कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाको प्रदेश २ जिल्ला कमिटीको शपथग्रहणमा झडप : यी हुन् विवादको चुरो कुरो

नेताहरुले विवाद समाधान नगरी आफूखुशी शपथग्रहण गराउन खोजे पछि तनाव
रविन्द्र उप्रेती

महोत्तरी — प्रदेश २ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा झडप भएको छ । झडप शान्त गराउन प्रहरीले लाठीचार्ज गर्नु परेको थियो । त्यस क्रममा राजविराज ८ का प्रदेश कमिटी सदस्य देवनाथ यादव घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । 


बर्दिवासस्थित शुभ स्वास्तिक हस्पिटल भर्ना गरिएका यादवको टाउकोमा ५ टाँका लगाइएको अस्पतालका केविजंग कार्कीले जनाए ।


बर्दिवास प्रहरीका नायव उपरीक्षक निसान थापाले लाठी चार्ज नगरेको बताए । बर्दिवास सेवा समिति हलमा राखिएको शपथग्रहणस्थलमै असन्तुष्ट पक्षले कुर्सी तोडफोड गर्न थालेपछि प्रहरीले उनीहरुलाई हलबाहिर निकालेको थापाले जनाए । घटनास्थलमा सशस्त्र र नेपाली प्रहरीले कडा सुरक्षा दिइरहेका छन् ।


बर्दिवासमा मंगलवार प्रदेश २ अर्न्तगतका बारा र पर्साबाहेक पूर्वका ६ जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम राखिएको थियो । शपथग्रहणमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल बर्दिवास आउने जनाइएको थियो । तर विवाद चर्कँदै गएपछि उनीहरुको आउने कार्यक्रम बीचैमा रद्द गरिएको छ ।


शीर्ष नेता नआउने भएपछि प्रदेश अध्यक्ष प्रभु साहको उपस्थितिमा शपथ ग्रहण गराउने निधो गरियो । त्यसपछि पनि असन्तुष्ट पक्षको विरोध साम्य भएन । उनीहरुले मनोयनमा कार्यकर्ताको मूल्याङ्कन नभएको , पार्टी नेताले एकलौटी गरेको भन्दै विरोध जारी राखेका छन् । केही कार्यकर्ता आ-आफ्नो जिल्लाको साटो बर्दिवासमा शपथ कार्यक्रम राखेकोमा पनि असहमत देखिन्थे । नेताहरुले विवाद समाधान नगरी आफूखुशी शपथग्रहण गराउन खोजेकाले तनाव सृजना भएको असन्तुष्ट पक्षधरको भनाइ छ । केहीले हल परिसरको मुख्य गेट घेराउ गरी धर्ना दिइरहेका छन् ।

विवाद थप चर्कँदै गएपछि नेताहरुले ४ जिल्लाको शपथ कार्यक्रम स्थगन गरी सिरहा र सप्तरीका कमिटीलाई मात्र शपथ ग्रहण तय गरेका थिए । शपथ कार्यक्रमका लागि बर्दिवासको सेवा सदन हलभित्र नेता र कार्यकर्ता प्रवेश गरेको केहीबेरमै हो-हल्ला र कुर्सी भाँच्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।


यो समाचार तयार पार्दासम्म हलमा हजारबढी कार्यकर्ताको भीड छ । भित्र प्रदेश सह-इञ्चार्ज महेन्द्र पासवान र प्रदेश सचिव सुमन प्याकुरेल छन् । प्रहरीले कडा सुरक्षा दिइरहेको छ । उनीहरुले स्थगनको सूचना नटाँसेसम्म हलबाट नजाने बताएका छन् ।


बर्दिवासमै रहेका नेकपा केन्द्रीय सदस्य राजु खड्काले असन्तुष्टि व्यक्त गर्ने नाममा तोडफोड र नेताहरु विरुद्धको अभद्र व्यवहार जस्ता घटना घटनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले समस्याको शान्तिपूर्ण समाधानका लागि छलफल भइरहेको जनाए ।

