कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यार्चा बेचेर मोटरसाइकल

घोडा र याकको भर पर्नुपर्ने बस्तीमा हिजोआज टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गीत घन्काउँदै । 
अब्दुल्लाह मियाँ

(धो ताराप, माथिल्लो डोल्पा) — तिब्बतसँग जोडिएका गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडाका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गीत घन्काउँदै । 

यार्चा बेचेर मोटरसाइकल

डोल्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइकल कुद्न थालेका छन् । सदरमुकाम दुनै सडकले जोडिएको एक वर्ष मात्रै भएको छ । तर यो दुर्गम गाउँमा तीन सयभन्दा बढी मोटरसाइकल स्थानीय बासिन्दाको भर–अभरको साथी बनेका छन् । बुद्धडोल्पो दुनैबाट तीन दिन पैदल दूरीमा छ । यहाँका ६ वटै वडामा मोटरसाइकल चलिरहेका छन् । यही गाउँपालिकाको धो ताराप नेपालकै सबैभन्दा अग्लो स्थानको मानव बस्ती हो । यहाँ चल्ने मोटरसाइकल १ लाख ३० हजारदेखि ३ लाख रुपैयाँसम्मका छन् । तीन सय सीसीसम्मका मोटरसाइकल चलाउन पेट्रोल भने मुस्ताङ र दुनैबाट ल्याइन्छ । एक लिटर पेट्रोलको २ सयदेखि ३ सय रुपैयाँसम्म पर्छ । सीमावर्ती नाका मरिम लाबाट धो तारापसम्म एक दिनमै मोटरसाइकलमा आउजाउ गर्न सकिन्छ । घोडा र याकबाट सामान ओसार्दा भने दुईदेखि तीन दिन लाग्छ । स्थानीयले वर्षौंदेखि मरिम लाबाट सामान आयात गर्दै आए पनि कानुनी रूपमा सीमा खुला भएको छैन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल डोल्पो महोत्सव उद्घाटन गर्न गत साता धो ताराप आएका बेला स्थानीयले उक्त नाका खुला गर्न माग गरेका थिए ।


वडा ३, ताक्सीका पाल्जाङ गुरुङका अनुसार सबै मोटरसाइकल सीमावर्ती क्षेत्र मरिम लाबाट ल्याइएका हुन् । त्यहाँ वर्षमा एकपटक बजार लाग्छ । स्थानीयवासीले यार्चागुम्बु टिपिसकेपछि २० दिनका लागि चिनियाँले सीमामा बजार खुला गर्छन् । ‘त्यतिबेला यार्चा बेचेको पैसाले हामी आफूलाई आवश्यक सामान खरिद गर्छौं,’ पाल्जाङले भने, ‘मोटरसाइकल पनि त्यतिबेलै किन्ने हो ।’ ताक्सीका मिङ्मार लामाले यार्चा बिक्री गरेको पैसाबाटै मोटरसाइकल किनेको बताए । ‘पहिले यार्चा बेचेको पैसाले खाद्यान्न र कपडा मात्रै किन्थ्यौं,’ उनले भने, ‘अहिले खाद्यान्नसहित मोटरसाइकल किन्ने धेरै छन् ।’ यहाँ गुड्ने कुनै मोटरसाइकलको नम्बर छैन न त चालकसँग लाइसेन्स । मोटरसाइकल चलाउने अधिकांश युवा छन् । सबैजसो मोटरसाइकलमा ८ देखि १० हजार रुपैयाँका अलग्गै स्पिकर जडान गरिएको छ । पहिले घोडा चढेर आउजाउ गर्नेहरू अहिले स्पिकरमा तिब्बती गीत घन्काउँदै मोटरसाइकल हुइँक्याइरहेका छन् ।

अधिकांशले मोटरसाइकल किनेपछि चलाउन सिकेका हुन् । ‘यत्तिकै चलाउँदा चलाउँदै सिकियो,’ स्थानीय कर्मा गुरुङले भने, ‘पछाडि दुई जना राखेर पनि कुदाउन सक्छु, सामान ओसारपसार गर्न पनि सजिलो भएको छ ।’


सामान्य बिग्रेको मोटरसाइकल बनाउन पनि स्थानीयले सिकेका छन् । इन्जिन नै खराब भएमा चाहिँ यत्तिकै थन्क्याउने गरिएको छ । मोटरसाइकल धेरै भएकाले केही युवा अब ग्यारेज चलाउने सुरसार पनि गरिरहेका छन् ।

