कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४१ विमानस्थल घाटामा, काठमाडौंसहित नाफामा ८ वटामात्रै

सुरज कुँवर

काठमाडौँ — हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्धेश्यले देशभर डेढ खर्ब हाराहारी लगानी गरेर स्थापना गरेको उड्डयन क्षेत्र अन्तर्गतका ४९ वटा विमानस्थलमध्ये ४१ वटा घाटामा संचालन भइरहेका छन् । जसमध्ये १६ वटा विमानस्थल यात्रु र जहाजको अभावमा बन्द छन् भने नाफामा ८ वटामात्रै देखिएका छन् ।

४१ विमानस्थल घाटामा, काठमाडौंसहित नाफामा ८ वटामात्रै

नागरिक उड्डयन प्राधिकरणका अनुसार, हालै सम्पन्न आर्थिक वर्ष ०७५/७६ मा ८ वटा विमानस्थलमात्रै नाफामा देखिए । ‘विमानस्थलको आम्दानी र प्राधिकरणले व्यहोर्ने संचालन खर्चका आधारमा गत वर्ष ४१ वटा विमानस्थल घाटामा गए’ प्राधिकरणको अर्थ विभाग निर्देशक गोविन्द दाहालले कान्तिपुरसँग भने, ‘संचालन खर्च तथा आम्दानीका आधारलाई मात्रै मापदण्ड बनाउदा ८ वटा विमानस्थलमात्रै नाफा आर्जन गरे ।’


प्राधिकरणका अध्यक्ष रहेका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले भदौं १९ गते स्विृकत गरेको ०७६/७७ को नीति, बजेट तथा कार्यक्रम अनुसार, नाफामा रहेका विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछी तराईमा रहेका भैरहवा, नेपालगंज, बिराटनगर, सिमरा, भरतपुर, र धनगढी विमानस्थल छन । त्यस्तै अत्याधिक पर्यटक चल्ने पोखरा, लुक्ला, जोमसोम र सिमिकोट पनि नाफामा देखिए ।


गत वर्ष सर्वाधिक आम्दानी गर्नेमा काठमाडौं विमानस्थल परेको छ । यसले ८ अर्ब ११ करोड आम्दानी गरेको थियो । काठमाडौंपछी पोखरा विमानस्थलले ९ करोड ३९ लाख, विराटनगरले ८ करोड ८० लाख, भैरहवा विमानस्थलले ७ करोड ६७ लाख, नेपालगंजले ७ करोड ५७ लाख, धनगढीले २ करोड ७६ लाख, भरतपुरले २ करोड ३० लाख, लुक्लाले २ करोड, सिमराले १ करोड ८३ लाख र सिमिकोट विमानस्थलले १ करोड ३१ लाख रुपैया आम्दानी गरेका थिए ।


विमानस्थलहरुको मुख्य आयस्रोतमा जहाज उडानमा उपलब्ध गराउने संचार तथा उड्डयन सहायक सेवा, अवतरण, पार्किङ, भूमिस्थ प्रवन्ध, गृह आश्रृय लगायतका कम्तीमा पनि दुई दर्जन हाराहारी सेवाबाट शुल्क, भाडा, दस्तुर रोयल्टीलगायत पर्छन् ।


हाल बन्द रहेका विमानस्थलमा दार्चुला, बैतडी, बझाङ, ढोरपाटन, डोटी, जिरी, कांगेलडाँडा, लाङटाङ, महेन्द्रनगर, मनाङ, मसिनेचौर (डोल्पा), पालुङ, रोल्पा, मेघौली, स्याङबोचे र टिकापुर विमानस्थल छन् । प्राधिकरणले हाल ६ वटा आन्तरिक विमानस्थल (अर्घाखाची, गुल्मी, इलाम, कालिकोट, कमलबजार र खिजिचण्डेश्वरी) तथा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमध्ये पोखरा र गौतमबुद्ध–भैरहवा) निर्माण भइरहेका छन् भने निजगढ निर्माण हुने प्रक्रियामा छ ।


संचालनमा रहेका ४९ मध्ये ३२ वटा कालोपत्रे धावनमार्ग भएका विमानस्थल हुन । चालीस वर्षपछि बैतडी, बझाङ, डोल्पा मसिनेचौर, डोटी, कालिकोट र लामीडाडा विमास्थल कालोपत्रे हुदैछन् । हाल चालु अवस्थामा रहेका ४९ मध्ये ४१ वटा विमानस्थलमा रात्री उडान सुविधा छैन । रात्री उडान गर्न सकिनेमा काठमाडौंबाहेक बिराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध भैरहवा, नेपालगंज र सिमरामा मात्रै हुन ।


प्राधिकरणले एक वर्षअघि परामर्शदातामार्फत गराएको सम्पत्ती मूल्यांकन प्रतिवेदन अनुसार, देशभरका सबै विमानस्थल, पुर्वाधार, भवन, धावनमार्ग लगायतमा सरकारको लगानी कम्तीमा १ खर्ब ३७ अर्ब ६४ करोड रुपैया सम्पत्ति पुगेको छ । यी सबै विमानस्थलको तालुक निकाय प्राधिकरणको माषिक आम्दानी ६० करोड हाराहारी रहेको छ ।


प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालका अनुसार, चालु वर्ष प्राधिकरणले ४६ अर्ब ९६ करोड रुपैया बराबरको बजेट ल्याएको छ । जसमा ८ अर्ब ३३ करोड रुपैया बराबरको एरोनटीकल र ननएरोनटीकल आय प्रक्षेपित गरेको छ ।


गत वर्ष प्राधिकरणले ७ अर्ब १५ करोड आम्दानी गरेको थियो । प्राधिकरणको कुल बजेट ४६ अर्बमा २९ अर्ब प्राधिकरणको स्रोत रहेको छ भने बाँकी १७ अर्ब नेपाल सरकारले उपलब्ध गराउने शेयर, ऋण र अनुदानको हिस्सा रहेको छ ।

प्रकाशित : आश्विन ३, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?