कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

निगमको जहाजमा जापानी महिला नेतृ

घनश्याम खडका

काठमाडौँ — बन्द भएको १३ वर्षपछि खुलेको नेपाल बायु सेवा निगमको काठमाडौंबाट ओसाकासम्मको सिधा उडानमा जापानका तीन महिला सांसदहरुले यात्रा गरेका छन् । 

निगमको जहाजमा जापानी महिला नेतृ

निगमले जहाज सुचारु गरेको अवसर पारी दुई दिने नेपाल भ्रमणमा आएका उनीहरु बिहीबार राति काठमाडौंबाट ओसाकाका लागि उडेका थिए । जापानको लिब्रल डेमोक्रेटिक पार्टी (एलडिपी) का तीन महिला सांसदहरुले निगमको जहाज चढी सिधा उडान सुरु भएकामा खुसी प्रकट गरेका हुन् ।


‘म मध्यरातमा यहाँबाट उड्नेछु र जति जति पूर्वतिर गयो उतिउति उज्यालोलाई पच्छ्याउँदै झुल्के घाममा जापान पुग्नेछु’ काठमाडौंबाट उड्नु अघि जापानी दूतावासले आयोजना गरेको जमघटमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेकी एलडिपीकी प्रमुख उपमहासचिव तोमामी इनादाले भनिन्, ‘यो उज्यालो नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धको शुभ संकेत हो ।’


जापानको माथिल्लो सदन हाउस अफ काउन्सिलर्सकी सांसद फुसाए ओता र तल्लो सदनकी सदस्इ मिओ सुगिता पनि तोमामीले नेतृत्व गरेको टोलीमा सहभागी भएका थिए । आफूहरु नेपालीको हँसिलो अनुहार र उदात्त स्वभावले प्रभावित भएको भन्दै उनीहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन जापान तयार रहेको सन्देश पनि दिए ।


‘यो हाम्रो पहिलो नेपाल आगमन हो र निकै छोटो भएकाले काठमाडौंबाहिर जान पाइएन’ आोसकाको पहिलो महिला मेयर समेत रहेकी फुसाएले भनिन्, ‘अर्को पटक अलिक समय लिएर हामी आउँछौं र यहाँका भित्री बस्तीहरुमा पनि पुग्छौं, नेपाल घुम्न लायक साह्रै रमाइलो देश रहेछ । यो सन्देश हमी जापानमा पनि दिन्छौं र नेपाल भ्रमण वर्षमा हाम्रा नागरिकहरुलाई घुम्न जान भन्छौं ।’


उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापासँग शिष्टाचार भेट गरेका थिए । महिला सांसदको उक्त टोलीले जापान सरकारको अनुदानमा निर्माणाधीन थापाथलीस्थित प्रसूति गृहको भवन अवलोकन पनि गरेको थियो ।

प्रकाशित : भाद्र १४, २०७६ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?