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीमा जान २ हजार ६ सय ५५ जनाले राहदानी बनाएकामा गत आर्थिक वर्षमा यो संख्या ९ सय ७३ मा झरेको छ । पलाँताका युवा पूर्णसिंह बमले गाउँपालिकाले युवालाई लक्षित गरी रोजगारीका कार्यक्रम ल्याएपछि गाउँको विकाससमेत भएको बताए । ‘निर्माणमा पूर्णकालीन युवादस्ता लाग्दा काम छिटो र राम्रो हुने गरेको छ,’ उनले भने, ‘गाउँपालिकाले यो कार्यदललाई अझ विस्तार गर्नुपर्छ ।’


प्रकाशित : आश्विन ६, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?