कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यार्दीले मनाङ पुग्नै सास्ती

आश गुरुङ

म्यार्दी, मनाङ — काठमाडौंको साँखुबाट निर्जल केसीसहित ४ जना मोटरसाइकल चढेर मनाङ घुम्न आए । उनीहरूले अर्खले, च्याम्चेलगायत लमजुङ खण्डको पहिरो जसोतसो कटाए । 

म्यार्दीले मनाङ पुग्नै सास्ती

लमजुङ र मनाङ सिमाना म्यार्दीभीरमा बन्दै गरेको बेलिब्रिजमाथि बोकेरै मोटरसाइकल चढाएको टोली मनाङतर्फ म्यार्दीभीरको पहिरोमा रोकियो । उनीहरू फर्किन बाध्य भए । ‘हामीलाई पहिरो आउनेजाने गर्छ भन्ने थाहा थियो । यति ठूलो पहिरो गएको भने थाहा थिएन,’ उनले भने, ‘बरु हिउँद लागेपछि आए हुने रहेछ । बर्बाद भयो ।’


रामेछाप घर भई धारापानी बस्दै आएका बिलबहादुर तामाङले ठाउँठाउँमा पहिरोले हिँड्न समस्या बनाएको बताए । पहिरोका कारण सामान पुर्‍याउन गाह्रो छ । ‘बाटो सहज छैन । आज खुल्छ, भोलि बन्द हुन्छ । बाटो खुल्यो भनेर सामान बोकेर ल्यायो, ल्याउँदा ल्याउँदै बाटो बन्द भइदिन्छ,’ उनले भने, ‘व्यवसाय चलाउनै मुस्किल भयो ।’ उनले मनाङको धारापानीबाट गोरखा सिमाना लार्केपासतर्फ दैनिक उपभोग्य सामान पुर्‍याउँछन् ।


नासों गाउँपालिका–६ तिल्चेकी पदमकुमारी गुरुङले गाउँमा खाने चामलदेखि नुनतेल सकिएको बताइन् । ‘बाटोमा पहिरो आएको छ । ढुंगा झर्ने गरेको छ । निकै डर छ,’ उनले भनिन्, ‘बाटोमा हिँड्नै जोखिम छ । ज्यानको बाजी राखेर हिँड्नुपरेको छ ।’ सवारी चालक दीपक खड्काका अनुसार पहिरोका कारण मनाङतर्फ सवारी साधन रोकिएका छन् । बेंसीसहरतर्फ आउन सकेका छैनन् ।


बेंसीसहरबाट म्यार्दी खोलाछेउसम्म मात्रै जिप जान्छ । पूल पूरा भएको छैन । बाटो पनि सहज छैन । ‘प्यासेन्जरलाई सही सलामत तरिकाबाट पुर्‍याउन सकिएको छैन । हरेक प्रकारका दुःख पाइएको छ,’ उनले भने, ‘तेल बोकेर माथिल्लो क्षेत्रमा सेवा दिइरहेका छौं ।’ उनले सडक खुलाउने विषयमा डिभिजन सडक कार्यालयले ढिलाई गरेको बताए ।


नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङले मनाङतर्फको म्यार्दीभीरको पहिरो र सिरानतालको पहिरोले समस्या बनाउने गरेको बताए । ‘बाटो खुल्न त खुल्छ । कहिले बन्द हुन्छ थाहा छैन,’ उनले भने । उनका अनुसार म्यार्दीभीरको खोलातर्फको चट्टान कमजोर छ । कमजोर सडक पानी पर्दा बगिरहने उनले बताए ।


‘भूकम्पले सबै थिलोथिलो बनायो । कमजोर जमिन भित्र पानी पसेपछि पहिरो गएको हुन सक्छ,’ उनले भने । मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले सडकमा पहिरो खस्नेबित्तिकै डिभिजन सडक कार्यालयलाई छिटो मर्मत गर्न र बेलिब्रिज निर्माणकार्य छिटो पूरा गर्न निर्देशन दिएको बताए । नेपाली सेनाले ट्र्याक खोलेको बेंसीसहर–चामे सडकको ठाउँठाउँमा पहिरो जाँदा बर्सेनि बर्खायाममा उक्त बाटोका उपभोक्ताले सास्ती खेप्नुपरेको छ । २०६९ मा सरकारलाई हस्तान्तरण गरिएको उक्त सडकमा पछिल्लो समय नियमित मर्मत सम्भार हुन सकेको छैन ।


