तरुण दलमा देउवा र पौडेल पक्षबीच चर्को विवाद

बस्नेत भन्छन्, 'स्टनबाजी गर्न खोजियो'
शाही भन्छन्, 'भ्रष्ट्राचारविरुद्ध जान नखोजेपछि बिबाद बढ्यो' 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसको आन्तरिक झगडाको रोग भातृसंस्था तरुण दलमा पनि सरेको छ । भ्रष्टाचारका मुद्दालाई आन्दोलनको विषय बनाउने कि नबनाउने भन्नेमा मुद्दामा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीबीचको विवाद सतहमा आएको हो । 

४ जना पदाधिकारीमा सीमित तरुण दलमा दुई पदाधिकारीबीच एकअर्काको निर्णयविरुद्ध बक्तव्यबाजी चलेको छ। महासचिव शाहीले भ्रष्ट्राचारविरुद्ध आन्दोलन गर्न अध्यक्ष बस्नेत तयार नभएको भन्दै बक्तव्यबाजी गरेका छन्। अध्यक्ष बस्नेतले ‘स्टनबाजी’का लागि महासचिव शाहीले बक्तव्यबाजी गरेको आरोप लगाएका छन्।
संगठनसम्बन्धी निर्णयमा समेत एक अर्काविरुद्ध बक्तव्यबाजी चलेको छ। सिन्धुपालञ्चोकका उपाध्यक्ष सगुन श्रेष्ठलाई अध्यक्ष बस्नेतले केही समयअघि गरेको कारवाही महासचिव शाहीले फुकुवा गरेको पत्र पठाएका छन्। शाहीले पत्रमार्फत सप्तरीमा सीता अधिकारीलाई अध्यक्ष घोषणा गरेका छन्। शाहीको पत्रलाई अवैधानिक भन्दै अध्यक्ष बस्नेतले छुट्टै बक्तव्यमार्फत सिन्धुपालञ्चोक र सप्तरीमा यसअघि भएको निर्णयनै यथावत् रहेको उल्लेख गरेका छन्।

०७३ भदौमा पोखरामा सम्पन्न महाधिवेशनमा भागबण्डाकै आधारमा तरुण दलको ४ जनाको कार्यसमिति घोषणा भएको थियो। कार्यसमितिमा अध्यक्ष बस्नेत र कोषाध्यक्ष विद्वान् गुरुङ पार्टी सभापति शेरबहादुर देउवानिकट हुन्। महासचिव शाही रामचन्द्र पौडेल र उपाध्यक्ष उत्तम चापागाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन्। ‘तरुण दललाई पार्टी नेतृत्वले पूर्णता दिने काम गर्न सकेन’ शाहीले भने,‘यसले पनि कार्यसमितिभित्र विवाद छँदै थियो, तर भ्रष्ट्राचारलाई आन्दोलनको विषय बनाउन नमानेपछि विवाद चर्केको हो।’
पार्टीले घोषणा गरेको जागरण अभियानका क्रममा तरुण दलले वाइडबडी, बालुवाटार जग्गा प्रकरण, एनसेलको कर छली, ३३ किलो सुन काण्ड लगायतलाई मुद्दा बनाएर आन्दोलन गर्न आफूले जोड गर्दा अध्यक्ष बस्नेतले नमानेको शाहीले बताए। उनले केही समयअघि वाइडबडीलाई घोटालाका दोषीलाई कारवाहीको माग राखेर अख्तियार घेर्ने तय भइसकेको कार्यक्रमसमेत अध्यक्ष बस्नेतकै कारण स्थगित भएको उनको दाबी छ।
अध्यक्ष बस्नेतले भने महासचिव शाहीको बक्तव्यबाजी राजनीतिक ‘स्टनबाजी’ का लागि मात्रै भएको प्रतिक्रिया दिए। ‘अख्तियार घेर्ने कार्यक्रम तय भएको थियो। तर, त्यसभन्दा बढी प्रभावकारी सिडियो कार्यालयमा ज्ञापन बुझाउँदा होला भनेर हामीले ७७ जिल्लाकै सिडियो कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने काम गरेका हौं’ बस्नेतले भने,‘हाम्रा कार्यक्रममा वाइडबडीका मुद्दा कहिल्यै छुटेको छैन।’
वाइडबडी प्रकरणमा सभापति देउवाकै नाम जोडेर मिडियामा आएपछि अध्यक्ष बस्नेतले यस कान्डलाई लिएर आन्दोलन गर्न नमानेको तर्क गरे। तर, अध्यक्ष बस्नेतले ठाडै अस्वीकार गरे। ‘सभापतिजीले हामीलाई भ्रष्टाचारविरुद्ध आन्दोलन नगर्नु भनेर कहिल्यै भन्नु भएको पनि छैन’ उनले भने,‘हामीले देशभरनै महँगी, भ्रष्टाचारका विरुद्ध सभाहरु समेत गरेका छौं।’

बस्नेतले पार्टीले घोषणा गरेको जागरण अभियानलाई औचित्वहीन भन्दै पार्टीको नीति र कार्यक्रमविरुद्ध उत्रिएको बताए। पार्टी गतिविधिविरुद्ध जाने महासचिवलाई अनुशासनको कारवाही हुने संकेत समेत उनले गरे।

