पोखरामा मिटर ब्याज धन्दा : ऋण १६ लाख, असुली ३ करोड

दीपक परियार

पोखरा — आठ वर्षअघि पोखरा जरेबरका जीवन भनिने रत्नबहादुर कार्कीले ७ लाख रुपैयाँ ऋण लिएका थिए । पोखरा नयाँगाउँका गौतम थापासँग सयकडा १० मा ऋण लिएर उनले ११ लाख रुपैयाँ बुझाए ।


गौतमसँगै उनले मिटर ब्याजमा पुनः १६ लाख रुपैयाँ ऋण लिए । यसपल्ट उनले ८ वर्षमा ३ करोड रुपैयाँ बुझाइसक्दा पनि ऋण चुक्ता भएन । मिटर ब्याजीबाट ज्यान मार्नेसम्मको धम्की आएपछि उनले अन्ततः प्रहरीको शरण लिए ।


ऋण असुल्न निर्माण व्यवसायी रत्नबहादुरलाई अपहरण गरेको आरोपमा बुधबार प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले गौतम थापा, प्रेमबहादुर थापा, रोहित सुनार र वासुदेव पोखरेललाई शान्तिवनको निर्माण व्यवसायी समितिको भवनबाट पक्राउ गरेको हो । पक्राउ पर्ने सबै निर्माण व्यवसायी समितिका सदस्य हुन् । रत्नबहादुरको मौखिक जानकारीका आधारमा प्रहरीले मिटर ब्याजीलाई अनुसन्धानको घेरामा राखेको थियो ।


एक महिनाको निगरानीपछि उनीहरूलाई समात्न सफल भएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । प्रहरीका अनुसार रत्नबहादुर बुधबार बिहान प्लास्टरको बालुवा हेर्न शान्तिवन पुगेका थिए । सामुदायिक प्रहरी सेवाको जिल्ला समन्वय कार्यालयकै अघिल्तिर ग२च २७४९ नम्बरको कारमा वासुदेव र प्रेमले रत्नबहादुरलाई जबर्जस्ती हुले ।


गौतम र रोहितले ग१२प ९८५७ नम्बरको मोटरसाइकलमा स्कर्टिङ गरे । रत्नबहादुरले त्यहीं मेसोमा ‘स्पिड डायल’ बाट प्रहरीलाई फोन गर्न भ्याए । प्रहरी नायब उपरीक्षक राजकुमार केसीको कमान्डमा खटिएको प्रहरी टोलीले निर्माण व्यवसायी समितिको भवनबाट रत्नबहादुरको उद्धार गर्‍यो ।


रत्नबहादुरलाई उक्त समूहले अपहरण गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट सामान्य चोटपटक लागेकाले उपचारपछि उनी घर फर्किएका छन् । प्रहरीले अपहरण र मिटर ब्याजमा सहयोगी भूमिका खेल्ने अन्य चार जनालाई अनुसन्धान घेरामा राखेको छ ।


उनीहरूले मिटर ब्याजकै विषयलाई लिएर मंगलबार बेलुका रत्नबहादुरको घर घेरेको, धम्क्याएको शंका प्रहरीको छ । अनुसन्धानका घेरामा एक बहालवाला सेनासमेत छन् । प्रहरी उपरीक्षक कार्कीले भने, ‘अनुसन्धानमा उनीहरूको संलग्नता खुल्न आएमा यसै मुद्दामा संलग्न हुनेछन् ।’


प्रहरीकै मिलेमतो

रत्नबहादुरले ७ लाख रुपैयाँको सावाँब्याजसहित ११ लाख रुपैयाँ बुझाउँदा गौतम थापाले तमसुक च्यातेनन् । १६ लाख रुपैयाँ ऋण लिँदा रत्नबहादुरको तर्फबाट साक्षी बस्न दिएनन् । पटकपटक पैसा बुझाउँदासमेत तमसुक नच्यातेको रत्नबहादुरको दाबी छ । ‘पैसा बुझाएपछि तमसुक च्यात्नुभन्दा धाकधम्की दिए, उल्टै प्रहरीको डर देखाए,’ उनले भने, ‘प्रहरी नै उनीहरूको मान्छे भनेपछि उजुरी गर्न पनि सकिनँ ।’ ब्याज दिन १० दिन ढिलो हुँदा ५० हजारदेखि १ लाख रुपैयाँसम्म बुझाएको उनले बताए ।