प्रकाशित : भाद्र २४, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्

सबै मिलेर आत्महत्या रोकथाम गरौं   

सन्दर्भ: विश्व आत्महत्या रोकथाम दिवस
प्रा.डा. धनरत्न शाक्य  

आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामका लागि सबै मिलेर काम गरौं’ नाराका साथ आज यो दिवस मनाइदैछ । 

आफैंलाई हानीनोक्सानी गर्ने सोचविचार, आशय, आवेग, प्रयास र त्यसबाट ज्यान जाने अवस्था आफैंमा दुःखद र विष्मयपूर्ण छ । यद्यपि यो समस्या विश्वभरी नै व्याप्त छ । नेपाल आत्महत्याको समस्याको हिसाबले हेर्दा समस्याग्रस्त राष्ट्रमा पर्छ ।

हिजोआज आत्महत्याका जैविक, मनोसामाजिक तत्वहरु हामीकहाँ बचावट गर्ने किसिमले भन्दापनि आत्महत्यातिर दोहर्‍याउने हिसाबले बढ्दै गएको पाइन्छ । यो समस्याले हामीलाई कुनै न कुनै रुपमा सताउन सक्छ । त्यसैले हामी यसबाट सचेत हुन जरुरी छ ।

आत्महत्याको समस्या एउटा बहुआयामिक समस्या हो । यसमा सामाजिक, सांस्कृतिक, वातावरणीय, व्यक्तिगत, पारिवारीक, आर्थिक लगायत स्वास्थ्य, नैतिकता र आत्महत्या गर्न प्रयोग हुने साधनको सरल पहुाच र नियम कानूनको अवस्था आदिले पनि ठूलो भूमिका खेल्दछन् । जीवन र जगत्मा विद्यमान विसंगति, विखण्डन, प्रतिकूलता, समस्या, विश्रंखलता, अशिक्षा, अभाव जस्ता यावत् कुराहरु जसले मानसिक अवस्थामा विचलन र मनोरोग पैदा हुनजान्छ, तिनले आत्महत्या र आत्महानीको समस्या निम्तिन सक्छ ।

एकातिर यी यावत् कुराहरुमा अनुकूलता ल्याउने कोसिस जरुरी हुन्छ भने साथमा यी प्रतिकूल परिस्थितिहरुसँग जुध्ने मन, स्वभाव र परस्परको साथ सहयोगलाई स्वस्थ र अनुकूल राख्न आवश्यक हुन्छ । तत्कालीक वा दीर्घकालीन तनाव, मनोरोग तथा नशालु पदार्थको सेवन र लत जस्ता कुराहरुले बचावटका तत्वहरुलाई कमजोर पारेर आत्महत्याको सम्भावनालाई प्रबल पार्ने गर्दछ ।

अतःआत्महत्याको प्राथमिक रोकथाम स्वरुप हामीकहाँ हामीलाई लागू हुने आत्महत्याका बचावट र खतराजन्य दुवै खालका तत्वहरुको पहिचान गरेर सूचित हुन अत्यावश्यक भएको छ । आत्महत्यालाई बढावा दिने उदासिन मनोरोग डिप्रेसन सहित नशा सेवन र लत र अरु मानसिक रोगहरुको समयमै पहिचान र उपचार गर्न आवश्यक हुन्छ । जीवनका सुरुवाती चरण स्कूलदेखि नै तनाव बहनका कला, सिप र ज्ञान अनिवार्य रुपमा पाठ्यक्रममा नै समावेश गर्न जरुरी छ ।

जाँड, चुरोट, रक्सी लगायतका अन्य नशालु पदार्थको सेवन र लतबारे सचेत, सतर्क र जागरुक हुनुका साथै यसदेखि टाढा रहन पनि उत्तिकै आवश्यक छ । मानसिक रोग र आत्महत्याबारे नकारात्मक र मिथ्या धारणा हटाएर वैज्ञानिक र सत्यतथ्यको प्रसार गर्न हतार भएको छ । परिवार, समाज, कार्यालय, मन्दिर सबै क्षेत्रमा विद्यमान विभेद, विसंगति, प्रतिकूलताहरु कम गर्न र अनुकूल वातावरण बनाउन सबै नै क्रियाशील रहन आवश्यक हुन्छ जुन विकसित र सभ्य देशहरुबाट हामीले सिक्नुपर्ने हुन्छ । एकांगी होइन, समग्र र सिंगो विकास र स्वास्थ्य आत्महत्याको प्राथमिक रोकथामसाग अन्योन्याश्रित रुपमा जोडिएर आउँछ ।

