कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संकटकाल घोषणा गर्न माग

काठमाडौँ — डेंगुले महामारीको रूप लिइसक्दा पनि सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय सभाको बुधबारको बैठकमा विरोध भएको छ । संकटकाल घोषणा गर्नुपर्नेमा सांसदले जोड दिएका छन् ।

संकटकाल घोषणा गर्न माग

प्रमुख प्रतिपक्ष कांग्रेस सांसद राधेश्याम अधिकारीले संकटकाल घोषणा नगरेको भन्दै सरकारको तीव्र आलोचना गरे । डेंगु लागेका सबैको निःशुल्क उपचार गर्न उनले माग गरेका छन् । ‘डेंगुले महामारीको रूप लिइसक्दा पनि सरकार कुहिरोको काग बनेको छ । मुलुकका ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ति मान्नुपर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यस्तो विपत्तिको सामना गर्न संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? ,’ उनले भने, ‘६ जनाको मृत्यु भइसकेको छ, कति जनाको मृत्यु भएपछि महामारीको रूप लिन्छ ? ’


बाँके–बर्दियामा फैलिएकै समयमा नियन्त्रण प्रयास नगर्दा डेंगु मुलुकभर फैलिएको उनले बताए । ३ सय ५० रुपैयाँ पर्ने डेंगु जाँच्ने किटको निजी अस्पतालहरूले २ हजार ६ सय रुपैयाँसम्म लिने गरेको जनाउँदै विपत्का बेला कालोबजारी गर्नेलाई कारबाही गर्न सरकारसित माग गरे ।


अधिकारीले डेंगु नियन्त्रणका लागि सरकारले के गरिरहेको छ भन्नेबारेमा सिंगो संसद् र आमजनताले जान्न चाहेको बताए । उनले डेंगु परीक्षणको सुविधा नभएका जिल्लाहरूमा संक्रमण नियन्त्रण गर्न सरकारले चालेको कदमबारे सदनलाई जानकारी गराउनसमेत माग गरे ।

प्रकाशित : भाद्र २५, २०७६ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?