उनका अनुसार गौतमले एक वर्षअघि ५० लाख रुपैयाँको तमसुक बनाए । उक्त रकम तिर्न गौतमले पटकपटक धम्की दिए । मान्छे लगाएर कुटपिट गरे ।


रत्नबहादुरले आफू टाट पल्टिसकेको भन्दै तिर्न नसक्ने बताए । गौतमले ज्यानै मार्ने धम्की दिएपछि गत वर्ष जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन पुगे तर प्रहरी कार्यालयबाट बाहिरिनेबित्तिकै रत्नबहादुरलाई गौतमको फोन आयो । फेरि प्रहरीमा गए ‘राम्रो नहुने’ धम्की दिए ।


उजुरी दिन आएको बारे गौतमलाई प्रहरीले नै खबर गरेर जानकारी गराएको थाहा पाएपछि रत्नबहादुर प्रहरी कार्यालय छिर्नै डराए । ‘पहिला प्रहरीसँग मेरो विश्वासै गुमेको थियो,’ उनले भने, ‘अहिले बल्लबल्ल आँट गरेर आएँ ।’ एक महिनाअघि उनकै उजुरीपछि प्रहरीले संगठित रूपमा मिटर ब्याज चलाउनेको खोजी गरेको थियो । अपहरणका मुख्य नाइके गौतम थापा प्रहरीसँग नजिक थिए ।

उनकै अध्यक्षतामा जिल्ला प्रहरी कार्यालयभित्र प्रहरी व्यायामशालासमेत बनेको छ । प्रहरी अधिकारीकै वरिपरि भइरहने उनी त्यसैलाई भजाएर मिटर ब्याजको धन्दा चलाउँथे । गौतम समूहको चर्को ब्याजकै कारण गत वर्ष भारतीय व्यापारी शेख हुसेन व्यवसाय छोडेर भारत फरार भएका थिए ।


उनले १०० को ६० देखि ८० रुपैयाँसम्म ब्याज तिर्नुपरेपछि ऋणले थलिएर व्यवसाय छोडेर भाग्नुपरेको सूचना आफ्नो पसलको ढोकामा लेखेर छाडेका थिए । मिटर ब्याजकै बोझ खेप्न नसकेर गत वर्ष एक व्यवसायीले आत्महत्या गरे । पोखरा सभागृह नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका उनले सुसाइड नोटमा ‘मिटर ब्याजमा ऋण लिएर तिर्न नसकेकाले उक्त कदम चाल्नुपरेको’ बताएका थिए । प्रकाशित : भाद्र २६, २०७६ १३:०९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

१०३ वर्षीयाको अनुभव–'जमाना फेरियो, म भने उस्तै’

फोनमा कुरा गर्ने जमाना आएकामा आश्चर्य मान्दै १०३ वर्षीया ललिता घर्तीमगरले भनिन्, ‘म त हाक हालेर खबर पुर्‍याउने जमानामा हुर्किएँ ।’ 
काशीराम डाँगी

चिन्ने, रोल्पा — उमेर १ सय ३ वर्ष । ठमठमी हिँड्छिन् । घन्टौं गफिन्छिन् । बालाजोवन र बैंसका सम्झना सुनाउँदा फुरुङ्ग हुन्छिन् । अनुहार चाउरिए पनि आँखा तेजिला छन् । ‘कान कम सुन्छु,’ रोल्पाकी ललिता घर्तीमगरले दाँत देखाउँदै भनिन्, ‘ढिँडो खान मन पराउँछु ।’ 


ललिता विसं १९७३ मा अरेसमा जन्मिएकी हुन् । त्यति बेला देशमा राणा शासन थियो । पञ्चायती व्यवस्थामा प्यूठान गौंडाभित्र पर्थ्यो अरेस, चिन्ने । ०१८ सालमा रोल्पा जिल्ला भएपछि अरेस गाविस बन्यो । बहुदलीय व्यवस्था हुँदै संघीयतामा आइपुग्दा उनको गाउँ सुनील स्मृति गाउँपालिकाको वडा नं ८ भित्र परेको छ । थुप्रै व्यवस्था भोगेकी ललितासँग अनगिन्ती अनुभव छन् ।

मगर समुदायको बाक्लो बसोबास रहेको चिन्ने गाउँमा उनका दौंतरी छैनन् । माइती र घरतिरका सबै दौंतरीको मृत्यु भइसकेको छ । उनीसँग दौंतरीसँगका याद भने बाँकी छन् । उनले भांग्राको कपडा बुनेर लगाउने चलन सम्झिइन् । ‘मेरो बाल्यकालमा खान लाउनै समस्या थियो । तरकारी पाउनै मुस्किल थियो । नुनमा ढिँडो चोपेर खान्थ्यौं,’ उनले भनिन्, ‘अहिले त जमानै फेरियो । पैसा हुनुपर्‍यो जे पनि किनेर लगाउन र खान पाइन्छ । म भने उस्तै पुरानै जमानाकी छु ।’

