कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलसम्म पुग्न अर्को पुल

मधु शाही

बाँके — राप्ती नदीमा पुल छ तर मानिस त्यसको प्रयोग गर्दैनन् । बगरै बगर हिँडेर मूल बाटो पुग्न उनीहरूलाई सहज लाग्छ । बगरको बीचमा टापुजस्तै टुक्रुक्क रहेको पुलबाट न सडकसम्म पुगिन्छ न त्यहाँसम्म आउजाउ गर्न नै सजिलो छ । 

पुलसम्म पुग्न अर्को पुल

अपायक हुनाले बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–६ मा रहेको ५० मिटर लामो त्यो पुल प्रयोगमा नआएको हो । पुल प्रयोग गर्न त्यहाँसम्म पुग्न अर्को पुल चाहिने स्थानीय बताउँछन् । ०७१ असार २५ गते सुरु भई ०७६ जेठ ३० गते सम्पन्न भएको भनिएको उक्त पुलको लागत मूल्य ४ करोड १२ लाख रुपैयाँ छ । पुल निर्माण कार्य ७३ प्रतिशत मात्रै सकिएको हुलाकी सडक आयोजना बाँकेका प्रमुख नवराज पोखरेलले बताए ।

खोलाको बहाव परिवर्तन भएपछि पुल प्रयोगविहीन बनेको हो । यसले स्थानीयलाई यातायातमा निकै समस्या देखिएको आयोजना प्रमुख पोखरेलले बताए । ‘पुलसम्म पुग्न अब नयाँ टुक्रे पुल निर्माण गर्ने योजना छ । यसका लागि विशेषज्ञ र कन्सल्टेन्सीले माटो परीक्षण गरिसकेका छन्,’ उनले भने, ‘डिजाइन हुन मात्र बाँकी छ ।’

उनले पुलको लम्बाइ बढाउने तयारीमा रहेको समेत जानकारी दिए । उनका अनुसार हुलाकी राजमार्ग निर्देशनालयले सर्वेक्षण र डिजाइनको काम गरिरहेको छ । नेपालगन्जदेखि राप्ती नदी पार गर्दै राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका जोड्ने यो पुल स्थानीयका लागि महत्त्वपूर्ण छ । दैनिक व्यापार, जागिर गर्न र पढ्नसमेत हजारौं संख्यामा स्थानीय आउने जाने यही पुलबाट हो तर पुलसम्म पुग्ने बाटो नबन्दा बगर हुँदै मूल सडकमा पुग्नुपर्छ । हिउँदमा धूलो खानुपर्छ, बर्खामा हिलाम्य हुन्छ ।

गाउँको तरकारी बजारसम्म पुर्‍याउन दैनिक नेपालगन्ज ओहोरदोहोर गर्ने राप्तीसोनारी–५ का ५५ वर्षीय भीमलाल थारूले भारी वर्षात् हुँदा मोटरसाइकल चिप्लिएर घाइते भएको बताए । ‘पुलसम्म पुग्ने सडक बनिदिए ढुक्कले व्यापार गर्न पाइन्थ्यो,’ उनले भने, ‘पुल त छ, कहाँ छ कहाँ ?’ पुल प्रयोग नहुँदा व्यक्तिको जमिनबाट मानिसले यात्रा गरिरहेका छन् ।

आफ्नो जमिनमा जथाभाबी बाटो बनाएको देखेर ४४ वर्षे मोहनलाल यादव खिन्न छन् । ‘पहिले यहाँ ठूलो गाउँ थियो,’ यादवले पुल छेउछाउको जमिन देखाउँदै भने, ‘अहिले बाटैबाटो बने ।’ सरकारले पुल बनाए पनि त्यसको कुनै अर्थ नहुँदा लाजपुर्जावाला जमिन बाटो बन्दै गएको उनले सुनाए । ‘यसै त राप्ती नदीले बगाएर नम्बरी जमिन बगर बनेको छ । रहेको जमिनमा पनि मान्छे आउजाउ गर्ने बाटो बनेका छन्,’ उनले भने ।

पुलले झनै सास्ती

राप्तीसोनारी गाउँपालिका–७ मा बन्दै गरेका केही यस्ता पुल छन्, जसले स्थानीयलाई खुसीभन्दा सास्ती दिएका छन् । सडक विभागले राप्ती सोनारी ७ मा बनाउन सुरु गरेका तीनवटा पुलमध्ये एउटा सम्पन्न भइसकेको छ, दुईवटा निर्माण क्रममा छन् ।

स्थानीयसँग छलफलै नगरी पुल बनाउँदा पुल प्रयोगविहीन भएको राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूले बताए । सैयापुरमा निर्माणाधीन पुलको ७० प्रतिशत काम सकिएको छ । पुल आवश्यकताभन्दा अग्लो भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । वडाध्यक्ष थारूले अग्लो पुलले गर्दा राप्तीसोनारी र नरैनापुर गाउँपालिका जोड्ने हुलाकी सडक निर्माण कार्यमा ढिलाइ भएको दाबी गरे ।

स्थानीय कालुराम चौधरीले अपायककोपुलले गर्दा हिँडडुल गर्नै गाह्रो परेको बताए । सोम्भार थारूले अग्लोमा पुल बन्दा गाडीमा सामान लोड गरेर ल्याउन कठिन हुने बताए । ‘पानीको बहाव थाहा नपाई पुलको डिजाइन गरेछन्,’ उनले भने, ‘हामीलाई एकपटक कसैले सोधेन ।’

पुलको डिजाइन केन्द्रले नै गर्ने सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख रामकुमार देवले बताए । दीर्घकालीन सोचअनुरूप पुल अग्लो स्थानमै बनाउनुपर्ने उनले बताए ।

प्रकाशित : भाद्र २६, २०७६ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?