कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोल्पा पहिरो अपडेट : पुरिएका ६ शव निकालियो, पोस्टमार्टम गर्न चिकित्सक गाउँमै जाने

काशीराम डाँगी

रोल्पा — बिहीबार राति रोल्पाको थबाङ–२ छेर्लोबाङस्थित सहिदमार्गअन्तर्गत घर्तीगाउ–थबाङ खण्डमा पहिरो खस्दा मृत्यु भएका ६ जनाको शव निकालिएको छ । उनीहरु बसेको घरमाथिबाट पहिरो खसेपछि सबैको मृत्यु भएको थियो ।

रोल्पा पहिरो अपडेट : पुरिएका ६ शव निकालियो, पोस्टमार्टम गर्न चिकित्सक गाउँमै जाने

थबाङ गाउँपालिका–२ छेर्लोबाङस्थित २८ वर्षकी शीरकुमारी र उनका छोरा ४ वर्षका असल लगायत पुरिएका थिए । प्रहरीले उद्धारका क्रममा शुक्रबार बिहान आमा–छोराको शव फेला पारेको थियो भने अन्य ४ को शव दिउँसो निकालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।


पुरिएको घरको तल्लो तलामा बसेका वर्ष ३६ का जय बुढामगर, पत्नी वर्ष ४० की मूलज्योति बुढामगर, छोरीहरु वर्ष १० की गृष्मा र डेढ वर्षकी अर्की छोरीको पनि मृत्यु भएको छ ।


यसैबीच घटनास्थलमा पानी परिरहेको र यातायातका साधन पुग्न नसक्ने भएपछि शव पोस्टमार्टम गर्न चिकित्सक गाउँमै पठाउने निर्णय भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । ‘पानी परेको र सडक अवरुद्ध भएकाले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन नसकिने अवस्था छ’, जिल्ला सुरक्षा समिति तथा जिल्ला दैवी प्रकोप उद्धार समिति संयोजक रहेका प्रजिअ ढकालले भने, ‘त्यसैले घटनास्थलमै शवको पोस्टमार्टम गर्न रोल्पा जिल्ला अस्पतालबाट डा प्रकाशबहादुर बुढालाई पठाउने तयारी भएको हो ।’


घटनास्थल जान चिकित्सक बुढासहितको जिल्ला स्वास्थ्यको टोली शुक्रबार हिँडेपनि यातायात अवरुद्ध भएकाले शनिबार मात्रै पुग्ने छ । सदरमुकाम अघि कोर्चाबाङ, घर्तीगाउँ, इरिबाङ र कुरेली लगायतका स्थानमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


...................

बिहीबार राति सहिदमार्ग अन्तर्गत घर्तीगाउ–थबाङ खण्डको छेर्लोबाङमा पहिरो खस्दा एउटा घर पुरिएको छ । घरसँगै पहिरोमा पुरिएकामध्ये २ जनाको शव फेला पारिएको प्रहरीले जनाएको छ ।


थबाङ गाउँपालिका–२ छेर्लोबाङस्थित शीरकुमारी बुढामगरको घर पहिरोमा पुरिएपछि २८ वर्षीया शीरकुमारी र उनका ४ वर्षीय छोरा असल लगायत पुरिएका थिए ।


प्रहरीले उद्धारका क्रममा आमा–छोराको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । उद्धारका थप प्रहरी र स्थानीयलाई परिचालन गरिएको उनले बताए ।

तीन दिनदेखि भारी वर्ष भएकाले घर माथिबाट निर्माणाधीन सहिद मार्गबाट पहिरो खसेको हो । प्रहरीले पुरिएको घरभित्र ६ जना रहेको हुनसक्ने आशंका गरेको छ ।


अन्यको खोजी जारी राखिएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्र गुरुङले बताए । घटनास्थल लिबाङबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ । बिहीबार दिउँसोबाट भारी वर्षा भइरहेपछि पहिरो खस्ने आशंकाले छिमेकीले समेत शीरकुमारीको घरमा आश्रय लिएर थिए ।


