उडान सुरक्षामा कानुन फितलो : ‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’ 

सुरज कुँवर

काठमाडौँ — नेपालगन्ज विमानस्थलमा उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहारको घटना सार्वजनिक भएपछि ‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’ भन्ने चासो धेरैले राखेका छन् । उनीहरूले भदौ पहिलो साता काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टसहित दुई जनालाई सिल्क एयरले जहाजबाट निकालेको घटनालाई पनि सम्झिएका छन् ।

कम्तीमा तीन तहको सुरक्षा घेराभित्र रहने वायुयानभित्र वा बाहिर सुरक्षा अवस्था बिगार्नेहरूका लागि २०१५ सालमा ल्याइएको गैरसैनिक हवाई उडान ऐन आकर्षित हुने गरेको छ । ‘यो ऐन पर्याप्त छैन तर सबैभन्दा धेरै आकर्षित हुने ऐनमा यही छ,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । यो ऐनले उडानमा रहेको जहाजभित्र हुन सक्ने हिंसात्मक गतिविधि, गैरकानुनी कब्जा, अपहरण, जहाज नष्ट आगलागीलगायतका अपराधलाई समेटेको छ । जहाजभित्र कुनै यात्रु वा कर्मचारीलाई दुर्व्यवहार वा मदिरा सेवन गरिएका विषयमा भने पर्याप्त व्याख्या छैन । ‘यो ऐनले धेरै कडा विषय समेटेको छ तर वायुयानभित्रको शान्तिसुरक्षा खलल पुगे के गर्नेबारे पर्याप्त छैन, थप व्यवस्था आवश्यक देखिन्छ,’ हवाई सुरक्षाका जानकारसमेत रहेका महानिर्देशक पोखरेलले भने ।

नागरिक उड्डयन प्राधिकरणका एक अर्का अधिकारीका अनुसार वायुयानभित्र वा बाहिर हुने अपराधमा नेपालमा कानुन अभाव छ । ‘कानुनै नभएको पनि होइन,’ ती अधिकारीले भने, ‘अहिलेसम्म काम चलाउँदै आएका छौं तर त्यो पर्याप्त छैन । विविध कानुन चाहिन्छन् ।’

गैरसैनिक हवाई उडान ऐनले उडानरत वायुयानभित्र कुनै व्यक्तिविरुद्ध हिंसात्मक कामकारबाही भए वा त्यसले वायुयानको सुरक्षामा खतरा उत्पन्न भए हवाई उडान सुरक्षाविरुद्धको अपराध मानेको छ । ऐनले दोषीलाई एकदेखि तीन वर्षसम्म कैद तोकेको छ । त्यस्तै वायुयानमा कुनै व्यक्तिको मृत्यु गराए वा वायुयान नै ध्वस्त गराए सम्पत्ति जफतदेखि जन्मकैद गर्न सकिने व्यवस्था छ । नेपालगन्जको घटनामा मन्त्री भट्टराईमाथि दुर्व्यवहारको घटनामा गैरसैनिक हवाई उडान ऐनअनुसार उजुरी दायर गर्ने तयारी थियो । यस घटनालाई नियालिरहेका एक अधिकारीका अनुसार प्राधिकरणले भिडियोमा देखिएका व्यक्तिको नाम किटान गरेर जाहेरी दिने तयारी गरेको थियो । ‘जहाज उड्नुअघि भएको हूलहुज्जतलाई मुद्दाको आधार बनाइन लागेको थियो तर पर्यटनमन्त्रीले नै हाललाई मुद्दा अघि नबढाउन निर्देशन दिनुभयो,’ ती अधिकारीले कान्तिपुरसँग भने ।