पहिरो पन्छाउने काम मात्रै गरिँदा उक्त सडकको जोखिमयुक्त ठाउँमा स्तरोन्नति हुन सकेको छैन । सडक विभागले आर्थिक वर्ष २०५१/०५२ मा बेंसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि २०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । निर्माण सुरु भएको १९ वर्षपछि ६ वर्ष अघिमात्र सडकको ट्र्याक खोल्ने कार्य पूरा भएको हो ।


म्यार्दी पहिरो हट्यो, जोखिम कायमै

डिभिजन सडक कार्यालय दमौलीका सबइन्जिनियर सुमन अधिकारीका अनुसार करिब २ साताअघि म्यार्दीभीरमा गएको पहिरो पन्छाइएको छ । करिब १ सय मिटर माथिबाट पहिरो आएको थियो । पहिरोले सडक बगाएको थियो । पहिरो हटाइएसँगै आइतबारबाट उक्त क्षेत्रमा सवारी गुडेको छ तर पुल निर्माण नसक्दा सवारी वारपार भने हुन सकेको छैन ।


पहिरोले अवरुद्ध बनाएको सडक १० दिनसम्मको नियमित मर्मतपछि खुलाउन सफल भएको अधिकारीले बताए । पहिरोले ठूला ढुंगा ल्याएको र हटाउन नसकेपछि ८० वटा बम पड्काइएको थियो । त्यसपछि ब्रेकर लगाएर चट्टान हटाइएको थियो । ‘सडक नै पत्ता नलाग्ने गरी पहिरो खसेको थियो । पहिलेको बाटो भएको ठाउँबाट अहिले अर्कै ट्र्याक खोलिएको छ,’ उनले भने, ‘सडक खुल्यो तर जोखिम भने कायमै छ ।’ सडक सुचारु भए पनि ठूलो पानी आएमा फेरि अवरुद्ध हुन सक्ने जोखिम कायमै रहेको उनले बताए ।


बेलिब्रिज निर्माणपछि वारपार

असार ८ मा म्यार्दीखोलामा रहेको बेलिब्रिज बगाएकामा बल्ल बेलिब्रिज राखिएको छ । मनाङतर्फ पुल र माटोको सतहलाई जोड्न ढुंगामाटो राखेर पुरिएको छ । लमजुङतर्फ भने पुर्न बाँकी छ । बेलिब्रिज जडान कार्य सकिएको डिभिजन सडक कार्यालयका सबइन्जिनियर अधिकारीले बताए । अब एक सातामा पुल तयार हुने उनले बताए ।


‘पुल राखिएको छ । फिलिङको कार्य बाँकी छ । अब एक साताभित्र पुल तयार हुन्छ । त्यसपछि सवारी आवागमन गर्न मिल्छ,’ उनले भने । उनका अनुसार अहिले मानिस उक्त पुलमै हिँड्न थालेका छन् । सामान ओसारपसार गर्न थालेका छन् । सवारी साधन भने हिँड्न मिलेको छैन ।


डिभिजन सडक कार्यालय दमौलीमार्फत ग्याल्बा–द क्याराभान जेभीले भ्याटबाहेक २ करोड ५ लाख १७ हजार ८ सय ६९ रुपैयाँमा गत वर्ष साउनमा बेलिब्रिज निर्माण गरिएको थियो । बेलिब्रिज निर्माणको एक वर्ष नपुग्दै म्यार्दीखोलाले बगाएको थियो । करिब २५ मिटर लम्बाइ र चार मिटर (सिंगल लेन) को पुल रहेकामा अहिले पनि उक्त साइजकै राखिएको छ । २०६४ मा नेपाली सेनाले सडक निर्माण गर्दा बनाएको काठेपुल २०७२ जेठमा भाँचिएको थियो ।

प्रकाशित : भाद्र ३१, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?