आश्रय लिएको घरभित्र छिमेकी समेत पुरिएको आशंका गरिएको छ । प्रहरीले आमा छोराको शव शुक्रबार विहान साढे ८ बजेतिर निकालेको प्रजिअ ढकालले बताए ।


ढुंगा र काठको छाना भएको दुई तले घरको माथिल्लो तलामा रहेका शीरकुकारी र उनका छोराको उद्धार गरिए पनि आश्रय लिई तल्लो तलामा बास बसेकाको अवस्था अज्ञात रहेको छ ।


ठूलो पहिरो र लेदो बगेर घर पुरिएकाले तल्लो तलाको अवस्था पहिचान गर्न नसकिएको गाउँपालिकाका प्रमुख बीरबहादुर घर्तीमगरले बताए । स्थानीयका अनुसार सहिदमार्ग निर्माणको जिम्मा लिएका ठेकेदार र कार्यालयले लापरवाही गरेकाले घरमाथि पहिरो खसेको हो । ‘सहिद मार्गको निर्माण जारी रहेकाले नयाँ माटो काट्दा ख्याल नगरेकाले घरै पुरिने गरी पहिलो खसेको हो,’ गाउँपालिका प्रमुख घर्तीमगरले भने, ‘बेलैमा सचेत भएको भए घटना हुनबाट जोगिन सकिन्थ्यो ।’ उनले प्रति मृतकका परिवारलाई २५ हजार खर्च दिन सकिने गाउँ कार्यपालिकाबाट निर्णय गरिएकाले पीडितलाई दिन पहल सुरु भएको बताए ।


उद्धारका लाथि जिल्ला प्रहरी कार्यालयसहित थबाङ, घर्तीगाउ, कुरेली, मिरुल, इरिबाङ लगायतबाट प्रहरी घटनास्थल पुगेको छ ।पुरिएको घरको तल्लो तलामा बास बसेका ३६ वर्षीय जय बुढामगर, उनकी ४० वर्षीया श्रीमती मुलज्योति बुढामगर, १० वर्षीया छोरी गृष्मा र अर्की डेढ वर्षीया छोरी थिए ।


उद्धारकर्ताहरुले उनीहरुको खोजी गरिरहेका छन् । पानी परिरहेकाले उद्धार कार्यमा कठिनाई भएको छ । घरभित्रका वस्तुभाउ समेत पुरिएका छन् । केही गाई र गोरु मरेको अवस्थामा फेला पारिएको बताए ।


वर्षाकै कारण पहिरो र बाढीमा परी एक सातामा छ जनाको मानवीय क्षति भएको छ । यस अघि अन्य दुई जनाको पनि पहिरो र बाढीकै कारण मृत्यु भइसकेको छ ।


पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिकाको सेरममा एक युवा पहिरोमा पुरिएका थिए भने पश्चिमी रोल्पास्थित त्रिवेणी गाउँपालिकाको गैरीगाउ दुम्लामा एक अर्धवैशैंलाई बाढीले बगाएको थियो । प्रमुख जिल्ला अधिकारी ढकालले वर्षा नरोकिएकाले सबैलाई सचेत रहन पूर्व सूचित गरिएको बताए ।


वर्षाले दर्जनौं सडक अवरुद्ध भएका छन् भने खानेपानीका मुहान बगाएको छ । कतै पानीका पाइप विच्छेद गराएको छ । रोल्पाका सुलिचौर, उवा, लुंग्री, थबाङ, घर्तीगाउ, माडीखोला आसपासका क्षेत्र बाढी र पहिरोबाट उच्च जोखिमयुक्त स्थान मानिन्छन् ।


केही समय अघि आएको पहिरो र बाढीले पूर्वी रोल्पास्थित लुंग्री गाउँपालिकाको कार्यालय नै बगाएको थियो । वर्षाका कारण अघिल्ला वर्षहरुमा पनि मानवीय एवं भौतिक क्षति हुने गरेका छन् ।

प्रकाशित : भाद्र २७, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?