गाईगोरु बाटोमै फालिएको बारे सहरी विकास मन्त्री राई भन्छन्– 'छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ'

रासस

नेपालजञ्ज — सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।

आइतबारनेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद भएकाे बताए। 'नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका साथै सबै प्रक्रिया पुर्‌याएको भए यस्तो दुखःद अवस्था शायद आउने थिएन,' मन्त्री राईले भने।

उनले गृह मन्त्रालयले यो घटनाको छानबिन गर्न समिति गठन गरिसकेकालेउक्त समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाइने बताए । नेपालगन्ज निवासी मन्त्री राईले नेपालगन्जको विकासमा आफूले चुनावका बेला गरेको वाचा र प्रतिबद्धता क्रमशः पूरा गर्दै गएको दाबी गर्दै विकासमा आफूले कहिल्यै पनि धर्म, जात र राजनीतिक आस्थालाई हाबी हुन नदिएको बताए ।

नेपालगन्जस्थित भेरी अस्पतालको स्तरोन्नति, कान्ति ताल, वाटर पार्कको, प्रसिद्ध बागेश्वरी मन्दिर, बहुउद्देश्यीय सभागृह, सडक, पुल तथा पुलेसा निर्माण र जीर्णोद्धारका साथै सामाजिक विकासमा आफ्नो मन्त्रालयबाट काम भइरहेको उनले बताए ।

प्रकाशित : भाद्र १५, २०७६ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्

मुलुक वर्षैभरि घाटामा

यज्ञ बञ्जाडे

काठमाडौँ — गत वर्ष अर्थतन्त्र करिब ६८ अर्ब रुपैयाँले घाटामा रह्यो । यसको अर्थ सो अवधिमा मुलुक भित्रिएको भन्दा ६८ अर्ब रुपैयाँ बढी विदेशी मुद्रा बाहिरियो भन्ने हो । गत वर्ष मुलुक बाह्रै महिना घाटामा रह्यो । आर्थिक वर्ष ०७४/७५ मा शोधनान्तर ९६ करोड रुपैयाँले बचतमा थियो ।

उक्त वर्ष असोज, कात्तिक र असारबाहेक सबै महिना शोधनान्तर स्थिति घाटामा थियो । यसअघि ०४३/४४ सालमा लगातार तीन वर्षसम्म शोधनान्तर स्थिति ऋणात्मक थियो ।

मुलुकबाट बाहिरिने र भित्रिने रकमबीचको अन्तर देखाउने सूचकलाई शोधनान्तर (भुक्तानी सन्तुलन) भनिन्छ । आयात उच्च दरले बढ्नुका साथै अध्ययन, स्वास्थ्य उपचार, घुमफिरलगायत कारण ठूलो मात्रामा विदेश मुद्रा बाहिरिएकाले पछिल्ला वर्षमा निरन्तर शोधनान्तर घाटामा रहेको विज्ञहरू बताउँछन् । गत वर्ष मात्र मुलुकले १३ खर्ब २१ अर्ब रुपैयाँ व्यापार घाटा छ । शोधनान्तर घाटा फराकिलो बन्दै जानुको प्रमुख कारण बढ्दो व्यापार पनि हो ।

निरन्तर रूपमा शोधनान्तर घाटा बढिरहनु राष्ट्रका लागि खतरनाक अवस्था भएको अर्थविद् केशव आचार्यले बताए । घाटा नियन्त्रणका लागि राष्ट्र बैंक मात्र नभएर सरकार पनि विशेष रूपमा लाग्नुपर्ने उनको सुझाव छ । ‘त्यसो नगरिए अर्थतन्त्र भड्खालोमा पुग्ने खतरा छ,’ उनले भने, ‘यो अवस्थालाई तत्काल सुधारमा नल्याइए अर्थतन्त्रमा नकारात्मक असर पुग्ने निश्चित छ ।’

यसअघि ०४३/४४ मा निरुन्तर २/३ वर्ष शोधनान्तर घाटामा रहेको स्मरण गर्दै उनले भने, ‘त्यो अवस्थाबाट छुटकरा पाउन राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग स्ट्यान्डबाई (भुक्तानी सन्तुलन घाटा कम गर्न गरिने सम्झौता) सम्झौता गरिएको थियो । अहिले पनि मुलुक त्यस्तै अवस्थामा देखिन्छ । बाह्रै महिना शोधनान्तर घाटामा हुनु राम्रो संकेत नभएको उनको भनाइ छ ।

शोधनान्तर घाटामा रहँदा विदेशी लगानी निरुत्साहित हुन्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउने उनको भनाइ छ । त्यसो त गत वर्षका सबै महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) निरन्तर घटिरहेको छ । विदेशी विनिमय सञ्चिति पनि घटदो छ ।

