पूर्वमाओवादी जनप्रतिनिधिको भोगाइ : युद्धमा देखेका सपना पूरा गर्न धौधौ

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा ‘राज्यसत्ता बदल्न’ १० वर्ष सशस्त्र युद्ध लडे । उतिबेला उनले देखेको सपना थियो– समानतामा आधारित राज्यसत्ता स्थापना गर्ने । उनले उतिबेला अरुलाई पनि यही सपना बाँडेका थिए ।




अहिले शर्मा चौरजहारी नगरपालिकाका नगर प्रमुख छन् । चौरजहारीको सत्ताको साँचो उनको हातमा छ । तर, दुईवर्षर् ेअनुभव सुनाउँदै उनी भन्छन्, ‘सपना देख्नु र पूरा गर्नु फरक कुरा रहेछ ।’ उनीमात्र होइन, राज्य पुनःसंरचना र १० वर्षे सशस्त्र द्वन्द्वपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमका सबै तहमा जनयुद्ध लडेकै व्यक्ति जनप्रतिनिधि छन् ।

प्रदेश र संघको सत्तामा समेत युद्धरत पक्षको वर्चस्व छ । ‘सत्ताको बागडोर हातमा भए पनि सत्ता चलाउनलाई हातखुट्टा बाँधिएका छन्,’ नगर प्रमुख शर्मा भन्छन्, ‘यसले गर्दा हिजो देखेका सपना पूरा गर्न सकिएको छैन ।’

राज्यसत्ता फेर्ने भन्दै मुसीकोटका देवीलाल गौतम सन्तानलाई समेत साथमा लिएर जंगल पसे । लडाइँको क्रममा छोरी–ज्वाइँलाई गुमाए । सशस्त्र द्वन्द्वकालमा उनले युद्धमोर्चामा विभिन्न भूमिका निर्वाह गरे । अहिले मुसीकोट नगरपालिकाको सत्ताको बागडोर उनको हातमा छ । ‘जनयुद्धमा सहादत भएका मेरा सन्तानको सपना पनि जनताको सत्ता स्थापना गर्ने भन्ने थियो,’ उनी भन्छन्, ‘सत्तामा त पुगियो, तर भनेअनुसार काम गर्न नपाउँदा सपना पूरा भएको आभाष हुन सकेको छैन ।’

जिल्लाका ६ वटै स्थानीय तहमा प्रमुखसहित कार्यकारी भूमिकामा रहेका अधिकांश जनप्रतिनिधि युद्धकालीन कार्यकर्ता छन् । ७३ मध्ये ३८ वडाध्यक्ष युद्धकालमा भूमिगत भएका कार्यकर्ता छन् । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा पनि तत्कालीन राज्यसत्ता फेर्न भन्दै जंगल पसेका नेता हुन् । यद्यपि नयाँ सत्ताको साँचो हातमा आउँदा पनि उनीहरूले सन्तोषको स्वास फेर्न पाएका छैनन् ।

सबैलाई समान हक–अधिकार, धनी–गरिबीबीच दूरी नहुने, शिक्षा–स्वास्थ्यजस्ता आधारभूत आवश्यकता निःशुल्कजस्ता मुद्दा युद्धकालीन समयका मिठा सपना थिए । मुसीकोट–खलंगा बहुमुखी क्याम्पसका प्रमुख मुकुन्दप्रसाद शर्मा नयाँ अभ्यासबाट जनताका अपेक्षा पूरा हुन नसकेको बताउँछन् ।

‘हिजो विकास र परिवर्तन नहुनुमा पुरानो सत्तालाई दोष दिइन्थ्यो, अहिले त नयाँ सत्ता आयो, काम गर्न के ले रोक्यो,’ उनी भन्छन्, ‘आफ्नै हातमा सत्ता आएपछि जनताको चाहना स्वाभाविक रूपमा बढेको छ, जो पूरा हुन सकेको छैन ।’ तलदेखि माथिसम्म आफ्नै सरकार भएकोले विभिन्न बहाना बनाएर धेरै सयमसम्म जनतालाई भ्रममा पार्न नहुने उनले बताए ।

स्थानीय तहलाई नीति–कार्यक्रम र बजेट निर्माणको अधिकार दिइएको छ । तर, हिजो सोचेजसरी नीति र कार्यक्रम बनाएर कार्यान्वयन गर्न नसकिएको उनीहरू बताउँछन् । युद्धकालमा बटालियन सहायक कमान्डरसम्म भएका नवीन ओली अहिले मुसीकोट–९ का वडाध्यक्ष छन् । उनी आफैंलाई आफ्नो र वडाको कामप्रति चित्त बुझेको छैन । ‘जनतालाई आश्वस्त पार्न नसक्दा हामीले लिएको स्कुलिङभन्दा फिल्ड धेरै फरक परेछ जस्तो लागेको छ,’ उनी भन्छन्, ‘हामी आफैंले पाएको अधिकारसमेत प्रयोग गर्न सकेका छैनौं ।’

सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन बिभिन्न बहानामा स्थानीय सरकारलाई कमजोर बनाइएको बताउँछन् । संघ र प्रदेशबाट धेरै बजेट परिचालन हुने र स्थानीय तहमा १५ प्रतिशत मात्रै बजेट आउने परिपाटीले जनताका आधारभूत आवश्यकता पूरा गर्न कठिन भएको उनले बताए । ‘हिजो हामी यो पुगेन, त्यो पुगेन भन्ने ठाउँमा थियौं,’ उनले भने, ‘आज हामी गर्ने ठाउँमा पुगेका छौं, तैपनि भनेजसरी काम गर्न सकेका छैनौं ।’ आर्थिक अधिकार सीमित हुनु र स्रोतसाधन बाँडफाँड गर्दा स्थानीय सरकारलाई निरीह बनाइएको उनले बताए ।

बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी पनि संविधानमा तीनवटै सरकारका अधिकार र दायित्वबारे स्पष्ट हुँदाहुँदै माथिल्लो तहबाट अधिकारमाथिहस्तक्षेप भएको बताउँछन् । यस्तो अवस्थामा निर्णय गरिहाले पनि कार्यान्वयनमा चुनौती देखिने गरेको
उनले बताए । ‘यस्तो प्रतिकूलताबीच पनि जनतालाई अनुभूति हुने गरी स–साना काम थालेका छौं,’ उनले भने, ‘सडक, खानेपानी, शिक्षा, स्वास्थ्यमा गरिएका केही नयाँ कामले ५ वर्षभित्र जनताले परिवर्तनको महसुस गर्नेछन् ।’

युद्धकालीन सपना पूरा गर्न बजेट र कानुनीअड्चन अवरोधक भएको जनप्रतिनिधिहरूको भनाइ छ । स्थानीयस्तरमा विकासको चाहना तीव्र भए पनि केन्द्र सरकारले माग गरेअनुसार बजेट दिन नसकेको चौरजहारीका नगर प्रमुख शर्माले बताए । यति हुँदाहुँदै पनि चौरजहारीमा १ देखि ५ कक्षासम्मको शिक्षा पूर्णरूपमा निःशुल्क गरिएको छ ।

बालबालिकाको कापी–कलमदेखि लत्ताकपडासम्म स्थानीय सरकारले व्यहोर्छ । गरिब तथा विपन्नको स्वास्थ्य बिमा, किसानलाई अनुदान, एक घर एक धाराजस्ता कार्यक्रमले थोरैभए पनि परिवर्तनको अनुभूति दिने काम भएको शर्माले बताए ।

युद्धमा सहिद भएका व्यक्तिका परिवार अझ बढी निराश छन् । साविक रुकुम जिल्लामा सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट ५ सय ७८ र विद्रोही पक्षबाट ८७ जनाको मृत्यु भएको थियो । द्वन्द्वमा पति गुमाएकी रती केसी ‘हिजो पार्टीले देखाएको सपना पूरा गर्ने क्रममा मृत्युवरण गरे पनि अहिले सबै सपना हावामा उडेका बताउँछिन् । ‘उतिबेला हामीले देखेको सपना सीमित व्यक्तिले जागिर खाने, गाडी–घोडा चढ्ने भन्ने थिएन,’ उनले भनिन्, ‘सबैको लागि समान अधिकार र सहज सेवासुविधा थियो ।’

स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारहरूले युद्धकालीन सपना बाँडेका थिए । यसले मतदातालाई पनि चिढाएको छ । त्रिवेणीका अम्मरबहादुर खड्का चुनावको बेला कायापलट पार्छौं भन्नेहरू सत्तामा पुगेपछि निरीह भएको बताउँछन् । ‘न जनयुद्धका सपना पूरा भए, न चुनावका प्रतिबद्धता,’ उनले भने, ‘हामी मतदाताका दुःख र दैनिकी अहिले पनि हिजोजस्तै गरी बितिरहेका छन् ।’

प्रकाशित : भाद्र २३, २०७६ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्

दुईपांग्रे सवारीकै भर

ठूलीभेरी नदीमा पुल नबनेपछि हिउँदमा सवारीसाधन गन्तव्यमा पुग्दैनन् भने वर्षामा बढ्ने अरु साना खोलाका कारण गाडी गुड्दैनन् 
हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका ९, राडीमा रहेको नगरपालिकाको केन्द्रबाट वडा ६ को त्रिवेणीसम्मको दूरी ४२ किमि छ । डोल्पा–जाजरकोट सडकमार्फत सर्वसाधारण नगरपालिकाको केन्द्र र गाउँ आउजाउ गर्छन् ।

डोल्पा–जाजरकोट खण्डअन्तर्गत रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको राडीबाट त्रिवेणीतर्फ जाँदै गरेका मोटरसाइकल । तस्बिर : हरि/कान्तिपुर 

जाजरकोट–डोल्पा सडक बाह्रैमहिना चल्छ, तर अपूरो । हिउँद र वर्षा दुवै समय राडीबाट त्रिवेणी चारपांग्रे गाडी पुग्दैनन् । अहिले मोटरसाइकल हुनेहरू मात्र यात्रा गर्न पाउँछन् । नहुनेले पैदलै हिँड्नुपर्ने बाध्यता छ ।

