‘आमसञ्चार नेपाल-भारत सम्बन्धको राम्रो सेतु बन्नसक्छ’

रासस

काठमाडौँ — भारतीय जनसञ्चार संस्थान एल्मुनाई एशोसिएशन नेपाल च्याप्टरको पहिलो सम्मेलन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । नवगठित नेपाल च्याप्टरद्वारा आयोजित कनेक्सन २०१९ काठमाडौं नाम दिइएको सो सम्मेलनलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल-भारतको सभ्यताको इतिहास र वर्तमानको सोच समान रहेको बताए ।

'आजको सोच्ने, सम्झने र सहज बनाउने सम्बन्धको सेतु आमसञ्चार बनेको छ, जुन राजनीति र कूटनीतिभन्दा बढी महत्वको छ,' उनले भने।

भारतीय जनसञ्चार संस्थानका महानिर्देशक कुलदीपसिंह धद्वालियाले अब संस्थानका तर्फबाट स्नातकोत्तर शिक्षा दिने तयारी गरेको जानकारी दिए। संस्थानबाट तालीम लिएका र अध्ययन गरेकाहरुको सञ्जाल विश्वभर फैलिएको उनले बताए। संस्थानबाट नेपालबाट मात्र दुई हजार ७०० जनाले तालीम तथा शिक्षा लिइसकेको जानकारी दिए। आमसञ्चारको क्षेत्रमा सो संस्थान दक्षिण एशियाकै अग्रणी मानिन्छ। सन् १९६५ मा स्थापित संस्थानले विकास पत्रकारिताका लागि अध्यापन गराउँदै आएको छ। यसको एल्मुनाई एशोसिएशन भने सन् २०१२ मा स्थापना भएको थियो।

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले संस्थानमा पाएको ज्ञानको आफ्नो पत्रकारितामा महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो। एल्मुनाई एशोसियशन नेपाल च्याप्टरका अध्यक्ष अनिल गिरीले नेपालमा ढिला गरी गठन भए पनि यसमार्फत सिर्जनात्मक गतिविधि अघि बढाउने प्रतिबद्धता जनाए।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्ट, संस्थानका महासचिव हर्षेन्द्रसिंह वर्धन, एल्मुनाई एशोसियशनका सचिव रितेश वर्मा लगायतले एशोसियशनमार्फत आमसञ्चारको ज्ञान र सीप मात्र नभई नेपाल भारत सम्बन्धका विविध आयामलाई अझ सुमधुर बनाउन सहकार्य गरेको उल्लेख गरेका थिए।

कार्यक्रमअन्तर्गत भएको छलफल सत्रमा नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरे, हिन्दुस्तान टाइम्सकी नेसनल पोलिटिकल एडिटर सुनित्रा चौधरी, भारतको एनडीटिभीका वरिष्ठ कार्यकारी सम्पादक मनोरञ्जन भारती, एचटी डिजिटल मिडियाका वरिष्ठ पत्रकार प्रसाद सन्यालले बदलिँदो सञ्चार सञ्जालको बारेमा टिप्पणी गरेका थिए।

सम्मेलनमा नेपाल र भारतका पत्रकारको उल्लेख्य सहभागिता थियो।

प्रकाशित : भाद्र २२, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्

मेयर र उपमेयरमाथि हत्याको आरोप

श्यामसुन्दर शशि

जनकपुर — हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणुकुमारी झामाथि ज्यान मुद्दा सम्बन्धी उजुरी परेको छ ।नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर र उपमेयर समूहबीच भएको भिडन्तमा ढाडको हाड भाँचिएर गम्भीर घाइते भएका तेपेश्वर मण्डलको उपचारको क्रममा बुधबार मृत्यु भएपछि उनीहरु दुवैजना विरुद्ध ज्यान मुद्दा सम्बन्धी उजुरी परेको हो ।

मेयर मण्डलमाथि मृतकका छोराले र उपमेयर झाविरुद्ध मेयर मण्डलका समर्थकले उजूरी दिएका हुन्।

गत साउन २१ गते केन्द्र सार्ने विषयमा विवाद चर्किदा मेयर मण्डल र उपमेयर झा समूहबीच बघचौडा बाजारमा भिडन्त भएको थियो। भिडन्तमा स्थानीय तेपेश्वर मण्डल गम्भीर घाइते भएका थिए। उपचारको क्रममा मण्डलको मृत्यु भएपछि उनका छोरा राजकुमारले मेयर रामज्ञान मण्डल, वडा नम्बर ३ का वडाध्यक्ष उदयकुमार सिंह, कार्यपालिका सदस्य श्याम राउत तथा मेयरका सहयोगी लालबाबू यादव विरुद्ध बिहीबार ज्यान सम्बन्धी कसूर आरोपमा उजुरी दर्ता गराएका थिए।

यस्तै, आइतबार उपमेयर रेणुकुमारी झासहित तीन जनामाथि सोही कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ। मेयर मण्डल समर्थकहरुले आइतबार उपमेयर झासँगै वडा नम्बर २ का वडाध्यक्ष उदय साह वडा नम्बर ४ का किसोरी यादव विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका हुन्।

स्थानीय मनोज कुमार सिंह, शशि कापर तथा सदैय आलमले दिएको उक्त उजूरीमा प्रतिवादीहरुले नै तपेश्वर मण्डललाई लाठी प्रहार गरी सख्त घाइते बनाएको आरोप लगाइएको छ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले दुवै उजुरी एउटै घटनासँग सम्बन्धित भएकाले एउटै फाइलमा राखेर अनुसन्धान अगाडी बढाइने जानकारी दिएका छन्।

प्रकाशित : भाद्र २२, २०७६ १७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्