कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंलाई सडक मर्मत

विमल खतिवडा

काठमाडौँ — दसैं नजिकिँदै जाँदा मुख्य सडकमा सवारी चाप बढ्दै गएको छ । यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दसैंका लागि टिकट खुलाउने तयारीमा छन् । सवारी साधनको बढी चाप हुने मुख्य राजमार्गहरूमा भने समस्या देखिएको छ ।

दसैंलाई सडक मर्मत

खाल्डाखुल्डीले गर्दा समस्या भएको हो । अहिले सबैभन्दा बढी समस्या नागढुंगा–नौबिसे सडकखण्डमा देखिएको छ । सडक विभागले भने बढी खाल्डाखुल्डी भएकाले मर्मत थालिसकेको जनाएको छ ।


यो खण्ड भएर दैनिक ८ हजारभन्दा बढी सवारी साधन आवातजावत गर्छन् । चाडबाडमा यो संख्या दोब्बर हुन्छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले वर्षातले गाउँ–गाउँ जोड्ने सडक बिग्रिएकाले मर्मत नगरिए यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन समस्या हुने बताए । दसैंको बेला यात्रुलाई टाढा–टाढासम्म पुर्‍याउनुपर्ने हुन्छ । गाडी रिजर्भ गरेर घरसम्म जाने यात्रु बढी हुन्छन् ।


‘सहर बजारमा मात्र यात्रुलाई बोकेर भएन, गाउँ–गाउँसम्म लिएर जानुपर्छ,’ उनले भने, ‘वर्षातले गर्दा सडक बिग्रिएका छन्, चाडबाड सुरु हुनुअघि नै मर्मत नगरिए यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन कठिनाइ हुनेछ ।’ दसैंमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् । यता सडक विभागका महानिर्देशक केशवकुमार शर्मा दसैं आउनुअघि नै सडकको मर्मत सकिने दाबी गर्छन् ।


‘अहिले सबैभन्दा बढी समस्या नागढुंगा–नौबिसे सडकमा देखिएको छ,’ शर्माले भने, ‘त्यसैले मर्मत थालिसकेका छौं, एक हप्ताभित्र यो सडकलाई खाल्डाखुल्डीरहित बनाउनेछौं ।’ उनका अनुसार सडक बोर्डकै बजेटले मर्मत गरिएको हो । ‘पानीले काम गर्न नदिएर हो,’ उनले भने, ‘अहिले पानी पर्दा पनि समस्या नहुने गरी काम गरिरहेका छौं ।’ विभागले देशभरका सडक मर्मतका लागि परिपत्र गरिसकेको जनाएको छ । असोज पहिलो साताभित्र आफ्नोआफ्नो क्षेत्रभित्रका सडकलाई खाल्डाखुल्डीरहित बनाउन सबैतिर परिपत्र गरिसकिएको महानिर्देशक शर्माले बताए ।


झापा, हेटौंडा, तनहुँमा खाल्डाखुल्डी पुरिसकिएको छ । ‘काठमाडौंमा बढी पानी परेको छ, बाहिर कम छ,’ उनले भने, ‘पानीले गर्दा खाल्डाखुल्डी बढी भएको हो, असोज पहिलो साताभित्र सबैतिरका सडकको खाल्डाखुल्डी पुरेर सक्नेछौं ।’ सबैतिरको सडकको मर्मत सकेर दसैंमा आवागमन सहज बनाउने उनले दाबी गरे ।


पहिरोले गर्दा सबैभन्दा बढी क्षति बीपी राजमार्गमा भएको छ । यो सडकको विभिन्न खण्डमा पहिरो खसे पनि मर्मत गरेर चलाइएको छ । ‘बीपी राजमार्गमा पहिरो गएर बिग्रिएको खण्डमा धमाधम काम भइरहेको छ,’ शर्माले भने, ‘कालोपत्रे गरेर सवारी आवागमनलाई सहज बनाउनेछौं ।’ बाढीपहिरोले देशभर सडकमा २ अर्बको क्षति भएको विभागले जनाएको छ ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौंबाट बाहिरिने सबै नाकाका सडकको मर्मत तीव्र पारिएको छ । ‘चाडबाडलाई लक्षित गरेर राजमार्गका खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ,’ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने, ‘चाडबाडमा सडककै कारण यात्रुले कुनै समस्या भोग्नुपर्ने छैन ।’ यातायात व्यवस्था विभागले सडक मर्मतबिना दसैंमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन समस्या हुने भएपछि चासो जनाएको छ ।


प्रकाशित : भाद्र २५, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?