कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा मनाइयो भदौरे दसैं 

हरिराम उप्रेती

गोरखा — दसैं आउन एक महिना बाकीँ छ । नेपाली पात्रोअनुसार असोज १२ गते घटस्थापनाको दिन जमरा राखिन्छ । २१ गते दसैं परेको छ । यहाँका केही समुदायले भने भदौ १४ गते जमरा राखेर आइतबार टीका र जमरा लगाइ दसैं मनाएका छन् ।

गोरखामा मनाइयो भदौरे दसैं 

बिहान १० बजेको शुभ साइतमा सामूहिक रुपमा टीका लगाइएको सिरानचोक गाउँपालिका–४ छोप्राकको नेवा गुठी समाजका कुमार श्रेष्ठले बताए । पर्व सुधारअनुसार आइतबार दशमी परेको उनको बुझाइ छ ।


गुठी समाजमा आवद्ध ४८ घरले मकै र जौको जमरा १४ भदौमा राखेका थिए । ‘अस्ति अष्टमी राँगो काट्यौं, हिजो नवमी पूजा गर्‍यौँ, आज दसैं मनाएका हौँ,’ उनले भने । २०६९ सालयता एक महिनाअघि दसैं मनाउन थालेको उनले बताए । ‘खगोल विज्ञानलाई आधार मान्दा २४ घण्टाको एक दिन भनिए पनि ३ दशमलव २७ सेकेण्ड अपुग हुन्छ, दिनदिनै समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुन्छ, २०७६ सम्म आइपुग्दा २४ दिन अघि सरिसक्यो,’ उनले भने, ‘गणितीय र तिथिको हिसाबले दसैं आजै पर्छ ।’


विभिन्न कारणले तिथिहरु एक महिना अघि सरेको भन्दै पर्व सुधारका लागि यहा अभियान चल्दै आएको छ । अबको दसैं सामान्य तवरले मानिने स्थानीय बताउँछन् । ‘सुरुका वर्षमा नौलो लाग्थ्यो, मान्दै आएपछि सहज भएको छ,’ उनले भने, ‘अब आउने दसैं सामान्य तवरले मान्छौं, अहिलेको जस्तो धुमधाम हुँदैन ।’


सिरानचोक गाउँपालिकाको श्रीनाथ मण्डलीमा पनि सय स्थानीय भेला भएर आइतबार सामूहिक रुपमा टीका र जमारा लगाइ दसैं मनाएको उनले बताए । पर्व सुधारको नाउमा छोप्राकका अधिकांश विद्यालयहरुमा पनि भदौरे दसैं मनाइयो । टीका र जमरा थाप्न लाइनवद्घ विद्यार्थीहरु भने पर्व सुधारको बारेमा अनविज्ञ थिए । चोरकाटेको धर्मावती माविमा लाइनबद्ध विद्यार्थीलाई शिक्षकले टीका र जमरा लगाए । प्रसादको रुपमा जेरीपुरी बाडेँ । ‘पर्व सुधारको क्यालेन्डरअनुसार आज दशमी तिथि परेको थियो,’ विद्यालयका प्रध्यानाध्यापक भरत पोखरेलले भने,‘यसरी सामूहिक दसैं २०६९ सालबाट मनाउन थालेका हौँ ।’


गोरखा सदरमुकामको राधावलेश्वर मन्दिरमा पनि स्थानीयले टीका र जमरा लगाए । पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति सदस्य सचिव हरि मल्लको सुझावमा विगत ७ वर्षदेखि यही समयमा यहाँका स्थानीयले दसैं मान्दै आएका छन् ।


हरेक २१५० वर्षमा ऋतृ एक महिनाअघि सर्ने हुँदा हाल चलिरहेको पात्रोअनुसार सूर्य उत्तरायण र दक्षिणायन हुने तथा ऋतु पनि एक महिनाअघि सरेर परिवर्तन भएकाले अभियान चलाएको श्रेष्ठले बताए । ऐतिहासिक मितिबाहेक तिथि महिना दिन अघि सर्ने उनको दाबी छ ।


पर्व सुधार गर्न दवाव दिन पनि सांकेतिक रुपमा बर्सेनि एक महिनाअघि दसैं मनाउने अभियान चलाइएको केही स्थानीय बताउँछन् ।


प्रकाशित : भाद्र २२, २०७६ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?