कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेम नस्विकार्दा एसिड, पाँच वर्षयताका अधिकांश घटनाका निसाना किशोरीहरु

जनकराज सापकोटा

काठमाडौँ — वीरगन्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रमणले चार वर्षअघि काठमाडौं, वसन्तपुरमा भएको यस्तै घटना सम्झाइदिएको छ ।

प्रेम नस्विकार्दा एसिड, पाँच वर्षयताका अधिकांश घटनाका निसाना किशोरीहरु

२०७१ फागुन १० गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एकाबिहानै जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए ।


यी दुवै घटनाको समानता भनेको कलिलो उमेरको प्रेम आकर्षण र त्यो अस्वीकार हुँदाको प्रतिक्रिया नै हो । यसअघिका यस्ता घटना पनि प्रेमकै प्रतिशोधमा भएका देखिन्छन् ।


गत जेठ पहिलो साता कालोपुलमा डेरा गरी बस्ने २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो । खड्कामाथि उनकै पति विकास भनिने विष्णु भुजेलले एसिड हानेका थिए । पतिसँग सम्बन्ध बिग्रिएपछि उनी आमासँग बस्दै आएकी थिइन् । विकासले प्रतिशोध साध्नकै लागि जेनीलाई एसिड छ्यापेका थिए । यस्ता घटनामा अधिकांश कलिला किशोरी निसानामा पर्ने गरेका छन् ।


२०७५ असोज पहिलो साता ५० वर्षीय रामबाबु पासवानले तेब्बर कम उमेरकी सम्झनाकुमारी दासमाथि एसिड छ्यापेका थिए । रौतहट, चन्द्रनिगाहपुर–६ की १८ वर्षीया दासको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको थियो । दासले रामबाबुको प्रेम प्रस्ताव अस्वीकार गरेकी थिइन् ।


२०७५ असोजमै नवलपरासीको कावासोती–१६ डन्डा, हरवासीकी २७ वर्षीया वसन्ती परियारमाथि प्रतिशोध साध्न छिमेकी ३७ वर्षीय विमल श्रीपालीले एसिड हानेका थिए । यस्ता अधिकांश घटनामा प्रहरीले ज्यान मुद्दाअन्तर्गत कारबाही अघि बढाएको छ । जीवन विकलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरी दस वर्ष कैद सजाय सुनाएको थियो । प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार विकास भुजेलको मुद्दा भने काठमाडौं अदालतमा जारी छ । उनी पुर्पक्षका लागि थुनामा छन् ।


प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/७२ यता एसिड प्रहारका घटनाबाट १३ महिला र ३ पुरुष पीडित भएका छन् । अधिकांशमा किशोरीहरू पीडित छन् भने घटनाको अन्तर्यमा प्रेमसम्बन्ध र प्रतिशोध मिसिएको छ । प्रहरीको तथ्यांकले पाँच वर्षयता एसिड प्रहारका घटनाबाट पीडित बन्ने महिलाको संख्या बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७१/७२ मा एसिड प्रहारबाट ३ महिला पीडित बनेका थिए भने २०७५/७६ मा ४ जना पीडित छन् ।


सजिलै पाइन्छ एसिड

अधिकांश घटनामा पीडकले सजिलैसँग थोरै मूल्यमा बजारबाट एसिड किनेको देखिन्छ । विकासले बनेपाको एक सुनचाँदी पसलबाट एसिड किनेका थिए । त्यस्तै जीवनले नयाँ सडकबाट १ सय २५ रुपैयाँमा किनेका थिए । मुस्कानमाथि एसिड प्रहार गर्नेले पनि नजिकै बजारबाट किनेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

यी तीन प्रतिनिधि घटनाले एसिडको सहज उपलब्धता पनि किशोरीहरू पीडित बन्नुपर्ने कारण देखाएको छ ।

प्रकाशित : भाद्र २१, २०७६ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?