जानकी मन्दिरमा बमको हल्ला

सन्तोष सिंह

धनुषा — जानकी मन्दिरमा सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएको छ । मन्दिरमा बम राखिएको सूचनापछि प्रवेशमा रोक लगाइएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।


शुक्रबार दिउँसो मन्दिरमा विस्फोटक पदार्थ रहेको सूचना प्रहरीलाई प्राप्त भएपछि मन्दिर पव्रवेशमा रोक लगाइएको हो, खनालले भने,‘सूचना लगतै मन्दिर परिसर नियन्त्रणमा लिएर चेक जाच गरिएको छ।’ प्रहरीले विस्फोटक पदार्थ पता लगाउन कुकुर समेत परिचालन गरेको थियो। करिब २ घण्टासम्म मन्दिर प्रवेशमा रोक लगाइएको खनालले बताए।

मन्दिरमा बम राखिएको बारे प्रहरीलाई फोन मार्फत सूचना आएको थियो। मन्दिर प्रवेशमा रोक लगाएर विस्फोटक पदार्थको खोजी भइरहँदा बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी खटिएका थिए।

मन्दिरमा बम राखिएको अपवाहले आसपासका व्यवसायी र स्थानीय त्रसित भएका छन्। पर्यटकको भिडभाड रहने जानकी मन्दिरमा बम राखिएको विषयलाई प्रहरीले गम्भिरताका साथ लिएर निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित : आश्विन ३, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्

आर्थिक सशक्तिकरणमा जोड 

विद्या राई

काठमाडौँ — महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले दूरदराजका महिलाको आर्थिक सशक्तिकरणलाई जोड दिएको छ । सानो लगानीमा गाउँमै रोजगारको सिर्जना गरी महिलाहरुलाई आत्मनिर्भर बनाउन राष्ट्रपति महिला उत्थान कार्यक्रम ल्याएको हो ।



मानव विकास सूचकांकमा पछाडी परेका सातै प्रदेशका ३० जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ। मन्त्रालयको यस कार्यक्रमबाट गतवर्ष १ हजार ९ सय २० महिला प्रत्यक्ष लाभान्वित भएका छन्।

मन्त्रालयले आर्थिक तथा सामाजिक रुपले पछाडी पारिएका गरिब तथा सीमान्तकृत महिलाहरूको उत्थान र सशक्तिकरण गर्न ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यविधि, २०७५’ लागू गरेको छ। ‘सानो—सानो सहयोगबाटै पनि महिलाहरुलाई आफ्नो खुट्टामा उभिनसक्ने, आर्थिक रुपमा सक्षम बनाउन सकिन्छ भनेर यो कार्यक्रम लागु गरेका हौ,’ उत्थान कार्यक्रमकी प्रमुख अञ्जु ढुंगानाले बताइन्।

छनौटमा परेका जिल्लाका ३ संस्थाका ३० महिलाहरु छनौट गरी सीप तथा व्यावसायिकता विकास तालिम दिइएको छ। उनीहरुलाई व्यवसाय स्थापना गर्न प्रतिव्यक्ति १७ हजारका दरले खर्च अनुदान उपलब्ध गराइन्छ। यसवर्ष देशभरका ९० संस्थाका २ हजार ७ सय महिलाहरुको आर्थिक सशक्तिकरण गर्ने लक्ष्य राखिएको ढुंगानाले बताइन्।

महिलाहरुलाई मूल प्रवाहीकरणमा ल्याउन उद्यमशीलताको माध्यमबाट आर्थिक, सामाजिक रुपान्तरण आवश्यक रहेकोले उद्यमी कार्यक्रम लागु गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा बताउँछिन्। ‘संघीय गणतन्त्र सहितको संविधानले संघ र प्रदेश सरकारमा ३१ प्रतिशत र स्थानीय तहमा झण्डै ४१ प्रतिशत महिलालाई नीति निर्माण तहमा सहभागी गराएको छ’, उनी भन्छिन्, ‘तर, राजनीतिक सहभागिताले मात्रै पुग्दैन, महिलाको सामाजिक र आर्थिक सहभागिता र पहुँच अति आवश्यक छ।’



मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमले महिलाहरुको आर्थिक सशक्तीकरण/जीविकोर्पाजन सुधार, कुरीति विरुद्ध सामाजिक अभियान र गर्भवती तथा सुत्केरीको उद्धार कार्यक्रम गर्दै आएको छ।

प्रकाशित : आश्विन ३, २०७६ १४:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्