शोधनान्तर घाटा हुनु मुलुकका लागि नयाँ नभए पनि अघिल्लो वर्षभन्दा गत वर्षको परिस्थिति बेग्लै छ । गत वर्षका सबै महिना शोधनान्तर ऋणात्मक रह्यो । सुरुका महिना (साउन) मा २४ अर्ब ७७ करोड रुपैयाँले घाटामा रहेको शोधनान्तर मंसिरसम्म आइपुग्दा ८५ अर्ब ३२ करोड पुगेको थियो । सो अवधिमा सरकारको बाह्य ऋण बढेकाले त्यसपछिका महिनामा शोधनान्तर घाटा घट्यो । गत वैशाखमा यस्तो घाटा ६८ अर्ब २० करोड रुपैयाँ थियो ।

त्यतिबेला एनसेललगायत केही विदेशी कम्पनीको लाभांश बाहिरियो । यसकारण गत जेठमा शोधनान्तर घाटा बढेर करिब ९१ अर्ब रुपैयाँ पुग्यो । यही घाटा असारमा ६८ अर्ब रुपैयाँको हाराहारीमा छ । गत असारमा मात्र करिब २१ अर्ब रुपैयाँ सरकारले विदेशी ऋण प्राप्त गरेको छ । विदेशी मुद्रा प्राप्त हुने एउटा स्रोत विदेशी ऋण पनि हो । यसकारण ऋणमार्फत राष्ट्रलाई विदेशी मुद्रा प्राप्त भएपछि त्यसको सकारात्मक प्रभाव शोधनान्तरमा परेको हो ।
चालु खाता घाटा ५ प्रतिशत माथि
मुलुकको चालु खाता घाटा बढीमा सो राष्ट्रको जीडीपीको पाँच प्रतिशतभन्दा कम हुनुलाई सामान्य रूपमा हेरिने अन्तर्राष्ट्रिय प्रचलन छ । गत वर्षका अधिकांश महिनामा यस्तो सूचक ५ प्रतिशतभन्दा बढी छ । गत वैशाखमा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ७ प्रतिशत थियो । यो सुरक्षित सीमाभन्दा बढी हो ।

सोही कारण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंकलगायत दातृ निकायले नेपाललाई चालु खाता घाटा जीडीपीको पाँच प्रतिशतभन्दा तल राख्न सुझाएका छन् ।

ती सुझाव विपरीत चालु खाता घाटा निरन्तर रूपमा फराकिलो बन्दै गएको छ । यही क्रममा गत वैशाखसम्म यस्तो घाटा २ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । पछिल्ला दुई वर्षयता चालु खाता निरन्तरजसो घाटामा छ । घाटामा भए पनि जीडीपीको पाँच प्रतिशतसम्म पुगेको थिएन । गत फागुनदेखि भने यस्तो घाटा पाँच प्रतिशत नाघेको हो । यो वर्ष मुलुकको जीडीपी ३४ खर्ब ६४ अर्ब रुपैयाँ छ ।

चालु खाता घाटा फराकिलो हुँदै जानुको अर्थ मुलुक भित्रिनेभन्दा बाहिरिने रकम निरन्तर बढिरहेको भन्ने हो । अर्थतन्त्रमा भित्रिने विदेशी मुद्राभन्दा बाहिरिने विदेशी मुद्रा धेरै भएको अवस्थामा चालु खाता घाटामा हुन्छ । चालु खाता घाटा निर्देशित सीमाभन्दा माथि पुग्ने नराम्रो संकेत भएको अर्थविद्हरूले औंल्याएका छन् । छोटो समयका लागि कहिलेकाहीँ पाँच प्रतिशतको सीमा नाघे पनि दीर्घकालमा त्यसलाई नियन्त्रण गर्नुपर्ने उनीहरूको सुझाव छ । ‘चालु खाता घाटा फराकिलो बन्दै जानु अर्थतन्त्रमा खतरनाक अवस्थाको संकेत हो ।’

चालु खाता घाटा जीडीपीको पाँच प्रतिशत माथि पुग्नु राम्रो नभए पनि अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको राष्ट्र बैंकको भनाइ छ । मुलुकमा अहिले पनि ८ महिनालाई आयात धान्न पुग्ने विदेशी विनियम सञ्चिति रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको राष्ट्र बैंकले प्रस्ट्याएको छ । ‘यो लक्ष्यित सीमाभित्रै हो, यसकारण चालु खाता धेरै भयो भनेर आत्तिहाल्नु पर्ने अवस्था होइन । सेचत हुने बेला भने हो,’ स्रोतले भन्यो ।

राष्ट्र बैंकका अनुसार गत वैशाखमा कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ६० अर्ब रुपैयाँ छ । गत असारमा यो ११ खर्ब २ अर्ब रुपैयाँ थियो । सोही अवधिमा अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ४२ करोड छ । ०७५ असारमा यो १० अर्ब ८ करोड थियो । मुलुकमा रहेको विदेशी मुद्राले आगामी आठ महिनासम्मका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।

प्रकाशित : भाद्र १५, २०७६ १३:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्