स्थानीयले बुद्धडोल्पो नगरपालिकाभित्रका बस्तीबाहेक अर्को गाउँपालिकाका गाउँसम्म पनि मोटरसाइकलमै मान्छे ओसारपसार गर्ने गरेका छन् । दुनैबाट धो ताराप उक्लिने सर्वसाधारण र पदयात्रामा आएका पर्यटकलाई स्थानीय युवाले सिस्योल र कलाङ खोलादेखि धो बस्तीसम्म भाडा लिएर ओसार्ने पनि गरेका छन् ।


डोल्पोबुद्ध गाउँपालिका २ का वडाध्यक्ष छोक्याप भोटेले भने, ‘तलबाट थाकेर आएकाहरूले एक–दुई घण्टा भए पनि मोटरसाइकलको सेवा लिन पाउँदा खुसी हुन्छन् ।’ मुस्ताङसँग जोडिएको छार्का तेंग्सोक र शे फोक्सुन्डो गाउँपालिकाका गाउँहरूमा पनि धो तारापबाट मोटरसाइकलमा आउजाउ गरिन्छ । स्थानीयले शे–फोक्सुन्डो गाउँपालिकाको सीमामा रहेको चिनियाँ नाका क्याटोबाट पनि स्थानीयले मोटरसाइकललगायत सामग्री आयात गर्छन् ।

डोल्पोबुद्ध गाउँपालिका १ का वडा अध्यक्ष ग्याल्बो थापा भोटेका अनुसार तीन–चार वर्षयता मोटरसाइकल चढ्नेहरूको संख्या बढेको हो । उनले भने, ‘अहिले घोडाभन्दा बढी मोटरसाइकल बढी प्रयोग हुन थालेको छ ।’ गाउँपालिका प्रमुखदेखि सबैजसो वडाध्यक्ष र स्थानीय युवा मोटरसाइकलमै गाउँ–टोल ओहोरदोहोर गर्छन् । घरको काम, बच्चालाई विद्यालय पुर्‍याउनदेखि गोठमा घाँस ओसारपसार गर्नसमेत अचेल मोटरसाइकल प्रयोग हुन थालेको छ । पालिकाका अध्यक्ष तेम्बा ग्याल्जेन गुरुङका अनुसार पालिकाको सिस्योलखोलादेखि चीनको सीमा मरिम लासम्मै मोटरसाइकलमा आउजाउ गर्न सकिन्छ । माथिल्लो डोल्पामा डोल्पो बुद्धसहित शे–फोक्सुन्डो र छार्का तेंगसोक गरी तीनवटा गाउँपालिका पर्छन् । ती तीनवटै गाउँपालिकाको मध्य भागमा धो तराप पर्छ ।


यो गाउँपालिकाको धो तराप समथर उपत्यकाजस्तै छ । समथर भागमा सडक नखनिए पनि घोडा दौडने बाटोमै स्थानीयले सहजै मोटरसाइकल कुदाइरहेका छन् । बस्ती रहेका सबै गाउँसम्म स्थानीयहरू मोटरसाइकलमै ओहोरदोहोर गर्छन् । डोल्पाका प्रतिनिधिसभा सांसदसमेत रहेका पर्यटनराज्यमन्त्री धनबहादुर बुढाको पहलकदमीमा अहिले नाकादेखि तलसम्मको बस्तीमा बाटो खन्ने काम चलिरहेको छ । त्यसका लागि रसुवागढी नाकाबाट तिब्बत हुँदै डोल्पासँग जोडिएको मरिम ला नाकाबाट दुइटा डोजर माथिल्लो डोल्पामा भित्र्याइएको छ । दुई डोजरले बुद्धडोल्पो गाउँपालिकको तिन्जे हुँदै ३ नम्बर वडाको ताक्सीसम्म बाटो फराकिलो बनाउँदै आएको छ । डोजरले बाटो खनेर फराकिलो पारेपछि स्थानीयलाई मोटरसाइकल चलाउन सहज भएको छ । राज्यमन्त्री बुढाले मरिम ला नाकालाई कानुनी रूपमा खुला गर्न सकिए स्थानीयलाई सहज हुने भएकाले त्यसको पहलकदमी भइरहेको बताए ।

प्रकाशित : आश्विन ४, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?