पूर्वाञ्चल विश्वविद्यालयमा सधैं ताला

विनोद भण्डारी

विराटनगर — पूर्वाञ्चल विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा घनश्यामलाल दासले अघिल्लो शुक्रबार कार्यकाल पूरा गरे । चारवर्षे सेवाअवधि सकेर बाहिरिँदै गर्दा उनको कार्यकक्षमा तालाबन्दी थियो । असार तेस्रो साता सरकारनिकट विभिन्न विद्यार्थी संगठनले लगाएको ताला अझै खुलेको छैन ।

दासको कार्यकाल सकिएलगत्तै सरकारले विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्राडा बिजुकुमार थपलियालाई तीन महिनाका लागि कामु उपकुलपति तोक्यो। थपलियाले पदभार ग्रहण गरेलगत्तै कांग्रेसनिकट विद्यार्थी संघले कार्यकक्षमा तालाबन्दी गर्‍यो। उपकुलपतिको कार्यकक्षमा सत्तापक्ष र विपक्ष दुवै दलनिकट विद्यार्थी संगठनको ताला छ।

२०५२ मा स्थापित यो विश्वविद्यालयमा पछिल्लो समय तालाबन्दी नियमितजस्तै बनिरहेको छ। जुनसुकै पदाधिकारी नियुक्त भए पनि विद्यार्थी वा कर्मचारीले ताला लगाउने गरेका छन्।

तालाबन्दीको सुरुआत १२ वर्षअघि जगतबहादुर केसी उपकुलपति नियुक्त भएसँगै भएको हो। केसी नियुक्त भएलगत्तै विद्यार्थी संगठन र कर्मचारीले कार्यकक्षमा तीन महिनासम्म तालाबन्दी गरेका थिए। केसीले रजिस्ट्रार र डिनलगायत पदाधिकारी नियुक्त गरेपछि फेरि पटकपटक तालाबन्दी भएको थियो। केसीपछि रामावतार यादव उपकुलपति बने। उनको कार्यकाल पनि तालाबन्दी मुक्त हुन सकेन।

त्यसपछि महेश्वरमान श्रेष्ठ उपकुलपति भए। उनको कार्यकाल झन् तनावपूर्ण रह्यो। जथाभावी सम्बन्धन बाँडेर आर्थिक हिनामिना गरेको आरोपमा विद्यार्थी, प्राध्यापक, कर्मचारी र राजनीतिक दलले तालाबन्दी गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति, रजिस्ट्रार र सबै संकायका डिनविरुद्ध मुद्दा दर्ता गर्‍यो। विशेष अदालतको आदेशमा उनीहरू ६ महिनापछि पुनर्बहाली भएका थिए।

जो पदाधिकारी आए पनि र सकारात्मक वा नकारात्मक जे काम गरे पनि तालाबन्दी गरिहाल्ने प्रवृत्तिले विश्वविद्यालय लथालिंग भएको कामु उपकुलपति थपलियाको बुझाइ छ। ‘कतिपय विषय स्थानीयस्तरबाट किनारा लगाउन सकिँदैन,’ उनले भने, ‘राजनीतिक दलका मुद्दामा पनि तालाबन्दी गरिनु दुःखद हो।’

प्राध्यापक, कर्मचारी र विद्यार्थीमा निषेधको राजनीतिक संस्कार मौलाउँदा विश्वविद्यालय तालाबन्दीको सिकार हुँदै आएको सेवा आयोगका निवर्तमान अध्यक्ष प्राडा बद्रीनाथ श्रेष्ठको बुझाइ छ। उनले भने, ‘आफू र आफ्ना मान्छे हुँदा ठीक र अरू भए बेठीक भन्ने संस्कारले यो विश्वविद्यालय थलिएको छ।’

प्रकाशित : भाद्र १४, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्

साफ यू–१५ च्याम्पियनसिप : भारतलाई उपाधि, नेपाल ७–० ले पराजित

रासस

काठमाडौँ — भारतले नेपाललाई पराजित गर्दै पाँचौँ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधि हात पारेको छ । भारतको कोलकातास्थित कल्याणी रंगशालामा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

यू–१५ मा नेपालले अहिलेसम्म च्याम्पियन हुनसकेको छैन। त्यस्तै यससँगै तेस्रोपटक फाइनल पुगेको नेपाललाई उपाधि जित्न फेरि पनि भारत नै तगारो बन्यो।

यसअघि सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल दुवैपटक भारतसँग नै पराजित भएको थियो। त्यतिबेला उक्त च्याम्पियनसिप यू–१६ का नाममा हुने गर्दथ्यो। नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने खेलको दोस्रो हाफमा चार गोल खायो।

भारतको जितमा महेसन सिंहले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाए। त्यस्तै खेलको ४१औँ मिनेटमा मन्दिप माकेसले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए भने खेलको पहिलो हाफको अत्तिरिक्त समयमा शिवजित सिंहले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए।

त्यस्तै खेलको टैसन सिंहले खेलको ५२औँ मिनेटमा गोल गरे भने हिमांशु जनगराले खेलको ६५औँ मिनेटमा गोल गरे। भारतका अर्का खेलाडी सिदार्थ नोङमेइकपामले दुई गोल थपे। उनले खेलको ७६ र ८०औँ मिनेटमा दुई गोल गरे। राउण्ड रोबिन लिगको आधारमा भएको उक्त प्रतियोगितामा नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो भने भारत शीर्षस्थानमा रहेर फाइनल पुगेको हो।

प्रतियोगिताको पहिलो खेलमा पनि नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो। च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले त्यसपछिका तीन खेलमा लगातार जित निकालेको थियो। नेपालले श्रीलंका, बंगलादेश र भूटानलाई पराजित गरेको थियो। भारतले भने अपराजित रहँदै उपाधिमाथि कब्जा जमायो।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, श्रीलंका, बंगलादेश र भूटानको सहभागिता रहेको थियो।

प्रकाशित : भाद्र १४, २०७६ १८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्