सर्वोच्चको आदेशपछि चिकित्साशास्त्रको प्रवेश परीक्षा स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पहरुमा शनिबारदेखि गर्ने भनिएको प्रवेश परीक्षाहरु स्थगन गरेको छ ।

सर्वोच्च अदालतको आदेशपछि त्रिविले शुक्रबार साँझ अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्वनिर्धारित सम्पूर्ण विषयका प्रवेश परीक्षाहरु स्थगित गरेको जनाएको छ ।


चिकित्सा शिक्षा आयोग ऐन जारी भइसकेको अवस्थामा विश्वविद्यालयहरुले आफूखुसी प्रवेश परीक्षा लिएको अनि ७५ प्रतिशत छात्रवृत्ति छल्न खोजेको भन्दै एक विद्यार्थीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले आईओएमअन्तर्गतको प्रवेश परीक्षा नगर्न शुक्रबार दिउँसो आदेश दिएको हो ।


सर्वोच्चले आगामी २५ गते यसबारेमा छलफल गर्न रिट निवेदक र विश्वविद्यालय पक्षलाई झिकाएको छ । ऐनको प्रावधानअनुसार भर्ना गर्न नखोजेको भन्दै रिट निवेदन परेको हो ।


त्रिविले यही भाद्र २१ देखि २४ गतेसम्म शैक्षिक सत्र २०७६/७७ को स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा नयाँ भर्नाका लागि परीक्षा निर्धारण गरेको थियो ।


प्रकाशित : भाद्र २०, २०७६ २०:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आन्तरिक टर्मिनलमा पनि 'कन्भेयर बेल्ट', २ करोड ६० लाख खर्च

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनलमा पनि यात्रुहरुको ब्यागेज ह्याण्डलिङमा सुविधा थप्दै कन्भेयर बेल्ट सञ्चालनमा ल्याएको छ ।

यसअघि आन्तरिक टर्मिनल भवनमा यात्रुहरुलाई एयरलाइन्स कम्पनीले ट्रलीमा राखेर ल्याएका लगेज, कार्गो लोडरहरुले हातैले उपलब्ध गराउने झन्झटीलो प्रक्रिया थियो । अब काठमाडौं बाहिरबाट आएका यात्रुहरुले आफ्ना लगेज कन्भेयर बेल्टबाट उठाउन पाउने छन् । उक्त बेल्टको शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरे ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले कन्भेयर बेल्ट जडान भइसकेपछि यात्रुहरुका सामानको ह्याण्डलिङ व्यवस्थित हुने तथा मानवीय व्यवस्थापनका कारण हुने टुटफट न्यून हुने विश्वास व्यक्त गरे । उनका अनुसार, ८ महिनाअघि विमानस्थलले कन्भेयर बेल्ट जडानका लागि टेन्डर आव्हान गरेको थियो । टेन्डर प्रक्रियाबाट छानिएको शिव खेक्काको महावीर श्री कम्पनीले यो जडान गरेको हो । यस्को लागत २ करोड ६० लाख रुपैयाँ रहेको महाप्रवन्धक क्षत्रीले बताए ।

टर्मिनल भवनमा जडान गरिएको कन्भेयर बेल्ट न्यूजिल्यान्डको ग्लाइडपाथ कम्पनीको उत्पादन हो । यस्ले प्रतिघन्टा १२ सय ब्यागको क्षमता थेग्न सक्छ । प्रतिमिटर यस्ले १ सय ५० किलोग्रामको ब्यागको भार वहन गर्छ । यस्को कुल लम्बाई ३९ मिटर रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा ४ वटा कन्भेयर बेल्ट जडान गरिएका छन् ।

प्रकाशित : भाद्र २०, २०७६ १९:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×