कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिभुवन विश्वविद्यालयको र्‍याङकिङ घट्यो

गणेश राई

काठमाडौँ — दि वर्ल्ड युनिभर्सिटी र्‍याङकिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)को हजारभन्दा माथि पुगेको छ । गत वर्ष आठ सयदेखि हजारको बीचमा थियो । बेलायतस्थित टाइम्स हायर एजुकेसन (टीएचई)ले उक्त नतिजा सार्वजनिक गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको र्‍याङकिङ घट्यो

उसले विश्वका ९२ देशका १ हजार ४ सय विश्वविद्यालयलाई र्‍याङकिङ गरेको थियो र त्यसमा त्रिभुवन विश्वविद्यालय अन्तिमबाट ३७औं स्थानमा परेको छ ।


टीएचईले १३ बुँदालाई मापनको आधारमा यसरी र्‍याङकिङ गरेको हो । शिक्षण पद्धति (सिकाइ वातावरण), अनुसन्धान (भोल्युम, इनकम र रिपुटेसन) तथा त्यसको प्रभाव, ज्ञानको विस्तार र अन्तर्राष्ट्रिय दृष्टिकोणलाई प्रमुख मानेको उसको रिपोर्टमा उल्लेख छ ।


सन् २०२० का निम्ति गरेको र्‍याङकिङमा हजारभन्दा माथि परेको छ । यस हिसाबले त्रिविको शैक्षिकस्तर घटेको हो । त्रिभुवन विश्वविद्यालयमा ४ लाख १८ हजार ५३ विद्यार्थी अध्ययनरत रहेको देखाइएको छ । त्यसमा विदेशी विद्यार्थी शून्य रहेको छ । ३६ जना विद्यार्थी बराबर एक शिक्षक (स्टाप) रहेका छन् । लैंगिक तुलनामा ४५ प्रतिशत महिला र ५५ प्रतिशत पुरुष रहेका छन् । उक्त संस्थाले सन् २०१९ मा गरेको र्‍याङकिङमा त्रिभुवन विश्वविद्यालय आठ सयदेखि हजारभित्र परेको थियो ।


पहिलो स्थानमा बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड रहेको छ । उक्त विश्वविद्यालयमा २० हजार ६ सय ६४ विद्यार्थी छन् । ११ दशमलव २ विद्यार्थी बराबर एक शिक्षक रहेका छन् । ती विद्यार्थीमध्ये ४१ प्रतिशत अन्तर्राष्ट्रका छन् । तीमध्यै महिला र पुरुषको प्रतिशत ४६ र ५४ रहेको छ ।


दोस्रो स्थानमा अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी छ । त्यहाँ २ हजार २ सय ४० विद्यार्थी पढ्छन् । ६ दशमलव ४ विद्यार्थी बराबर एक शिक्षक रहेको छ । विदेशी विद्यार्थी ३० प्रतिशत छन् । लैंगिक तुलनामा महिला ३४ र पुरुष ६६ प्रतिशत रहेका छन् ।


तेस्रो स्थानमा बेलायतको युनिभर्सिटी अफ क्याम्ब्रिज रहेको छ । त्यहाँ १८ हजार ९ सय ७८ विद्यार्थी पढ्छन् । १० दशमलव ९ विद्यार्थी बराबर एक शिक्षक रहेका छन् । ३७ प्रतिशत विदेशी विद्यार्थी पढ्छन् । महिला र पुरुषको सहभागिता ४७ र ५३ प्रतिशत रहेको छ ।


यस्तै अमेरिकाको स्टानफोर्ड युनिभर्सिटी चौथो, मेसाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी पाँचौं, प्रिन्सटन युनिभर्सिटी छैटौं, हार्वार्ड युनिभर्सिटी सातौं, याले युनिभर्सिटी आठौं र युनिभर्सिटी अफ सिकागो नवौं स्थानमा रहेको छ ।

दसौं स्थान भने इम्पेरियल कलेज लन्डनले ओगटेको छ ।

यस्तै, चीनको सिन्ह्वा युनिभर्सिटी २३औं स्थानमा छ भने २४ ‍औंमा पेकिङ युनिभर्सिटी र २५ औंमा नेसनल युनिभर्सिटी अफ सिंगापुर रहेका छन् ।

विस्तृतमा हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

https://www.timeshighereducation.com/world-university-rankings/2020/world-ranking#!/page/0/length/25/sort_by/rank/sort_order/asc/cols/stats

प्रकाशित : भाद्र २६, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?