केहि गरेर आत्महत्याका विचार आएमा वा प्रयास हुन पुगेमा अन्तरनिहित कारण मानसिक रोग, तनाव र अन्य मनोसामाजिक तत्वहरु केलाएर उपचार र व्यवस्थापन गर्नतिर सबै लाग्न आवश्यक हुन्छ । आत्महत्यालाई कानूनी अपराधको रुपमा हेरेर आवश्यक स्वास्थ्य सेवालाई निरुत्साहित गर्दा समस्या ज्यूँका त्यूँ रहने कुरा अब पनि नेपाली समाजले नबुझ्ने हो भने यो समस्या अरु बढी बिकराल बन्ने देखिन्छ ।

साथमा, आत्महत्याको समस्याले पिडित व्यक्ति, परिवारजनलाई हेर्ने कुण्ठित दृष्टिकोणमा परिवर्तन गर्न पनि उत्तिकै जरुरी हुन्छ । मानसिक रोग विशेषज्ञको रुपमा मेरो डेढ दशक बढी लामो अवलोकनमा आत्महत्याको कुरै गर्न नचाहने, मैले आत्महत्याबारे लेखेको पुस्तक हेर्न पनि नचाहेको अभिव्यक्ति दिने कतिपय बुद्धिजीवी र स्वास्थ्यकर्मीहरु पछि आत्महत्याको प्रकरणले आक्लान्त भएको देखेको छु । त्यसैले, मेरो बुझाइमा सबैले मानसिक समस्या र आत्महत्याबारे सचेत र सजग रहनुको विकल्प छैन । हरेक वर्ष यो दिवसले यस विषयमा झक्झकाएजस्तै लाग्छ ।

आत्महत्याको प्राथमिक रोकथाम, उपचार र आत्महत्या उपरान्त आफन्तजन र परिवारमा पर्ने असरको व्यवस्थापन जस्ता रोकथामका विविध तहहरुमा पिडित वा रोगी, परिवारजन, साथीभाई, सहकर्मी, चिकित्सक परिवार, समाज र सबैले आआफ्नो तर्फबाट वाञ्छित भूमिका निर्वाह गर्न आवश्यक हुन्छ । आत्महत्याको खतरासूचक लक्षण वा आत्मघाती व्यवहार देखिएमा ढिला नगरौं, सिघ्र आवश्यक कदम चाल्न जागरुक होऔं, पीडित व्यक्तिको समस्या सुनेर गम्भीरताबारे मनन गरौं । आफैं तत्पर भएर ऊप्रतिको आफ्नो सरोकार र आशय कुनै रुपमा व्यक्त हुन दिऔं अनि हेरविचार गरौं । यथासिघ्र विशेषज्ञको सेवा/उपचार लिऔँ । सम्बन्धित उपचारकर्ता, परामर्शदाता, मनोचिकित्सक वा नजिकको क्राइसिस इन्टरभेन्सन वा सुसाइड हटलाइनको सम्पर्कमा जाऔं ।

आफ्नो ज्यान लिने वा आफूलाई हानीनोक्सानी पुर्‍्याउने सोचविचार, आशय, आवेग, हुत्हुती आउने वा प्रयास भएको व्यक्तिले पनि आफ्नो तर्फबाट यथाशक्य सकारात्मक भूमिका निभाउन आवश्यक हुन्छ । आत्महत्या गर्ने विचारले आफैंलाई सताएको बेलामा :

