कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गल्छीमा लेदोले राजमार्ग अवरुद्ध 

हरिहरसिंह राठौर

गल्छी — राजमार्गदेखि मास्तिरको खेतबाट आएको चिप्लो लेदो माटोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । राजधानीबाट आउँदै गर्दा गल्छी पुग्ने आह्रालो मोडमै  रातोमाटोको  लेदोले सडक चिप्लो बनाएपछि सवारीसाधन गुडाउन समेत कठिनाई भएको छ । लेदो मिसिएको रातोमाटो मूल राजमार्गमा झर्ने क्रम नरोकिँदा एक हप्तायता सडक अवरुद्ध हुँदै आएको छ ।

गल्छीमा लेदोले राजमार्ग अवरुद्ध 

गल्छी गाउँपालिका-७ भल्टारमा सिंचाईको लागि खेतमा लगाइएको पानीको निकाससँगै लेदो माटो सडकमा थुप्रँदा गत वर्ष पनि यही ठाउँमा महिनौं दिनसम्म सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि गाउँपालिकाले डोजर लगाएर लेदो माटो फाल्दै आइरहेको गल्छी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरि खतिवडाले बताए ।


‘खेतका कान्लाबाट पानी रसाएर लेदो बग्छ । रोक्न सक्ने उपाय छैन । धानखेतमा पानी सुकाउन किसानले दिँदैनन्,’ बैरेनीस्थित प्रहरी चौकी इञ्चार्ज जनक बस्नेतले भने ।


खेतमा पानी लगाएको समयमा मात्रै पहिरो खस्ने गरेको बस्नेत बताउँछन् । जामले हजारौं यात्रु बिच बाटोमा बिचल्लीमा पर्ने गरेका छन् । केही दिनयता राजमार्गमा सवारीसाधनको लाम देखिने गरेको छ । काठमाडौंबाट आउँदा सिम्लेसम्म र काठमाडौं जाँदा आदमघाटसम्म सवारीसाधनको लामो जाम हुने गरेको छ ।


पहिरो खसेको सडक भन्दा माथि जमिन चिरिन थालेपछि आसपासका बासिन्दा समेत पहिरोको जोखिममा रहेका छन् ।

प्रकाशित : भाद्र २५, २०७६ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?