स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी मंगलबार अपराह्न विशेष विमानबाट स्वदेश फर्केका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरे।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए। उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बेग्लाबेग्लै भेटेर समसामयिक राजनीतिक परिस्थितिबारे विचारविमर्श गरेका थिए।

त्यसअघि दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो। वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। मन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका थिए।

प्रकाशित : भाद्र २४, २०७६ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले अनावश्यक हस्तक्षेप गरिरहे संसद अवरुद्ध गर्ने देउवाको चेतावनी

विनु तिम्सिना

विराटनगर — नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रेसलाई रोक्ने कसरतमा लागिपरेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले कम्युनिष्टको सरकार आएदेखि देशमा सबैकुरा बिग्रँदै गएको आरोप लगाए । ‘कम्युनिष्ट सरकार खराब होइन तर, कम्युनिष्ट स्टेट ल्याउने खेल हुँदैछ,’ देउवाले भने, ‘सरकार आएदेखि सबै कुरा बिग्रिएको छ ।’

प्रेसमाथि अंकुश लगाउने, न्यायलयमा हस्तक्षेप गर्ने, प्रशासनमा हस्तक्षेप गर्ने जस्ता गर्नै नहुने काम वर्तमान सरकारले गरिरहेको बताउँदै सभापति देउवाले यसलाई नसच्याए संसद अवरुद्ध गर्ने चेतावनी दिए ।
‘मिडिया काउन्सिल विधेयक राम्रो हो ?’ सञ्चारकर्मीहरुलाई प्रश्न गर्दै उनले भने, ‘यस विषयमा त तपाईंहरुलाई बढी चिन्ता हुनुपर्ने हो नि त । दुईतीन लाख दण्ड गर्ने विधेयक थियो । अहिले फेरि लेख्न नपाउने खालको आएको छ ।’

एनसेलको करका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूले अध्ययन गर्न बाँकी नै रहेको बताउँदै सभापति देउवाले न्यायाधीशहरुलाई महाअभियोग लगाउने भन्दा पुनरावलोकनको मुद्दा दिनुपर्ने बताए । देउवाले संवैधानिक बाध्यता रहेको कारण कांग्रेसको राष्ट्रिय अधिवेशन अगाडि नै अन्तरिम खालका प्रदेश समिति बन्ने बताए ।

प्रकाशित : भाद्र २४, २०७६ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्