  • सघाउन सक्ने अनुभवी व्यक्तिहरुको सम्पर्कमा जाऔं । यस्ता व्यक्तिहरुको नाम र सम्पर्क नम्बरहरु सरल पहुँचमा राखौं ।
  • मन शान्त पार्न गर्न सकिने कुराहरुको सूची तयार राखौं ।
  • नशा वा लागूपदार्थको सेवन नगरौं ।
  • आज एक दिन हेरौं, पर्खौं ।
  • आफूलाई सघाउने र चाहने मानिसहरुलाई सम्झौं ।
  • मनोरोग र आत्महत्याबारे सही जानकारी राखौं । आवश्यक उपचारमा जाऔं ।

कसैले आत्महत्याको खतरासूचक लक्षणहरु देखाएमा परिवारजन, साथीभाई, सहककर्मी, नातेदार, छरछिमेक सबैले :
  • आत्महत्याको चेतावनीलाई बेवास्ता नगरौं ।
  • उसको कुरा ध्यान दिएर सुनौं ।
  • ऊसँग सीधा र स्पष्ट रुपमा उपयुक्त ढंगले कुरा गरौं ।
  • उसको क्रियाकलापले आश्चर्य चकित भएको भाव जाहेर नगरौं । यसबारे सत्यतथ्य जानकारी राखेर मिथ्य हटाउन सहयोग गरौं ।
  • उसलाई सघाउन परिवारजन र सम्बन्धित सबैको सहयोग जुटाऔं ।
  • कसरी आत्महत्या गर्ने योजना गर्दैछ भन्ने बुझ्ने कोसिस गरौं ।
  • आत्महत्या गर्ने बन्दूक, दबाइ, विष, चक्कू, डोरी, लागूपदार्थ, नशा जस्ता कुराहरु उसको पहुँचबाट हटाऔं ।
  • बिरामीलाई आफ्नो समस्या समाधान गर्न र पछि रचनात्मक रहन सघाऔं ।
  • आफ्नो व्यक्तिगत सुरक्षाको पहिले ख्याल गरौं ।
  • आवश्यक उपचार र फलोअप् गर्न बिरामीलाई सघाऔं ।

सबै विषयका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अन्य लक्षणहरु सहित आफ्नो सम्पर्क वा सेवामा आएका मानिसहरुमा मानसिक रोग र आत्महत्याको खतरासुचक लक्षणहरु छन् कि भनी सतर्क रहन र यस्तो बेलामा के उपयुक्त उपाय गर्ने भनी सूचित रहन जरुरी हुन्छ ।

आफ्ना विद्यार्थीहरुमा यस्ता खतरासूचक लक्षणहरुको ख्याल राखेर उचित कदम उठाउने दायित्व अब शिक्षकहरुले पनि उठाउने बेला आएको छ । पीडित मात्र होइन अब जानीनजानी कसैलाई तनाव दिने र अरु मानिस पीडित भएको साक्षी भएका मानिसहरुले पनि यो याद राखौं कि आफू कसैले आत्महत्या जस्तो दुःखान्त परिणति भोग्नमा जोडिन नपरोस् किनकि आज कसैलाई परेको कुरा भोलि आफैंलाई पनि पर्नसक्छ ।

आत्महत्या वास्तवमा एउटा समाज कुन स्थितिमा छ भन्ने कुराको प्रबल मानक हो जुन मानव जीवन र समाजका विविध पक्षहरुबाट प्रभावित हुन्छ । उच्च आत्महत्याको समस्या भनेको समाजको अधोगति, विसंगति, अस्वस्थता र अव्यवस्थाको सतिक मानक मान्न सकिन्छ ।

कार्यालय, समाज, राज्य, देश विभिन्न तहमा नेतृत्व दिने नेता, शासक, व्यवस्थापकहरुले यस विषयमा संवेदनशील भएर इमान्दार प्रयास गर्न आवश्यक भएको छ । बिरामी, परिवारजन, समाज, राज्य, चिकित्सक सम्बन्धित सबैको कोसिसमा मात्र यो गम्भीर समस्या कम गर्न सकिनेछ । यस वर्षको नाराले यसतर्फ मनन् गर्न पुनः आहृान गरेको छ ।

लेखक वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।

प्रकाशित : भाद्र २४, २०७६ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×