कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोमा १३३ को मृत्यु, ३७ बेपत्ता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले असार ३ देखि भदौ ११ सम्म बाढीपहिरो र भारी वर्षामा परेर १ सय ३३ जनाको मृत्यु, ३७ जना बेपत्ता र १ सय ६ जना घाइते भएको बताएका छन् । 

बाढीपहिरोमा १३३ को मृत्यु, ३७ बेपत्ता

संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) को बिहीबारको बैठकमा उनले देशभर भएका ५ सय ७० घटनामा उक्त क्षति भएको उल्लेख गरेका हुन् ।


बाढीपहिरो र डुबानबाट पर्न सक्ने असरलाई तत्काल व्यवस्थित गर्न राहत कोषका साथै विभिन्न तहमा परिषद् गठन भएको थापाले जानकारी दिए । विपद् जोखिम न्यूनीकरण व्यवस्थापन राष्ट्रिय परिषद् कार्यकारी समिति, प्रदेशमा प्रदेश विपद् व्यवस्थापन परिषद्, जिल्ला र स्थानीय तहमा पनि विपद् व्यवस्थापन समिति गठन भएको उनले बताए ।


थापाले संसदीय समितिले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनपछि दिएको निर्देशन कार्यान्वयन गर्न आफू तयार रहेको समेत सुनाए । ‘अहिले बाढीपहिरो, डुबान मानवनिर्मित समस्याका रूपमा आएको छ, हाम्रो विकासको नीतिसहित भएन भने विनाश हुन्छ,’ उनले भने, ‘सरकारले बस्ती स्थानान्तरणको योजना बनाएको छ, त्यसमा जनसहभागिता हुनु जरुरी छ ।’


राज्यको निर्देशक समितिले साउन दोस्रो साता विराटनगर, उदयपुर, रौतहट र जनकपुरको स्थलगत अवलोकन गरेको थियो । गृहमन्त्री थापालाई उक्त भ्रमणको प्रारम्भिक मस्यौदा प्रतिवेदन बुझाउँदै समितिले बाढी तथा डुबानका कारण राहत तथा उद्धारको अवस्था, तत्काल र दीर्घकालमा गर्नुपर्ने कामबारे सुझाव दिएको छ । समितिले आपतकालीन अवस्थामा आश्रयका लागि हरेक वडामा पर्याप्त मात्रामा आश्रयस्थल निर्माण गर्न सुझाएको छ ।


गृहसचिव प्रेमकुमार राईले प्राकृतिक प्रकोपमा मृत्यु भएका व्यक्तिका परिवारलाई यहाँबाट एक लाख रुपैयाँका दरले आर्थिक सहायता पठाइएको बताए । ‘राहत वितरणको जिम्मा स्थानीय तहलाई दिएका हौं,’ उनले भने । समितिमा सांसदहरूले बाढीपहिरोपीडितलाई राहत र आर्थिक सहायता नपुगेको भनी गृहमन्त्रीको ध्यानाकर्षण गरेका थिए ।


‘सीमामा सेना खटाउनुपर्छ’

सत्तारूढ सांसद पम्फा भुसालले नेपाली सिमाना भारतीय किसानले नभएर सशस्त्र फोर्सले मिचेको आरोप लगाउँदै राष्ट्रिय सुरक्षाका लागि सिमामा सेना खटाउनुपर्ने बताइन् । ‘भारतीय सशस्त्र फोर्सले दिनमा केही मिटर, रातमा केही मिटर र वर्ष दिनमा किलोमिटरले सीमा मिचेको छ, यो अतिक्रमण सामान्य किसानको मानसिकताले भएको छैन,’ उनले भनिन्, ‘राष्ट्रिय सुरक्षाको जिम्मा लिएको सेनालाई बाटो बनाउन होइन, सीमामा खटाउनुपर्छ ।’


सत्तारूढकै सांसद भीम रावलले भारतले सिमानामा बनाएका भौतिक संरचना अध्ययन गरी बाढी र डुबानको समाधान खोज्नुपर्ने बताए । ‘सिमानामा भारतले बनाएका संरचना बहुमतको सरकारले अध्ययन गर्नुपर्छ किनकि यो अवसरको बेला हो,’ उनले भने, ‘दशगजा क्षेत्रमा सिमाना मिचिएको छ, त्यो पनि हेर्नुपर्छ ।’


प्रमुख प्रतिपक्ष कांग्रेस सांसद देव तिमिल्सिनाले एयरपोर्टमा भारतीय राजदूतसँग भेट हुँदा उनले बाढीपहिरोबाट जोगिन नेपालले पनि बाँध बाध्नुपर्ने भनी सुझाएको सुनाए । ‘मैले तपाईंहरूले डुबाइदिनुभयो भनेँ, उहाँले तपार्इंहरूले पनि बाँध बाँध्नुस् अनि जोगिन्छ भन्नुभयो,’ तिमिल्सिनाले गृहमन्त्रीसँग प्रश्न गरे, ‘हामीकहाँ जनताले १ सय मिटरको पुल माग्दा प्राविधिकले १२ मिटरको बनाइदिन्छन् अनि कसरी समस्या हल हुन्छ ?’


गृहमन्त्री थापाले भारतले बनाएको बाँधमा निकास दिनभन्दा ढोका नखोलिदिएको भन्दै कूटनीतिक पहलबाट हल गरिने बताए । ‘भारतले जो बाँध बनाएको छ, त्यसको ढोका खोलिदिनुपर्छ तर खोल्दैन,’ उनले भने, ‘हामीले कूटनीतिक पहलबाट हल गर्नुपर्छ ।’

प्रकाशित : भाद्र १३, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?