कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोला मिचेर घर

खोला किनारबाट ३० मिटर छाडेर मात्र घर बनाउनुपर्छ तर बन्दीपुरमा खोला तथा सार्वजनिक जग्गामा नक्सापासबिनै पक्की भवन बनिरहेका छन् ।
सम्झना रसाइली

तनहुँ — बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार क्षेत्रका बासिन्दाले चुँदीखोला अतिक्रमण गरी घर बनाएका छन् । यसले खोला झन्झन् साँघुरिँदै गएको छ । कतिले पक्की भवन बनाइसकेका छन् भने कति निर्माणाधीन छन् । स्थानीय व्यवसायी र दलका संरक्षण पाएका व्यक्ति खोला अतिक्रमणमा सक्रिय छन् । 

खोला मिचेर घर

खोला किनारबाट ३० मिटर छाडेर मात्र घर बनाउनुपर्छ तर यहाँ खोला तथा सार्वजनिक जग्गामा नक्सापासबिनै पक्की भवन बनिरहेको स्थानीय ७१ वर्षीय शुक्रकुमार श्रेष्ठले बताए ।


सार्वजनिक जग्गा संरक्षणका लागि आग्रह गर्दा पनि गाउँपालिका तथा जिल्ला प्रशासनले पहल नगरेको उनको आरोप छ । ‘सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण छानबिनका लागि गाउँपालिका उपाध्यक्षको नेतृत्वमा समिति गठन भएको थियो,’ उनले भने, ‘तर स्थलगत अनुगमनका समयमा अवरोध भयो ।’


सन्ततिका लागि भए पनि सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने स्थानीय ५५ वर्षीय शिखरनाथ अधिकारी बताउँछन् । ‘सहरिया सुकुम्बासीका कारण चुँदीखोला साँघुरो बन्दै गएको छ । मिचेर घर बनाइँदा खोलाको अस्तित्व संकटमा परेको छ,’ उनले भने । सार्वजनिक जग्गा संरक्षणका लागि केन्द्रबाट दरिलो नियम बनाइनुपर्ने उनको भनाइ छ ।


पृथ्वी राजमार्ग फराकिलो बनाउँदा डुम्रे बजारका अधिकांश घर भत्किने हुँदा जग्गा लगत कट्टामा परेका व्यक्तिले खोलातिर घर बनाउने गरेका छन् । केहीले राजनीतिक संरक्षणमा भाडा उठाउन खोला मिचेर घर बनाएको स्थानीय बताउँछन् । ‘चुँदीखोला अतिक्रमण रोक्न अमिन लगेर रेखांकन गरिए पनि त्यसलाई मिचेर घर बनाइएको छ,’ बन्दीपुर–१ का अध्यक्ष भानुभक्त पोखरेलले भने । अतिक्रमण हटाउन वडा तहबाट मात्र सम्भव नभएको उनले बताए । ‘यसका लागि केन्द्रबाटै नीति बनेर आए सहज हुने थियो,’ उनले भने ।


बन्दीपुर गाउँपालिकाका सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन भन्दै गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त समितिबाट देखिने गरी केही नतिजा सार्वजनिक नभए पनि अतिक्रमण गरेर घर बनाउनेलाई पत्र काटी सूचित गरिएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ बताउँछिन् । ‘गाउँपालिकाभित्र करिब १२ रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको छ,’ उनले भनिन्, ‘केही जग्गामा ठूल्ठूला घर बनेका छन् भने केहीमा व्यापारीले टहरा बनाएका छन् । केहीले आफ्नो भनी हकदाबी गरेका छन् ।’


चुँदीखोला अतिक्रमण गरी नयाँ संरचना निर्माणमा रोक लगाइएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए । ‘अधिकांश घर अतिक्रमण गरी बनाइएका छन् । केही घरले खोला र केहीले सडक अतिक्रमण गरेका छन्,’ उनले भने । बन्दीपुर गाउँपालिकामा करिब २ किलोमिटर क्षेत्रमा चुँदी खोला बग्छ ।

प्रकाशित : भाद्र २९, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?