कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेटियो सेतो काग

अब्दुल्लाह मियाँ

काठमाडौँ — कागलाई कालोबाहेकको रङमा कल्पना गर्नेहरू विरलै होलान् । हाम्रा वरपर पाइने काग निख्खर कालो र कालो–खरानी रङकै हुने भएकाले पनि यीभन्दा पृथक् रङका हुन सक्लान् भन्ने नलागेको हो । काठमाडौंको टोखामा सेतो काग भेटिएपछि चराविद्सँगै यसको अध्ययनमा लागेकाहरू छक्क परेका छन् । 

भेटियो सेतो काग

चराविद्हरू मोहनविक्रम श्रेष्ठ, पूर्णमान श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ र सुवर्ण घिमिरेको टोलीले शनिबार टोखाको ठूलो लाछीमा सेतो काग देखेको हो । टोखावासीका अनुसार उक्त सेतो काग ४/५ वर्षदेखि काब्रोको रूखमा गुँड लगाएर बस्दै आएको छ । कालाको हूलमा सेतो भएकाले स्थानीयले त्यसलाई काग नै हो भनेर पहिचान गर्न सकेका थिएनन् ।

‘स्थानीय बूढापाकाले पहिले नै देखेका रहेछन्,’ चरा अनुगमन र संरक्षण शिक्षामा काम गर्दै आएका आनन्दकुमारले भने, ‘सेतो कागको फोटो खिच्न सफल भएका छौं ।’ केहीअघि कीर्तिपुरमा सेतो काग भेटिएको चराविद्ले सुनेका थिए । फोटो खिचेर कसैले ल्याउन नसकेकाले त्यसलाई पत्यारिलो नमानिएको उनले बताए ।


टोखामा भेटिएको सेतो काग । तस्बिर सौजन्य : आनन्दकुमार श्रेष्ठ

खामा भेटिएको सेतो कागको प्वाँख सेतै भए पनि ठुँड, आँखा र खुट्टाका नङ्ग्रा भने काला छन् । यसको आनीबानी र आहारा कालो कागको जस्तै छ । वंशाणुगत गुणमा अचानक आउने उत्परिवर्तन वा कालो बनाउने तत्त्वको कमीले काग सेतो रङको पाइएको भन्नेमा चराविद्बीच मतान्तर छ । ‘पृथ्वीमा उत्पन्न विभिन्न कारणले वंशाणुगत गुण नै बदलिएर रङ फेरिएको हुन सक्छ,’ आनन्दकुमारले भने, ‘यसबारे विस्तृत अध्ययन गर्नु आवश्यक देखिएको छ ।’


सेतो भेटिएको उक्त काग ‘लार्ज बिल्ड क्रो’ भनिने रैथाने कालो कागभन्दा रङमा मात्रै फरक छ । ठुँड, जीउको बनोट र आनीबानी सबै उस्तै छ । लन्डन जुलोजिकल सोसाइटीका नेपाल प्रतिनिधि चराविद् हेमसागर बराल पनि यसको अध्ययन आवश्यक रहेको बताउँछन् । ‘उत्परिवर्तन वा उसको प्राकृतिक रङ उत्पादन गर्ने तत्त्वको कमी भन्नेमा अध्ययन नगरी ठोकुवा गर्न सकिँदैन तर काग सेतो भेटिनु एकदमै अनौठो घटना होइन,’ उनले भने, ‘करिब २० वर्षअघि टेकुमा पनि त्यस्तो काग देखिएको थियो ।’ चराका अरू प्रजातिमा पनि बेलाबखत प्राकृतिकभन्दा फरक सेतो रङ पाइएका घटनाहरू बेलाबेला अध्ययनको विषय हुने गरेको उनले बताए । चराविद्हरूका अनुसार संसारमा कतै पनि सेतो रङका काग छुट्टै प्रजातिमा पाइएका छैनन् । अमेरिकी चराविद्हरूले सन् १९९८ मा फेला पारेको सेतो रङको कागको अध्ययन गर्दा रैथाने प्रजातिको भए पनि त्यसको जीउमा प्राकृतिक कालो रङ उत्पादन नभएर त्यस्तो भएको जर्नलहरूमा भेटिन्छ ।


अर्का चराविद् कृष्णप्रसाद भुसालका अनुसार नेपालमा घर काग, कालो काग (वन काग), टेमु, टुंगा र राजा काग गरी पाँच प्रजातिका काग पाइन्छन् । समूहमा बस्ने कागले आफ्नो क्षेत्र निर्धारण गरेर गुँड बनाउँछन् । गुँङ बनाएका ठाउँ छेउछाउ मानिस वा अन्य शत्रु जीव पुग्दा रिसाउने, ठुङ्न खोज्ने, आफ्नो परिवारलाई बोलाएर जोडजोडले कराएर धपाउने गर्छन् ।

बढ्दो सहरीकरण, प्रदूषण र फोहोरमैलासँग काग पनि अनुकूलित बन्दै गएको नेपाल पन्छी संरक्षण संघको अध्ययनले देखाएको छ । काठमाडौं उपत्यकाका २४ स्थानमा गरिएको सहरी चरा गणनामा अन्य प्रजातिहरू हराउँदै गए पनि काग भने बढ्दै गएका छन् । कागलाई सबैभन्दा बाठो चरा ठानिन्छ । अत्यन्तै चतुर मान्छेलाई ‘कागको फुल चोर्ला’ जस्तो भन्छौं । कागका बौद्धिकता र चलाखीका कथा तथा प्रसंगहरू अन्य चराहरूको भन्दा धेरै नै सुनिन्छ । चलनचल्तीमा कागसँग जोडेर धेरै थरी उखानको प्रयोग गर्ने गरिन्छ । कागले अन्य चराहरूलाई सताउने, तर्साउने र आक्रमणसमेत गरी अन्ततः आफ्नो क्षेत्रबाट विस्थापित गराउँछन् । कागले विभिन्न फोहोरहरू खाएर वातावरण सफा राख्ने मात्र होइन, मानिसलाई नचिनेका मान्छे वा जंगली जनावर आए सुरक्षित रहन सचेत गराउने सूचनावाहक पनि हो ।

प्रकाशित : भाद्र १६, २०७६ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?