पार्टीका नेताहरुको भागबण्डा नमिल्दा कार्यकाल सकिन दुई महिना छँदासम्म तरुण दल ४ जना पदाधिकारीमा सीमित छ। तरुण दललाई पूर्णता नदिएको विषयमा समेत संगठनमा पदाधिकारीहरुले नेतृत्वको आलोचना गर्दै आएका थिए।

प्रकाशित : भाद्र २५, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यूट सिस्टमको समय सकिँदै, उडानमा यात्रुलाई हुनसक्छ हैरानी

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई एयरलाइन्सदेखि भिसा प्राप्त विदेशी मुलुकको अध्यागमनसम्म जोड्ने एयरपोर्ट कनेक्सन प्रविधि (क्यूट सिस्टम) को सम्झौता अवधि शनिबार सकिँदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्यासेन्जर प्रोसेसिङ एप्लिकेसन प्रविधि उपलब्ध गराउने बहुराष्ट्रिय कम्पनी सिटासँग नयाँ सम्झौता नगरेपछि उसले विमानस्थलस्थित २८ वटै विदेशी एयरलाइन्सलाई शनिबारपछि आफ्नो सिस्टम नेपालमा नरहने जानकारी गराइसकेको छ ।

हवाई यातायात क्षेत्रमा कहलिएको आईटी कम्पनी हो, सिटा। विमानस्थलभित्र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले यात्रुहरूको बोर्डिङ, लगेज पासलगायत सेवा यही सफ्टवेयरको सहायतामा उपलब्ध गराउँदै आएका छन्।

प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रविधिबारे चासो नराखे वा नयाँ कम्पनीलाई नभित्र्याए शनिबारपछि नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा जाने एयरलाइन्सको सेवा अवरोध हुनेछ। ‘यो यस्तो प्रविधि हो, जहाँ एयरलाइन्सले यात्रुको राहदानी सिटाको सफ्टवेयरबाट स्वाइप गरेपछि मात्रै गन्तव्य मुलुकको बोर्डिङ पास जारी गर्न मिल्छ,’ काठमाडौंमा रहेको एक मध्यपूर्वी मुलुकको एयरलाइन्सका एयरपोर्ट म्यानेजरले कान्तिपुरलाई भने, ‘यो प्रविधि नभए कुनै पनि एयरलाइन्सले बोर्डिङ पास नै जारी गर्न सक्दैनन्।’

विश्वका सबै मुलुकका अध्यागमन कार्यालयसँग सिटाको कनेक्सन हुन्छ। कुनै पनि एयरलाइन्सले यात्रुको भिसा सक्कली हो या होइन भन्ने पनि यसैबाट जानकारी प्राप्त गर्छन्। गन्तव्य मुलुकको अध्यागमनमा यात्रुबारे पहिल्यै विस्तृत विवरण पनि यही प्रविधिको सहायताले पुग्ने ती म्यानेजरले बताए। यो कामलाई सिटाको प्रविधिले सजिलो बनाउने हो। सिटाको प्रविधिमा यात्रुको रेकर्ड काठमाडौंमा राखिएपछि संसारको जुनसुकै विमानस्थल वा सम्बन्धित एयरलाइन्सले आफ्नो सञ्जालभित्र यात्रुको विस्तृत यात्रा विवरण पाउँछन्।

क्यू सिस्टम नभए यात्रुहरूलाई बोर्डिङ पास उपलब्ध गराउन र लगेज पठाउन नसकिने उनले बताए। तर आन्तरिक टर्मिनलमा सेवा प्रवाह गर्ने नेपाली वायुसेवाले भने आफ्नै रैथाने प्रविधिबाट बोर्डिङ पास र कार्गो लगेजको ट्याग उपलब्ध गराउँछन्।

प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सम्झौता नवीकरण नगरेपछि सिटाको मुख्यालयले कुनै पनि विदेशी एयरलाइन्ससँग काठमाडौंका लागि सम्झौता नवीकरण गरेको छैन। ‘हाम्रो कम्पनीले सिटासँग सम्झौता नवीकरण गर्न खोजेको थियो तर उसले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग ठेक्का सम्झौता सेप्टेम्बर १४ सम्म मात्रै भएकाले नवीकरण गर्न मानेन,’ एक अर्का विदेशी एयरलाइन्सका म्यानेजरले कान्तिपुरसँग भने।

सिटाले काठमाडौंमा रहेका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित २८ वटा विदेशी एयरलाइन्ससँग प्रतियात्रु एक डलर हाराहारी शुल्क लिने सम्झौता गरेको थियो। यसले एयरलाइन्सलाई सेवा दिएबापत शुल्क लिन्छ भने विमानस्थलमा यसको सफ्टवेयर राखेबापत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई भाडा दिनुपर्छ। विमानस्थलले सम्झौता नवीकरण नगरेपछि एसिया क्षेत्र हेर्ने सिटाका कर्मचारी काठमाडौं आएका छन्।

यसैबीच विदेशी एयरलाइन्स अपरेटरहरूको साझा संस्थाले विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीलाई सोमबार भेटी यसबारे निकास खोज्न आग्रह गरेको छ। उक्त भेटमा महाप्रबन्धक क्षत्रीले ‘चिन्ता लिनु पर्दैन विकल्प दिलाउनेछु’ भनी वाचा गरेको स्रोतले जानकारी दिएको छ।

प्रकाशित : भाद्र २५, २०७६ १७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT