कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकी मेडिकल कलेजले फिर्ता गरेन अतिरिक्त शुल्क

मन्त्रालयले निर्देशन दिएको ६ महिना बित्दा पनि रकम नपाएको भन्दै विद्यार्थी फेरि आन्दोलित

काठमाडौँ — पोखराको गण्डकी मेडिकल कलेजले असुलेको तोकिएभन्दा बढी शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । शिक्षा मन्त्रालयले एक महिनाभित्र शुल्क फिर्ता गर्न दिएको निर्देशन कार्यान्वयन नभएपछि उनीहरूले कलेजमा ताला लगाएका हुन् । आन्दोलनका कारण अस्पतालको सेवाबाहेक पठनपाठन प्रभावित बनेको छ ।

गण्डकी मेडिकल कलेजले फिर्ता गरेन अतिरिक्त शुल्क

पहिलो र दोस्रो ब्याचमा अध्ययनरत विद्यार्थीले शुक्रबार तालाबन्दी गरेको विद्यार्थी परिवर्तन भाटले बताए । कलेजले चर्को शुल्क असुलेको विरोधमा गत माघमा पनि उनीहरू झन्डै दुई महिना आन्दोलित बनेका थिए । आन्दोलनपछि मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीको उपस्थितिमा मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क एक महिनाभित्र फिर्ता गरिसक्ने निर्णय गरेको थियो । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि विश्वविद्यालयमार्फत डिन कार्यालयलाई निर्देशनसमेत दिएको थियो ।


गण्डकीले एमबीबीएस, बीडीएसलगायत चिकित्सा शिक्षा पढ्ने विद्यार्थीपिच्छे फरक–फरक शुल्क लिएर ठगी गर्दै आएको छ । त्रिविको अनुगमन निर्देशनालय, नेपाल मेडिकल काउन्सिल, सरकार र संसदीय समितिले गरेको छानबिनमा समेत उक्त कलेजले अतिरिक्त शुल्क उठाउने गरेको पाइएको थियो । ‘सरकारले दिएको निर्देशन पनि कार्यान्वयन नभएपछि पुनः पढाइ रोकेर आन्दोलनमा उत्रेका हौं,’ एमबीबीएस अध्ययनरत अनित सिन्हाले भने, ‘कलेजले तोकेको भन्दा बढी रकम लिएको पुष्टि भइसकेको छ, मन्त्रालयमा भएको सहमतिअनुसार पैसा फिर्ता गर्नुपर्ने हाम्रो माग हो ।’


मन्त्रालयले गत चैत ८ गते रकम फर्काउन निर्देशन दिएको थियो । अहिलेसम्म कुनै पनि मेडिकल कलेजले अतिरिक्त रकम फिर्ता गरेका छैनन् । यही मागमा चितवन मेडिकल कलेजमा पनि १३ दिनदेखि हडताल जारी छ ।


आन्दोलनमा चिकित्सा शिक्षा अध्ययनरत केन्द्रीय संघर्ष समितिले समेत ऐक्यबद्धता जनाएको छ । गण्डकीका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध विद्यार्थीले ठगी मुद्दा दायार गरेका थिए । उनीहरू धरौटीमा छुटिसकेका छन् ।


कलेजले करिब ६ सय विद्यार्थीसँग फरक–फरक शीर्षक र दरमा तोकिएभन्दा लाखौं बढी शुल्क लिएको छानबिनमा भेटिएको थियो । एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसीलगायत स्वास्थ्यसम्बन्धी ८ विषय पढ्ने विद्यार्थीबाट एकै वर्ष १० लाखसम्म बढी उठाइएको हो । उपत्यकाबाहिर एमबीबीएस अध्ययन गर्न साढे ४२ लाखसम्म शुल्क लिन पाउने सरकारले तोकेको छ ।


वार्षिक शुल्क, त्रिवि सम्बन्धन रजिस्ट्रेसन, सुरक्षा, इन्टर्नसिप, स्वास्थ्य परीक्षण शुल्कका नाममा कलेजले बढी शुल्क लिने गरेका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीबाट इन्टर्नसिपका लागि १ लाख ९२ हजार, रजिस्ट्रेसन शुल्क ५० हजार, त्रिवि शुल्क ८४ हजार ९ सय (एक/एकपटकका लागि) सुरक्षा शुल्क ५० हजार र स्वास्थ्य परीक्षणका लागि ५ हजार लिइएको हो ।

प्रकाशित : भाद्र २८, २०७६ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?