कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेचे भाषामा पढाइ

‘मेचे भाषाबाट स्कुलमा पढाइ सुरु भएको यो मुलुकमै पहिलो हो । यसले भाषाको संस्थागत विकास हुने आशा छ ।’
अर्जुन राजवंशी

बिर्तामोड — आदिवासी मेचे जातिको भाषा संरक्षणका लागि विद्यालयस्तरमा पठनपाठन सुरु भएको छ । हल्दीबारी गाउँपालिकाले सीमान्तकृत मेचे भाषाको पाठ्यपुस्तक तयार गरी दीपेन्द्र प्राथमिक विद्यालयमा पठनपाठन सुरु गराएको हो ।

मेचे भाषामा पढाइ

हल्दीबारी ४ स्थित दीपेन्द्र प्राविमा १ सय ३१ जना विद्यार्थी छन् । उनीहरूमध्ये ५५ जना मेचे जातिका विद्यार्थी रहेको प्रधानाध्यापक दीर्घराज आचार्यले बताए । विद्यालय नजिकै करिब एक सय घरपरिवारको बसोबास रहेको मेचे बस्ती छ । पहिलो वर्ष कक्षा १ को पाठ्यपुस्तक तयार गरिएको छ ।


‘जङ्नी राउ’ अर्थात् हाम्रो भाषा नामक पाठ्यपुस्तक मेचे जातिका भाषाविद् सन्तलाल मेचेले तयार पारेका हुन् । पुस्तकमा ३७ भाग र ९५ पृष्ठ छन् । पुस्तकमा मेचे जातिको भाषा, भाषिक व्याकरण, पुराना शब्द, अक्षर, अंक, परम्परागत चिह्न, रहनसहन, घरआँगन, मानसम्मानमा प्रयोग गर्नुपर्ने शब्दलगायत विषयवस्तु समेटिएका छन् ।


‘सीमान्तकृत मेचे जातिको भाषा संरक्षण तथा बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्न गाउँपालिका आफैं अग्रसर भएर पठनपाठन सुरु गराएका हौं,’ गाउँपालिका उपाध्यक्ष डम्बर गिरीले भने । मेचे भाषाको पठनपाठनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।


‘हाम्रो भाषाबाट स्कुलमा पढाइ सुरु भएको यो मुलुकमै पहिलो हो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा सदस्य महेश मेचेले भने, ‘हामीले यसलाई ठूलो उपलब्धिका रूपमा लिएका छौं । यो पढाइले हाम्रो भाषाको संस्थागत विकास हुने आशा छ ।’

अचेल घर गाउँमा नेपाली भाषा नै बोल्ने गरिएकाले पछिल्लो पुस्तामा मेचे भाषाको ज्ञान नभएको उनले बताए । जातीय संस्था ‘मेचे सिबियारी आफात’ ले भाषागत पुस्तक प्रकाशनको प्रयास गरे पनि सफल नभएको तर हल्दीबारी गाउँपालिकाले उक्त कार्य पूरा गरिदिएको भन्दै उनले खुसी व्यक्त गरे ।


मेचे भाषा अध्यापनका लागि दीपेन्द्र प्राविमा गाउँपालिकाले एक जना शिक्षिका व्यवस्था गरेको प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । अति विपन्न तथा सीमान्तकृत मेचे जातिको ठूलो बसोबास मेचीनगर नगरपालिकामा छ । ०६८ को जनगणनाअनुसार मेचे जातिको जनसंख्या ४ हजार ८ सय ६७ छ ।

प्रकाशित : भाद्र २३, २०७६ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?