डोल्पा–जाजरकोट खण्ड भएर नगरपालिका ३ को केही ठाउँको साथै ४, ५ र ६ वडाका सर्वसाधारण राडी आउनुपर्छ । ‘हामी हाम्रो नगरपालिका पुग्न अत्यन्त मुस्किल छ,’ वडा ६ का अध्यक्ष चन्द्रसिंह खत्रीले भने, ‘हाम्रा लागि वर्षा लाग्यो भने यो सडक हुँदैन, घोडेटो बाटोमा परिणत हुन्छ ।’

गन्तव्यमा गाडी नपुग्ने र महँगो भाडाका कारण वर्षाभरि पैदलै यात्रा गर्नुपर्ने बाध्यता रहेको खत्रीको भनाइ छ । उक्त सडकमा हिउँदमा समेत गन्तव्यसम्म गाडी पुग्दैनन् । ठूलीभेरी नदीमा पुल नबनेपछि हिउँदमा गाडी गन्तव्यमा पुग्दैनन् भने वर्षामा बढ्ने अरु साना खोलाका कारणले गाडी गुड्दैनन् । सडक बने पनि पुल नबन्दा दुःख पाउने आठबीसकोट नगरपालिकाका ४ वडाका सर्वसाधारण मात्रै भने होइनन जाजरकोटको नलगाड नगरपालिका र डोल्पा जाने आउनेले पनि ठूलो दुःख पाउँदै आएका छन् ।

राडी पुग्दा वा राडीबाट माथितिर लाग्दा नै ठूलो समस्या छ । राडीबाट जाजरकोटको बगरा पुग्न झोलुंगे पुल मात्रै छ । त्यसैले राडीबाट सीधै त्रिवेणीसम्म चारपांग्रे चल्दैनन् । चारपांग्रे चढ्न जाजरकोट नगलगाड नगरपालिकाको बगरा पुग्नुपर्छ । राडी र बगरा जोड्न ठूलीभेरी नदीमाथि पुल नबन्दा सर्वसाधारणले समस्या व्यहोरिरहेका छन् ।

वर्षामा राडी र बगराबीचको झोलुंगे पुल, जाजरकोट नलगाड नगरपालिकाको तातरीगाड र चौखेबजार नजिकको खोलाले चार पांग्रेगुड्न दिँदैनन् । त्यसपछि जाजरकोटको नलगाड नगरपालिकाबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको छोटेबगर पुग्दा अर्को झोलुंगे पुल तर्नुपर्छ । त्यहाँ पनि पुल नबन्दा ठूलो समस्या छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ६ नम्वर वडाको रिजिगाड र दामाचौरको खोला पनि चारपांग्रेले तर्न सक्दैनन् । यसले गर्दा स्थानीयले समस्या व्यहोरिरहेका छन् । हिउँदमा जसोतसो चल्ने डोल्पा–जाजरकोट सडकमा वर्षा लागेपछि थप समस्या हुन्छ ।

‘नजिकै दूरीमा गाडी चढ्दा पनि महंगो भाडा पर्छ, दुईपांग्रे सबैले चढ्नसक्ने कुरा भएन,’ छिमी गाउँका मोती रोकायले भने, ‘त्यसैले वर्षामा सडक भए पनि नभएजस्तै हुन्छ ।’ ठाउँठाउँमा गाडी फेर्दै हिड्दा भाडा महंगो पर्न जाने उनको गुनासो छ । उनका अनुसार झण्डै १८ देखि २० किमि यात्रा गर्दा एक हजार एक सय भाडा तिर्नुपर्छ । उनले चार वटा गाडी नफेरि घर नपुगिने जनाए । दुईपांग्रे चढ्नेले धकेल्दै यात्रा गरिरहेको उनले सुनाए ।

स्थानीयका अनुसार ६ वटा झोलुंगे पुल तरेर मात्र मोटरसाइकलमा यात्रा गर्न सकिन्छ । झोलुंगे पुलमा पनि जोखिमका साथ यात्रा गर्नुपर्ने अवस्था रहेको आठबीसकोट नगरपालिका–११, का प्रेमबहादुर पुनले बताए ।

डोल्पालाई मुख्य सडकमा जोड्ने महत्वपूर्ण सडक भए पनि आवश्यक पुल नबन्दा समस्या भएको आठबीसकोट नगर प्रमुख गोर्खबहादुर केसीले बताए । पुल निर्माणका लागि सम्बन्धित सबै निकायमा आग्रह गरिए पनि त्यसको खास सुनुवाइ नभएको उनको गुनासो छ ।

‘यो सडकसँग दुर्गमका धेरै सर्वसाधारणको दैनिकी जोडिएको छ, यसलाई निरन्तरता दिन ठूलीभेरी र अन्य खोलामा पुल बन्नैपर्छ,’ नगरप्रमुख केसीले भने, ‘त्यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ ।’ आठबीसकोट नगरपालिकाको चिसापानी र नलगाड नगरपालिका जोड्ने पुल बनेपनि आठबीसकोट नगरपालिकाका सबैलाई त्यसले नसमेट्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्