कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपांगता भएकालाई न्याय पाउन कठिन

एकै वर्षमा करणीका १०५ मुद्दा
सुम्निमा चाम्लिङ

इटहरी — बेलुकीको ९ बजेको थियो । उनी शौचालय जान निस्केकी थिइन् । मोटरसाइकलमा आएका दुई युवकले समाते । बाँसझ्याङमा लगेर बलात्कार गरे । सुनसरीको गढी गाउँपािलका–५ की सुस्त मनस्थितिकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका आरोपी राजगन्ज सिनवारी–८ का २२ वर्षीय श्यामकुमार शाह र उनका साथी अहिले पुर्पक्षका लागि झुम्का कारागारमा छन् । 

अपांगता भएकालाई न्याय पाउन कठिन

दुई वर्षअघि इटहरीमा त्यस्तै घटना भएको थियो । २३ वर्षीया शारीरिक र बौद्धिक अपांगता भएकी युवती बलात्कृत भइन् । लागूऔषध प्रयोगकर्ताको समूहले उनलाई जबर्जस्ती गरे । त्यसअघि पनि उनीमाथि पटकपटक यौन शोषणका घटना भएको परिवारको भनाइ छ । खुला हुँदा असुरक्षा भएकाले उनलाई परिवारले घरमा ताला लगाएर राखेका थिए ।

कोही नभएका बेला ताला फोरेर घरमा पसेको समूहले बलात्कार गरेको थाहा पाएपछि अभिभावकले प्रहरीमा उजुरी दिएनन् । खुट्टा नचल्ने र बोलीसमेत नबुझिने भएकाले उनले दोषीका बारेमा बताउन नसक्ने र परिवारले किटानी गर्न प्रमाण नपुग्ने देखेपछि उजुरी हाल्न डराएका थिए । उनलाई हाल नेपाल चेलीबेटी अपांग महिला समाजको पहलमा काठमाडौंको अपांग गृहमा राखिएको छ । समाजकी अध्यक्ष लक्ष्मी घिमिरे भन्छिन्, ‘अहिले उनको अवस्थामा केही सुधार आएको छ ।’

इनरुवाकी एक १७ वर्षीयामाथि बेलुकी करिब ८ बजे गाउँकै युवकले जबर्जस्तीको प्रयास गरे । उनी चिच्याएपछि हल्ला भयो । परिवार र छिमेकीले थाहा पाएपछि ती युवक भागे । घटना हुन पाएन । घटनापछि उनको मानसिक अवस्था ठीक छैन । कमाउन भनेर भारत पसेका बाबु लामो समयदेखि फर्किएका थिएनन् । रोजगारीका लागि इटहरी बस्दै आएकी आमा डेरामा आउजाउ गर्थिन् । भाइबहिनीका साथ बसेकी किशोरी बलात्कारको घटनाबाट जोगिए पनि आरोपी फरार भएपछि गाउँमा बस्ने वातावरण भएन । उनीहरू इटहरी बसाइँ सरे ।

इनरुवाकै सुस्तमनस्थिति एक किशोरी बलात्कृत भइन् । पक्राउ परेका किशोर नाबालक भएको भन्दै अदालतले बालसुधार गृह पठायो । ७ कक्षामा पढ्ने किशोरी स्कुलबाट फर्केर नजिकैको मामाघर गएकी थिइन् । घाँस काट्न गएका बेला भएको घटनाको लामो समयसम्म उनको अवस्था नाजुक थियो । हाल उनको अवस्थामा क्रमिक सुधार आएको प्रहरीले जनाएको छ ।

यी केही प्रतिनिधि घटना हुन् । पछिल्लो समय महिला हिंसा बढेको प्रहरीको तथ्यांकले देखाउँछ । अपांगता भएका महिलामाथिको यौन हिंसाको अवस्था विकराल छ । शारीरिक रूपमा अपांग भएकाभन्दा बोल्न नसक्ने महिलामाथि बढी हिंसा हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७५/७६ मा जबर्जस्ती करणीका १ सय ५ मुद्दा दर्ता भएका थिए । ९९ मुद्दा जबर्जस्ती करणी उद्योगमा दर्ता भएका छन् ।

अपांगता भएका महिलामाथि जबर्जजस्ती करणीका मुद्दा कति परे भन्ने प्रहरीले छुट्टै तथ्यांक राखेको छैन । प्रहरीको महिला सेल प्रमुख बिनु बस्नेत भन्छिन्, ‘महिलामाथि हुने हिंसाका घटना कम भएका छैनन् । हामीकहाँ आइपुग्ने उजुरीमा तत्काल कारबाही गरेका छौं ।’ अपांगता भएका महिला र बालबालिकामाथि यौन हिंसाका घटना प्रहरीमा भने निकै कम उजुरी आउने उनले बताइन् । कतिपय घटना समाजमा मिल्न नसकेपछि मात्रै प्रहरीसम्म पुग्ने गरेका छन् ।

नेपाल चेलीबेटी अपांग महिला समाज इटहरीकी अध्यक्ष लक्ष्मी घिमिरे अपांगता भएका महिला र किशोरीमाथि हुने जबर्जस्ती करणीका घटनालाई समाजले मिलापत्र गराउनुको साटो दोषीलाई कडा दण्ड दिलाउन प्रयास गर्नुपर्ने बताउँछिन् । ‘अपांगता भएका महिलामाथि यौन हिंसा धेरै हुन्छ । न्याय पाउन कठिन भएकाले प्रहरीमा उजुरी गरेको पाइन्न,’ उनी भन्छिन्, ‘सामाजिक प्रतिष्ठाको डर र प्रमाण पुर्‍याउन नसकिने हल्लाले परिवार डराउने भएकाले न्यायका लागि अगाडि आउन नसकेको अवस्था छ ।’

अधिवक्ता रमेश पोखरेलले अदालतमा दोभाषेको व्यवस्था नभएकाले बौद्धिक अपांगता भएका महिलाको मुद्दा कमजोर हुने गरेको बताए । ‘बोल्न नसक्ने महिलाका लागि अदालतमा दोभाषेको सुविधा छैन,’ उनले भने । त्यस्ता घटनाको गहन अनुसन्धानले प्रमाण जुटाउन सके दोषीलाई सजाय हुने उनले बताए ।

प्रकाशित : भाद्र १९, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?