कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहीबारदेखि मौसममा सुधार आउने

रासस

काठमाडौँ — भारतको मध्यप्रदेशस्थित  उत्तर-पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । 

बिहीबारदेखि मौसममा सुधार आउने

उक्त प्रणालीको असर बुधबार रातिसम्म कायम रहने र भोलिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।


'बुधबार देशका मध्य र पश्चिमका धेरैजसो स्थान तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ,' उनले भने । देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जानसक्ने, नदीमा पानीको वहाब बढ्न सक्ने र सडक तथा हवाई यातायातमासमेत अवरोध आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन उनले सुझाए ।


सामान्यतया नेपालमा जुन १० मा मनसुन सुरु भएर सेप्टेम्बर २३ मा सकिने गर्छ । यस वर्ष नेपालमा १० दिन ढिलो गरी मनसुन भित्रिएको थियो । हाल देशका अधिकांश भागमा आंशिक तथा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का तथा मध्यम वर्षा भइरहेको छ ।


बिहीबारदेखि मौसममा सुधार हुने भए पनि शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २६.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ४.० मिलिमिटर, सिमरामा १६.० मिलिमिटर, धनगढीमा २५.० मिलिमिटर जुम्लामा १.० मिलिमिटर र दिपालयमा ११.० मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित : आश्विन १, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?