प्राय: वायुयानभित्र हुने घटनामा उजुरी नै नपर्ने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । ‘उडान सुरक्षाविरुद्ध हुने अपराधमा उजुरी गर्ने प्रचलन अत्यधिक न्यून देखिन्छ,’ उनले भने । प्रहरीका अनुसार धेरैजसो घटना सहमति वा सचेत गराएर टुंग्याइने गरेको पाइन्छ । विमानस्थलमा रहेका प्रहरीलाई यस्तो उजुरी लिने अधिकार छैन । उनीहरूले मुद्दा हेर्ने अधिकार प्राप्त नजिकैको नागरिक सुरक्षाको जिम्मेवारी लिएको प्रहरी निकायमा पठाइदिनुपर्छ । जहाजभित्र शान्तिसुरक्षामा खलल भए आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडानमा रहेका एयरलाइन्ससँग मिल्दाजुल्दा सुरक्षा नियम छन् । एनआरएनए अध्यक्ष भट्टलाई मदिरा पिएर प्रवेश गरेको भन्दै कमान्डर पाइलटले विमानबाट निकालेका थिए ।

सिल्क एयरले सिंगापुरको कानुनअनुसार उनलाई निकालेको थियो । आन्तरिक रुटका जहाजमा पनि यस्तै कानुन लाग्छ । तर आन्तरिक उडानमा रहेकाले नेपालकै कानुन आकर्षित गराउँछन् भने अन्तर्राष्ट्रिय उडानमा रहेका विदेशी एयरलाइन्सले काठमाडौंमा छँदा विमानभित्र हुने घटनालाई आफ्नो मुलुकको कानुनअनुसार पनि हेर्छन् ।

‘सामान्य घटना भए धेरैले पहिलोपटक चेतावनी दिएर निष्कासन गर्छन्,’ प्राधिकरणका कानुनसम्बद्ध एक कर्मचारीले भने, ‘गम्भीर प्रकृतिको घटना भए त्यस्ता यात्रुलाई आफ्नो एयरलाइन्समा सधैंभरका लागि उडानमा रोक लगाउँछन् ।’ एनआरएनए अध्यक्षलाई जहाजबाट क्याप्टेनले निकालेपछि उनको टिकटको रकम भने ‘क्यान्सिलेसन चार्ज’ नकाटेरै फिर्ता गरिएको थियो । यसअघि ०७३ साउनमा नेपाल वायुसेवा निगमको दिल्लीबाट काठमाडौंका लागि उडेको जहाजमा पनि यस्तै घटना भएको थियो ।

लखनउका विनय मिश्रले निगमले उपलब्ध गराएको बियरको क्यानको बिर्को खुला भएको विवादमा परिचारिकाको शरीरमै मदिरा पोखिदिएका थिए । प्रहरीले मिश्रलाई काठमाडौंमा अवतरण भएलगत्तै गिरफ्तार गरेको थियो । निगमका एक वरिष्ठ पाइलटका अनुसार परिचारिकाले लिखित जाहेरी दिएपछि मिश्रलाई गौशाला प्रहरीले सार्वजनिक अपराधको अभियोगमा थुनेको थियो । आकाशमा मदिरा फालेर दुर्व्यवहार भएको घटनालाई कुनै कानुनले नसमेटेकाले ती भारतीय नागरिकलाई सार्वजनिक अपराधको अभियोग लगाइएको थियो ।

प्राधिकरणले गम्भीर दुर्घटना हुनुभन्दा अघिका वा दुर्घटना हुन सक्ने सम्भावनालाई सेफ्टी हेजार्ड’ भन्दै ‘क्याबिन सेफ्टी’ मा सूचीकृत गर्छ । सन् २०१८ मा १८ वटा यस्ता घटना भएका थिए । यिनमा कोही पनि कानुनी प्रक्रियामा गएनन् । ‘यस्ता घटना हाम्रो जानकारी र रेकर्डमा रहन्छन् तर कुनै अभियोग दर्ता भएर मुद्दा चलेको थाहा छैन,’ विमानस्थलका एक उच्च अधिकारीले भने, ‘जहाजभित्रको सुरक्षामा खलल पार्ने खालका घटनामा जहाजको पाइलट–इन–कमान्डलाई अधिकार दिइएको हुन्छ । पाइलटले निष्कासन गरे खुरुक्क फर्किनुपर्छ । उनले प्रहरी गुहार्नुपर्ने अवस्था आइपर्‍यो भने त्यसपछि अदालती प्रक्रिया सुरु हुन्छ । तर नेपालमा यस्तो विरलै भएको छ ।’

