निगमको जहाजमा जापानी महिला नेतृ

घनश्याम खडका

काठमाडौँ — बन्द भएको १३ वर्षपछि खुलेको नेपाल बायु सेवा निगमको काठमाडौंबाट ओसाकासम्मको सिधा उडानमा जापानका तीन महिला सांसदहरुले यात्रा गरेका छन् । 

फाइल तस्बिर


निगमले जहाज सुचारु गरेको अवसर पारी दुई दिने नेपाल भ्रमणमा आएका उनीहरु बिहीबार राति काठमाडौंबाट ओसाकाका लागि उडेका थिए। जापानको लिब्रल डेमोक्रेटिक पार्टी (एलडिपी) का तीन महिला सांसदहरुले निगमको जहाज चढी सिधा उडान सुरु भएकामा खुसी प्रकट गरेका हुन्।

‘म मध्यरातमा यहाँबाट उड्नेछु र जति जति पूर्वतिर गयो उतिउति उज्यालोलाई पच्छ्याउँदै झुल्के घाममा जापान पुग्नेछु’ काठमाडौंबाट उड्नु अघि जापानी दूतावासले आयोजना गरेको जमघटमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेकी एलडिपीकी प्रमुख उपमहासचिव तोमामी इनादाले भनिन्, ‘यो उज्यालो नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धको शुभ संकेत हो।’

जापानको माथिल्लो सदन हाउस अफ काउन्सिलर्सकी सांसद फुसाए ओता र तल्लो सदनकी सदस्इ मिओ सुगिता पनि तोमामीले नेतृत्व गरेको टोलीमा सहभागी भएका थिए। आफूहरु नेपालीको हँसिलो अनुहार र उदात्त स्वभावले प्रभावित भएको भन्दै उनीहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन जापान तयार रहेको सन्देश पनि दिए।

‘यो हाम्रो पहिलो नेपाल आगमन हो र निकै छोटो भएकाले काठमाडौंबाहिर जान पाइएन’ आोसकाको पहिलो महिला मेयर समेत रहेकी फुसाएले भनिन्, ‘अर्को पटक अलिक समय लिएर हामी आउँछौं र यहाँका भित्री बस्तीहरुमा पनि पुग्छौं, नेपाल घुम्न लायक साह्रै रमाइलो देश रहेछ। यो सन्देश हमी जापानमा पनि दिन्छौं र नेपाल भ्रमण वर्षमा हाम्रा नागरिकहरुलाई घुम्न जान भन्छौं।’

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापासँग शिष्टाचार भेट गरेका थिए। महिला सांसदको उक्त टोलीले जापान सरकारको अनुदानमा निर्माणाधीन थापाथलीस्थित प्रसूति गृहको भवन अवलोकन पनि गरेको थियो।

प्रकाशित : भाद्र १४, २०७६ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्

सेजन अध्यक्षमा गौतम

रासस

काठमाडौँ — नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २० औँ अधिवेशनले भीमप्रसाद गौतमको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेलरहेका छन् ।यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित भएका छन् ।

राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उद्घाटन अधिवेशनको उद्घाटन गरेका थिए । उनले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको भन्दै संवेदनशील भई सञ्चार कर्ममा क्रियाशील हुन पत्रकारलाई आग्रह गरेका थिए ।

गभर्नर नेपालले सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा सञ्चार क्षेत्रको सही भूमिका छायाँमा परेकाले थप सचेतता जरुरी रहेको बताए । कार्यक्रममा सेजनका पूर्वअध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारितालाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : भाद्र १४, २०७६ २१:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्