अझै केही दिन वर्षा लम्बिने

रासस

काठमाडौँ — बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले शनिबार बिहानै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान  महाशाखाले जनाएको छ । 

शुक्रबारदेखि नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन् । 'अहिले मनसुनको कुनै प्रभाव छैन,' मौसमविद् कँडेले भनिन् । उनका अनुसार वर्षा अझै केही दिन लम्बिने छ तर लगातार भने हुने छैन् । केही समय रोकिने घाम लाग्ने पुनः वर्षा हुने क्रम आगामी तीन दिनसम्म चलिरहने छ ।

हाल देशका धेरैजसो भू–भागमा सामान्य बदली भई पूर्व र मध्यका धेरै भू–भागमा र पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशभरि सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानमा मेघ गर्जन/चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र पूर्व र मध्यका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशैभरि बदली रही पश्चिमका धेरैजसो स्थानमा र पूर्व तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभरि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानमा र पश्चिमका एक–दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित : भाद्र १४, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्

यात्रु प्रतीक्षालयमा प्रहरी

कान्तिपुर संवाददाता

(बिर्तामोड) — पूर्व–पश्चिम राजमार्ग बनिसकेको थिएन । टाढाबाट बटुवाहरू थाकेर आउँथे । उनीहरूको थकान मेट्ने चौतारो थिएन । २०४० मा तत्कालीन प्रधानपञ्च गोविन्द बस्नेतले यात्रुको सजिलोका लागि चौतारो बनाउने सोचे । इँटा व्यवसायी तथा अन्य व्यवसायीले सघाए । चारपाने, रामचोकमा सिमेन्टको भव्य चौतारो बन्यो ।

पछि राजमार्ग सुचारु भएपछि चौतारो प्रतीक्षालय बन्यो । यात्रामा टाढा–टाढा निस्किने स्थानीयका लागि यो सवारी प्रतीक्षा गर्ने भरपर्दो थलो थियो । तर, अब यो प्रतिक्षालय रहेन, बुधबारदेखि प्रहरी विट बन्यो ।

बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले रिवन काटेर प्रतिक्षालय प्रहरीको जिम्मा लगाए । अब बस पर्खने यात्रुले प्रतिक्षालय छिर्न पाउने छैनन् । ‘केही समय अघिदेखि बेस्याहार थियो,’ स्थानीय सञ्चारकर्मी विनोद पाण्डे भन्छन्, ‘चिटिक्क पारेर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।’

चारपाने–अर्जुनधारा विकास समाजको पहलमा अस्थायी प्रहरी विट राखियो । पछिल्लो समय प्रतीक्षालय लागू पदार्थ दुर्व्यसनीको अखडा बन्दै गएको अध्यक्ष हरिप्रसाद भण्डारीले बताए । भने, ‘समाजलाई आवश्यक परेर प्रतीक्षालयमा प्रहरी राख्नु परेको हो ।’

यही संस्थाको पहलमा प्रतीक्षालयको रंगरोगन, फलामे ग्रिलका साथै प्रहरी कार्यालयलाई आवश्यक पर्ने कुर्सी, टेबल, पन्खा, टेलिफोनलगायतका भौतिक सामान समेत उपलब्ध गराइएको छ । ‘प्रतीक्षालयमा हुने विभिन्न गतिविधिका कारण समाज सुरक्षित थिएन,’ भण्डारीले थपे, ‘प्रहरीलाई जिम्मा लगाएपछि ढुक्क भएको छ ।’

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहन थापाले स्थानीयबासीको मागबमोजिम अस्थायी प्रहरी विट राखिएको बताए । उनका अनुसार स्थानीयबासीले प्रतीक्षालय चिटिक्क पारेर प्रहरीलाई बस्न अनुरोध गरेका हुन् । डीएसपी थापाका अनुसार अहिले एक ट्राफिकसहित दुई प्रहरी खटाइएको छ । निकट भविष्यमा प्रहरी संख्या समेत थप गरिनेछ । उनले भने, ‘अहिले अस्थायी रूपमा मात्रै चौकी खडा गरेका हौं ।’

प्रकाशित : भाद्र १४, २०७६ १०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्