१७ वर्षको उमेरमा उनको विवाह भयो । तर विवाह सुखद हुन सकेन । त्यसपछि आफ्नै उमेरका चिन्ने गाउँका हुमबहादुर घर्तीसँग २१ वर्षको उमेरमा दोस्रो विवाह गरिन् । घर्ती दम्पतीबाट चार सन्तान जन्मिए ।

तीमध्ये जेठो खमे र साहिँलो छोरा होचुको मृत्यु भएको दुई दशक नाघ्यो । कान्छो छोरा कर्ण गर्भमै रहेका बेला पतिको मृत्यु भयो । अहिले कर्ण ६० वर्षका भए । ‘पति परलोक गएको पनि जुगौं भयो,’ भावुक हुँदै उनले भनिन् । उनले एकल भएको वर्षौंपछि मात्र विधवा भत्ता पाएको सुनाइन् ।

उनी ज्येष्ठ नागरिक भत्ताबापत मासिक ३ हजार रुपैयाँ पाउँछिन् । ‘कान्छो छोरासँग बस्छु । आक्कलझुक्कल भारतमा गएर उसले कमाएर ल्याउँछ । त्यही पैसा र मेरो भत्ताले परिवारको घर खर्च चलेको छ,’ उनले भनिन् ।

उमेरमा कमाउनका लागि सुर्खेतसम्म सडक मजदुरी गर्न गएको सम्झना उनीसँग ताजै छ । दाङको भालुबाङसम्म नुन बोक्न गएको पनि सुनाइन् । अहिले त गाउँमै सडक पुगेको छ । नुन, चामल र कपडा गाउँमै किन्न पाइन्छ । उनी उमेर ढल्किएपछि भने टाढाटाढा जान सकेकी छैनन् ।

केही वर्षअघि पूर्वी रोल्पाको सुलिचौर बजार झरेकी थिइन् । बजारको चहलपहल देखेर अचम्ममा परेको उनले सुनाइन् । फोनमा कुरा गर्ने जमाना आएकामा उनले आश्चर्य मानिन् । ‘म त हाक हालेर (कराएर) खबर पुर्‍याउने जमानामा हुर्किएँ,’ उनले भनिन्, ‘अहिलेको पुस्तालाई धेरै सजिलो भएको छ ।’

चिन्ने मात्र होइन, वरपरका गाउँलेले समेत उनलाई हजुरआमा भनेर बोलाउँछन् । उनलाई हेर्न र भेट्न अन्य गाउँबाट मानिस आइरहन्छन् । ‘आफैं खाना खान, हातमुख धुन, शौचालय जान र आफन्तसँग घन्टौंसम्म बसेर गफिन उहाँलाई कुनै समस्या छैन,’ बुहारी तिलसरीले भनिन्, ‘धेरैजसो समय पुराना कुरा सम्झना गरेरै बस्नुहुन्छ ।’

ललिता कुप्रो शरीर ढल्काउँदै घरछेउकै चौतारोसम्म पुग्छिन् बेलाबेला । घरबाहिर निस्केर हिँडडुल गर्दा कुप्रिएको देखेपछि नाति–पनाति उनकै सिको गर्छन् । त्यति बेला उनलाई बालापनको याद आउँछ । बुहारी तिलसरीले आँगन छेउमा नक्कल गर्दा ललिता बेस्सरी हाँसिन् । उनको शरीर झन्डै २५ वर्षदेखि कुप्रो परेको हो । बुहारी नाताकी रामसरीले ललिता पहिले निकै मिहिनेती र कामकाजी रहेको सुनाइन् । उनले भनिन्, ‘हामी त यो उमेरसम्म के बाँचौंला र !’

घरमै पाकेको सुखोरुखो खाँदै आएकी ललितालाई अहिलेसम्म रोगले थलिएको सम्झना छैन । बाँच्ने लालसा भने उनमा अधिक छ । ‘रोग नलागोस्,’ उनले भनिन्, ‘ढुक्कले अझ धेरै वर्ष बाँच्न सकियोस् ।’

प्रकाशित : भाद्र २६, २०७६ १३:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×