बुद्ध एयरको नेपालगन्जको उडानमा हूलहुज्जत गर्नेलाई त्यस दिनका कमान्डर पाइलट मनीष बस्नेतले चाहे निष्कासन गर्न सक्थे तर उनले केही गरेनन् । बुद्ध एयरले भने सोमबार प्राधिकरणका महानिर्देशकलाई लेखेको पत्रअनुसार मन्त्री जहाजको अन्तिम सिटमा बसेकामा उत्तेजित समूह त्यहीँ झुम्मिँदा पछाडि ओजन बढेर जहाज ढल्किएको थियो । ‘ढोका बन्द गरिसकेपछि जहाजभित्र भएको घटनाबारे क्याप्टेन बस्नेतले हामीलाई त्यही बेला जानकारी गराएको भए प्रहरी परिचालन गर्थ्यौं तर क्याप्टेनले जहाजबाट टावरलाई कुनै जानकारी गराएनन् । केही मिनेटमै सामसुम भएर जहाज उडेको थियो,’ नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले भने, ‘क्याप्टेन व्यावहारिक बनिदिए ।’

प्रकाशित : आश्विन १, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्

विमानस्थल १ घण्टा बन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभर एक्कासि बढेको मनसुनी गतिविधिका कारण मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टा एकतर्फी जहाज अवतरण बन्द भएको  छ । विमानस्थलको उडान सञ्चालन विभागका अनुसार वर्षाले जहाज अवतरणमा समस्या हुने देखेर दिउँसो डेढ बजेदेखि एक घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय वायुयान अवतरणमा रोक लगाइएको थियो । 

काठमाडौंदेखि ३१ किमिसम्मको जहाज अवतरण ‘एप्रोच रुट’ प्रस्ट नभएपछि अवतरणमा रोक लगाइएको थियो । ‘तर त्योबेला काठमाडौंबाट बाहिर निस्कने उडानलाई भने रोक लगाइएन,’ एक एटीसीले भने, ‘काठमाडौंबाट उड्नेलाई ८ सय मिटर भिजिबिलिटी भए उडान अनुमति दिन सकिन्छ ।’

काठमाडौंमा अवतरण गर्न नसकिने मौसम भएपछि बैंककबाट आउँदै गरेको थाइलायनको बोइङ ७३७ सिमरा पुगेर बंगलादेशको ढाका डाइभर्ट भयो भने ल्हासाबाट आएको एयर चाइनाको एयरबस ३१९ उतै फर्कियो । दिल्लीबाट आएको इन्डिगोको एयरबस ३२० पनि अवतरण गर्न नसकेर लखनउ डाइभर्ट भयो । भिजिबिलिटी कम भएका कारण अवतरण हुनै लागेको कतार एयरवेजको जहाजले बिहान ओभरसुट गर्नुपरेको थियो । ‘भिजिबिलिटी ४ हजार मिटर थियो, कतारको वाइडबडीलाई २८ सय मिटरमै अवतरण गर्न सकिने मौसम थियो तर वर्षाका कारण जहाज ल्यान्ड गर्न नसकेपछि मिस्ड अप्रोच गर्‍यो,’ एक एटीसीले भने । आन्तरिकतर्फ बुद्ध एयरको सिमराबाट आउँदै गरेका दुइटा विमानमध्ये एउटा सिमरा र अर्को भैरहवा डाइभर्ट भए । विराटनगरबाट आएको बुद्धको अर्को एटीआर उतै फर्कियो । धनगढीबाट आउँदै गरेको श्रीको सीआरजे विमान भैरहवा र चन्द्रगढीबाट आएको अर्को विमान विराटनगरमा डाइभर्ट भए । बुद्धले पर्वतीयसहित ११ वटा उडान रद्द गर्‍यो । सोलुखुम्बुका विभिन्न क्षेत्रबाट काठमाडौं आउँदै गरेका ५ वटा हेलिकप्टर मौसमको खराबीले काभ्रेको धुलिखेल, रोशी, पाँचखालमै अवतरण गरिएका थिए ।

प्रकाशित : आश्विन १, २०७६ ०९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्