कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय संरचनामा स्रोत बाँडफाँड र आर्थिक वृद्धि समान : अर्थमन्त्री खतिवडा

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले मुलुक संघीय संरचनामा गएपछि राज्यका स्रोत साधन प्रदेश तथा स्थानीय तहमा समान वितरण भएको र सोही अनुरुप आर्थिक वृद्धि  पनि समान भएको दाबी गरेका छन् । 

संघीय संरचनामा स्रोत बाँडफाँड र आर्थिक वृद्धि समान : अर्थमन्त्री खतिवडा



बेलायत सरकारको डिर्पाटमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिएफआईडी) का स्थायी सचिव म्याथ्यू जोन राइक्रफ्टसँग अर्थ मन्त्रालयमा बुधबार भएको भेटमा बोल्दै अर्थमन्त्री खतिवडाले संघीय संरचना बमोजिम प्राकृतिक स्रोत साधनको यथोचित बाँडफाँड गरी तीनै तहमा कार्यक्रम खर्च र लेखा प्रणालीलाई व्यवस्थित गर्ने प्रयास गरिएको बताए ।


‘संघीय संरचनामा नेपालको नयाँ अनुभव भएकाले संघात्मक व्यवस्थालाई कार्यान्वयन गर्न छोटो समयमै वित्तीय संघीयता, कानूनी र नीतिगत आधार निर्माण गरिसकिएको छ,’ उनले भने, ‘संघीयता कार्यान्वयन गर्न निर्माण भएका कानून तथा नीतिको प्रभावकारी रुपमा व्यवहारिक कार्यान्वयन गर्न सिमित स्रोत र साधनका बीच केही चुनौति छन् ।’


उनले भूकम्प पछिको पुनर्निर्माणले सन्तोषजनक रुपमा गतिलिंदै गएको र यो वर्ष निजी आवासको निर्माण सम्पन्न भइसक्ने स्पष्ट पारे । ‘सरकारी भवन, संस्था, सम्पदा लगायत क्षेत्रको पुनर्निर्माण गर्न सरकार लागि परेकाले निर्धारित समयमै सम्पन्न हुने छ,’ उनले भने । खतिवडाले स्थानीय तहमा खासगरी न्यायिक पद्धतिमा क्षमता विकासको अभावलाई सुधार गर्न सरकारको जोड रहेको बताए ।


उनले क्षमता विकासबारे प्रदेश तथा स्थानीय तह नयाँ सर्न्दभ र सिकाईकै चरणमा भएकाले सुशासन र न्यायिक पद्धति सम्बन्धमा थप क्षमता विकास गर्न आवश्यक रहेको स्पष्ट पारे । उनले मुलुक एकात्मक शासन व्यवस्थाबाट संघीयतामा रुपान्तरण भएकाले साधन स्रोतका हिस्सेदार, अधिकार र कर्तव्य सन्तुलित रुपमा व्यवस्थापन गरी कार्यान्वयनको चरण रहेको जानकारी दिए ।

भेटमा डिएफआईडिका स्थायी सचिव राइक्रफ्टले नेपाल एकात्मक शासन प्रणालीबाट संघीय प्रणालीमा जानु महत्वपूर्ण राजनीतिक परिवर्तन विश्वका लागि उदाहरणीय भएको बताए । उनले नेपाल सरकारले संविधान निर्माणसँगै संघीय संरचानमा सबै तहको निर्वाचन गर्दै विवादरहित रुपमा संघीयताको अभ्यास हुनु आफैंमा सुखद भएको बताउँदै विश्वले संघीयता कार्यान्वयनकालागि नेपालबाट सिक्नुपर्ने धारणा राखे ।


प्रकाशित : भाद्र १८, २०७६ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?