कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वलडाकु अधिकारी सहायक रथीमा बढुवा

काठमाडौँ — सरकारले तत्कालीन माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई महासेनानी (कर्णेल) पदमा कार्यरत यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गरेको छ । अधिकारीलाई तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएकामध्ये सबभन्दा माथिल्लो दर्जामा पुग्ने सौभाग्य मिलेको हो ।

पूर्वलडाकु अधिकारी सहायक रथीमा बढुवा

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले जंगी अड्डाको सिफारिसमा अधिकारीलाई सहायक रथीमा बढुवा गरेको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनामा विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरिएको जानकारी दिए ।


अधिकारीको सहायक रथीको चारवर्षे पदावधि सकिएपछि विशेष पद स्वतः खारेज हुने जानकारी जंगी अडडा स्रोतले दिएको छ । अधिकारीले सहायक रथी बन्न चाहिने ‘हाइयर कमान्ड कोर्स’ पूरा नगरेका कारण विशेष पद सिर्जना गरेर बढुवा गरिएकोसमेत स्रोतले उल्लेख गरेको छ ।


तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजनका क्रममा उनी नेपाली सेनामा उपसेनानीका रूपमा प्रवेश गरेका थिए । त्यसको केही वर्षमै उनी महासेनानीमा पदोन्नति भए । अधिकारीको बढुवाले मुलुकमा शान्ति प्रक्रिया सफल रहेको सन्देश दिएको दाबीसमेत जंगी अड्डा स्रोतको छ ।

प्रकाशित : आश्विन २, २०७६ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?