तनहुँमा डेंगुका ९ बिरामी

कान्तिपुर संवाददाता

दमौली — तनहुँमा डेंगुका ९ जना बिरामी भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरेको हो । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेंगुको संक्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ ।

साउन २४ मा पहिलोपटक एक जनामा डेंगु देखिएको थियो । साउनसम्म डेंगुका शंकास्पद १२ बिरामीको परीक्षण गरिएको अस्पतालका ल्याब असिस्टेन्ट विकास पौडेलले बताए ।

बिरामीमध्ये तीन जनाले भर्ना भएर उपचार गराएका थिए । नर्सिङ अधिकृत जमुना शर्माका अनुसार एक जनालाई घर र दुई जनालाई पोखरा पठाइएको थियो ।

प्रकाशित : भाद्र १४, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्

डाँका समूहद्वारा लुटपाट

कान्तिपुर संवाददाता

महोत्तरी — मनरासिसवा नगरपालिका ३ सुनौलमा हतियारधारी डाँका समूहले दुई परिवारको घरबाट लाखौको धनमाल लुटेको छ । डाँकाको आक्रमणबाट एकजना घाइते छन् ।

शुक्रबारराति ८/९ जनाको संख्यामा घरेलु हतियारसहित आएको समूहले परिवारलाई कब्जामा लिई लुटपाट गरेको पीडितले जनाएका छन्।

डाँका समूहले सुरुमा रामलोचन राउतको घरमा प्रवेश गरी लुटपाट मच्चाएका थिए। प्रतिकारमा उत्रेका घरमूली राउतमाथि समूहले बञ्चरोले प्रहार गर्दा उनको बयाँ खुट्टामा गहिरो घाउ लागेको छ।

लगत्तै छिमेकी सियारामशरण राउतको घरमा लुटपाट मच्चाएका थिए। गाउँलेहरु प्रतिकारमा उत्रेको भेउ पाएर समूह धनमाल लिएर भागेको प्रत्यक्षदर्शीले जनाए।

स्थानीय देवेन्द्र यादवका अनुसार १५/२० मिनेटभित्रै समूह लुटपाट गरेर भागिसकेको थियो। २ लाख ५० हजार नगद, ६ तोला सुन र ६० तोला चाँदीका गहनालगायत १० लाखबढीको धनमाल लुटेको दुवै पीडितले जनाएका छन्।

प्रकाशित : भाद्र १४, २०७६ १९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्