कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याउ ढुवानीमा अनुदान

संगीता तिमिल्सेना 

बाजुरा — बाजुराको पूर्वोत्तर क्षेत्रमा फलेका स्याउ नजिकको बजारमा अनुदानमा ढुवानी हुने भएका छन् । गाउँमा बिक्री हुन नसकेर बारीमै कुहिने अवस्था आएपछि कृषि ज्ञान केन्द्र बाजुराले ६ सय क्विन्टल ढुवानीका लागि अनुदान दिने भएको हो ।

स्याउ ढुवानीमा अनुदान

केन्द्रले ढुवानी गर्न अनुदान दिने प्रक्रिया सुरु गरिएको जनाएको छ । किसान आफैंले बिक्री गर्नेगरी केन्द्रले स्याउ बारीबाट बजारसम्म ढुवानी गराइदिन थालेको कृषि प्रसार अधिकृत मीनप्रसाद जैसीले बताए ।


जगन्नाथ र जुकोटबाट पिलुचौरसम्म प्रतिकिलो १८ रुपैयाँ ७५ पैसा ढुवानी अनुदान निर्धारण गरेको जानकारी उनले दिए । कोल्टीदेखि मार्तडीसम्म १८ रुपैयाँ ९० पैसा र पाण्डुसेनदेखि मार्तडीसम्म १३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । केन्द्रको बाजुरा कार्यालयको तथ्यांकअनुसार जिल्लामा २ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती छ । बाजुरामा १ हजार ५० मेट्रिक टन उत्पादन हुने जैसी बताउँछन् ।


सदरमुकाम मार्तडीमा प्रतिकिलो १ सय ४० भन्दा बढी मूल्य छ । तर, पाण्डुसेन र जुकोटका गाउँमा भने १५ रुपैयाँमा किनबेच भइरहेको छ । स्याउ भण्डारका रूपमा रहेको स्वामीकार्तिक गाउँपालिकाले गाउँमा एक किलोको मूल्य १५ रुपैयाँ निर्धारण गरेको छ । ‘यो वर्ष फल बढी छ तर, बजार टाढा भएकाले बारीमै कुहिने अवस्था छ,’ जुकोटका गोविन्दबहादुर शाहीले भने, ‘बारीमा एक रुपैयाँको एक दाना दिने गरेका छौं ।’ त्यही पनि बिक्री नहुने समस्या रहेको उनले बताए । ‘सडक यातायातको सुविधा छैन । जुकोटबाट बोकेर कोल्टी, पिलुचौर पुर्‍याउँदा भरियाले मनपरी भाडा माग्छन्,’ उनले भने, ‘किसानले बेच्न नपाएर थुप्रै बारीमै कुहिएर जान्छ कि भन्ने चिन्तामा छन् ।’ सडक विस्तार हुन सके किसानले फाइदा पाउने उनले बताए ।


जुकोटमा दुई सयभन्दा बढी परिवारले स्याउ खेती गरेका छन् । तर, बजार नपाउँदा उनीहरूले अपेक्षित फाइदा उठाउन सकेका छैनन् । गाउँपालिकाले पनि परीक्षणका लागि एकै वर्षमा फल्ने स्याउको बिरुवा दिएको थियो । ती बिरुवामा योपल्ट फल लटरम्म छन् । बजारसम्म स्याउ पुयाउनका लागि कृषि ज्ञान केन्द्रसँग समन्वय गरिरहेको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । ‘त्यति सजिलै हुन सके किसानले फाइदा पाउँछन्,’ उनले भने, ‘ढुवानीमा अनुदानको सुविधाले थोरै भए पनि राहत मिल्छ ।’


पाण्डुसेन, घोडाकोट, जुकोट, जगन्नाथ, कोटिलालगायतका ठाउँमा यो वर्ष उत्पादन राम्रो छ । ‘हाँगा नै भाँच्चिने गरी फल लागेको छ,’ जुकोटका उमेशजंग शाहीले भने, ‘बेस्सरी फलेका बेला स्याउले राम्रो बजार पाउन सक्यो भने यहाँका किसानको जीवनस्तर चाँडै माथि उठ्ने थियो ।’ प्रतिदाना एक रुपैयाँमा बेच्नुपर्दा किसान मर्कामा परेको उनले बताए । बाजुरा खाद्यान्न संकट हुने जिल्ला हो ।

प्रकाशित : भाद्र २२, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?